काेराेना भाइरसका कारण विदेश पढ्न जाने विद्यार्थीलाई एनओसी नदिने निर्णय

फागुन १९, काठमाडौं । सरकारले कोरोना भाइरस जोखिम भएका देशमा अध्ययनका लागि जाने तयारी गरेका विद्यार्थीलाई ‘एनओसी’ नदिने भएको छ ।
हिजो बसेको मन्त्रिपरिषद् बैठकले चीन, अष्ट्रेलिया, जापान, युरोप, यूके, अमेरिका, क्यानडा, साइप्रस, उत्तर कोरिया लगायतका देशमा अध्ययनकालागि जान शिक्षा मन्त्रालयमा नो अब्जेक्सन लेटरको आवेदन दिएका र तयारी गरेका विद्यार्थीलाई तत्कालका लागि एनओसी नदिने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्को निर्णयले उच्च शिक्षाका लागि विदेश जाने तयारी पुरा गरेका, कलेजबाट अफर लेटर आएर भर्ना प्रक्रिया पुरा गरेका विद्यार्थीलाई समस्या हुने देखिएको छ । कोरोना भाइरसको महामारी नियन्त्रण नआउञ्जेल सम्मका लागि एनओसी बन्द गरिएपछि कन्सल्टेन्सी ब्यवसायी पनि प्रभावित भएका छन् ।
null
‘विद्यार्थीको स्वास्थ्य भन्दा ठूलो कुरा त केही हैन, तर कोरोना भाइरसले नेपाली विद्यार्थी र कन्सल्टेन्सी क्षेत्रलाई पनि असर गरेको छ ।’ पुतली सडकका एक कन्सल्टेन्सी ब्यवसायीले मकालु खबरसँग भने ।
हिजोको मन्त्रिपरिषद्ले फागुन २४ गतेदेखि विभिन्न सम्पूर्ण मुलुकका लागि ‘अन अराइभल भिसा’ नदिने निर्णय गरेको छ । नेपालले १३ मुलुकका लागि ‘अन अराइभल भिसा’ दिँदै आएको थियो ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा गठित कोरोना रोकथाम उच्चस्तरीय समन्वय समितिको आइतवार बसेको बैठकले नेपाल आउने सबै विदेशीले निरोगिताको प्रमाणपत्र देखाउनुपर्ने निर्णय पनि गरेको छ । साथै नेपाल भ्रमण वर्ष २०२० पनि स्थगित गर्ने सरकारको तयारी छ । आइतवार बसेको मन्त्रिपरिषद्को बैठकमा भ्रमण वर्ष स्थगित गर्ने बारेमा छलफल भएको थियो ।
त्यस्तै, सरकारले नेपाली नागरिकलाई चीन, जापान, दक्षिण कोरिया, इरान तथा इटालीलगायत कोरोना प्रभावित मुलुकको भ्रमणमा रोक लगाउने भएको छ । साथै संक्रमण फैलिएका मुलुकमा अनावश्यक यात्रा नगर्न नेपालीलाई आग्रह गरेको छ ।








