वीरगञ्जआदर्शनगरका ५२ वर्षीय शिवकुमारलाई कोरोना संक्रमण नभएको रिपोर्टले देखायो

काठमाडौँ । पर्साको वीरगञ्जका शिवकुमार रुगंटामा कोरोना भाइरस संक्रमण भएको आशंका गरिए पनि उनको रिपोर्ट भने नेगेटिभ आएको छ।
वीरगञ्ज महानगरपालिकाका आदर्शनगरका ५२ वर्षीय शिवकुमार रुगंटामा यसअघि कोरोना संक्रमण जाँचको रिपोर्ट पोजेटिभ आएको भनिए पनि आइतबार साँझ भारत पटनाको राजेन्द्र मेमोरियल रिसर्च इन्स्टिच्यूट अफ मेडिकल साइन्सेजले शिवकुमारमा कोरोना संक्रमण नभएको रिपोर्ट दिएको हो।
साँझ परिवारका सदस्यले पर्साका प्रमुख जिल्ला अधिकारी र वीरगञ्जका एसपीलाई पटनामा उपचार गराइरहेका शिव कुमारमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको जानकारी दिएका थिए । साथै जानकारी पश्चात वीरगञ्ज महानगरको आकस्मिक बैठक समेत बसेको थियो।

वीरगञ्ज महानगरपालिकाका आदर्शनगरस्थित शिवकुमारको घरमा डीएसपी थापाको नेतृत्वमा एक प्रहरी टोली पठाइएको थियो, जसले परिवारका सबै सदस्यलाई सेल्फ क्वारेन्टीनमा बस्न भनेको थियो। पछि वीरगञ्जका मेयर र प्रमुख जिल्ला अधिकारीको टोली र महानगरको स्वास्थ्य टोली पनि शिवकुमारको घर पुगेको थियो।
परिवारका सदस्यहरूका अनुसार केही वर्षअघि शिवको मिर्गौला प्रत्यारोपण गरिएको थियो। वीरगञ्जकै हेल्थकेयरमा उपचार गराइरहेका उनलाई थप उपचारका लागि पटना लगिएको हो। शिवकुमार रुगंटालाई कोरोना संक्रमण भएको खबर भने परिवारकै सदस्यले पर्सा प्रशासन र प्रहरीलाई दिएका थिए।
शिवकुमारका भाइ सुरेशले दाइलाई कोरोना भाइरस संक्रमण भएको सुनेपछि सीडीओ र एसपीलाई फोन गरेर सूचना दिएको बताए।
सुरुमा कोरोना संक्रमण भएको शुरेशले जानकारी दिए पनि पछि फेरि नेगेटिभ रिपोर्ट आएको भनेर पटना अस्पतालबाट फोन आउँदा खुशी लागेको उनले बताए ।
(यसअघि भारतको पटना हस्पिटल पठाइएका वीरगञ्जका एक जनालाई कोरोना संक्रमणको पुष्टि भन्ने समाचार परिवारका सदस्य,वीरगञ्जका एसपी र महानगरपालिकाका अधिकारीले दिएको सूचनाका आधारमा तयार गरिएको उक्त रिपोर्ट सच्याइएको छ)
(सम्पादक)








