गाउँमा प्रवेश निशेध, कोरोनाको ‘नो टेन्सन’

चैत, १६ धनगढी । अहिले नेपाल मात्रै नभई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलिएका अधिकांस देश ‘लकडाउन’ गरिएका छन् । महामारीका रुपमा फैलिएको कोरोनाविरुद्ध विश्व एक भएर लागेको छ । कोरोनाले विश्वभर अहिलेसम्म ३० हजार भन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन् । ६ लाख भन्दा बढी मानिस संक्रमित भएका छन् । ज्यान गुमाउने र संक्रमित हुनेको संख्या दैनिक रूपमा बढ्दैछ।
संक्रमित व्यक्ति उपचारपछि निको भएर घर पनि फर्किइरहेका छन् । भाइरस फैलिनेक्रम तीब्र हुँदा संक्रमितको संख्या धेरै देखिन्छ भने उपचारमा समय लाग्ने हुँदा निको भएर घर फर्किनेको संख्या कम देखिन्छ।
नेपालमा हालसम्म पाँच जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। त्यसमध्ये एक जना निको भएर घर फर्किसकेका छन् ।

नेपालमा पनि एक सातादेखि सतर्कता अपनाएको छ। ६ दिनदेखि देश पुरै लकडाउन छ। सरकारले लकडाउनको समय थप गरेको छ। तर, धनगढी उपमहानगरपालिका भित्रैको एक वडालाई भने लकडाउनको खासै असर छैन ।
उपमहानगरको ग्रामीण बस्ती वडा नम्बर १७ का बासिन्दा भने गाउँ भित्रको काम निर्बाध रुपमा गरिरहेका छन् । उनीहरूलाई यो अवस्थामा गरिएको लकडाउनमा अपनाउनु पर्ने सुरक्षा सतर्कताबारे कुनै मतलब छैन ।
गाउँमा प्रवेश गर्ने सडकमा बार लगाइएको छ। गाउँबाट पनि बाहिर कोही जाँदैनन् । लकडाउन भएपछि बाहिर रहेकाहरू (नेपाल भित्रै) पनि गाउँमा आइसकेका छन् । बिदेश गएकाहरू यो समयमा कोही फर्केका छैनन् । जसले गर्दा उनीहरूलाई कोरोनादेखि खासै डर छैन।
‘गाउँ भित्र हामी आफ्नो खेतीपातीलगायतको काम मजाले गरिरहेका छौं,’ स्थानीय देशराम चौधरीले भने, ‘गाउँमा भीडभाड हुने कुरा पनि हुँदैन, भएको पनि छैन।’ गाउँका सबै मानिस कृषिमा सङ्लग्न छन् ।
थारू समुदायको बसोबास भएको सो बस्तीका बासिन्दा आफ्नै खेतीपातीको काममा व्यस्त हुन्छन् । सो गाउँ हुँदै गौरीगङ्गा नगरपालिकाको चौमाला जोड्ने बाटो पनि छ । तर, खासै प्रयोग हुँदैन । ‘यहाँबाट चौमाला जोड्ने बाटो पनि छ, अहिले त खासै कोही हुदैनन्,’ स्थानीय मन्दिरे चौधरीले भने, ‘गाउँ छिर्ने बाटो पनि बन्द छ ।’
चिन्ता गहुँको
कोरोनाको संक्रमण थप फैलिन नदिन सरकारले लकडाउनको समय फेरि आठ दिन थपेको छ । पथरीका किसानलाई कोरोनाको संक्रमण भन्दा पनि खेतमा पाक्न लागेको गहुँको चिन्ता छ ।
अबको एक/दुई दिनमा गहुँ काट्ने समय हुँदैछ। गहुँ काटेर दाउन समस्या हुने हो कि भन्ने चिन्ता स्थानीयलाई छ। ‘थ्रेसरबाट गहुँ दाउन डिजेल चाहिन्छ,’ स्थानीय हरिनारायण चौधरीले भने, ‘धनगढी बजार बन्द छ, डिजेल पाउने हो कि पाउने होइन कुनै ग्यारेन्टी छैन ।’
स्थानीय डिजेलको खोजीमा लाग्न थालिसकेका छन् । केहिले धनगढीमा सम्पर्कमा रहेका मानिसलाई डिजेलको प्रबन्ध गरिदिन आग्रह गर्न थालिसकेका छन् । ‘धनगढीमै एक जनालाई डिजेल आएपछि राखिदिनु भनेर ग्यालिन पनि दिइसकेको छु,’ हरिनारायणले भने, ‘डिजेल पाएन भने त खेतबाट गहुँ भित्र्याउन निकै समस्या हुन्छ।’








