जनशक्ति अभावका कारण ट्राफिक प्रहरीलाई काम गर्न सकस

फागुन, २० विराटनगर । वैदेशिक व्यापारका लागि प्रमुख शहर हो विराटनगर । विराटनगरदेखि ६ किलोमिटरको दुरीमा भारतको जोगवनी छ । विराटनगरको वसपार्कदेखि बरगाछीसम्मको सडक अत्यन्तै व्यस्त रहने गर्छ ।   

उक्त सडक खण्डमा ठुला मालवाहक सवारी साधनहरु चौबीसै घण्टा गुड्छन् ।  यात्रुको चाप पनि उत्तिकै हुन्छ । सो सडक खण्डमा दैनिक पन्ध्र सयदेखि दुई हजार बढी निजि, सार्वजनिक यातायात साथै रिक्सा, टेम्पो लगायतका सवारीको चाप पनि अत्यधिक हुन्छ । 

सवारी र यात्रुहरुको चापलाई मध्यनजर गर्दै दुर्घटना न्यूनीकरण गर्न विराटनगर बसपार्कदेखि बरगाछिसम्म ‘नो पार्किङ जोन’ घोषणा गरिएको छ ।   

जिल्ला ट्राफिक कार्यालय मोरङका प्रहरी निरीक्षक राकेश पोदारको कार्यकाल सुरु भएसँगै ‘नो पार्किङ जोन’ घोषणा गरिएको हो ।   

पार्किङ निषेधित क्षेत्रमा सवारी पार्किङ गरे, जथाभावि यात्रु चढाए पाँच सयदेखि पन्ध्र सयसम्म जरिवाना तोकिएको भए पनि चालकहरु अटेर गर्ने गरेको पाईएको छ ।   

बसपार्कदेखि बरगाछिसम्मका पोल, पोलमा नो पार्किङका बोर्ड राखिएको भए पनि सर्वसाधरण साथै सवारी चालकहरुले वेवास्ता गरेका छन् । जथाभावी गाडी रोकेर यात्रु चढाउने परम्परा अझैसम्म हटेको छैन । 

बस पार्क, महेन्द्र चोक, सनि मन्दिर, बिजुली अफिस, बरगाछी लगायतका स्थानहरुमा एक किलोमिटरको दुरी अन्तरमा बस पार्क तोकिएको भए पनि चालक साथै यात्रुहरुले अटेर गर्ने गरेका कार्यक्षेत्रमा खटिएका ट्राफिक प्रहरी जवान चन्द्रस्वर शाहले बताए ।   

उनले भने ‘बसपार्क जस्तो संवेदनशिल स्थानमा दुईजना डिउटीमा खटिएका हुन्छौँ दुईजनालाई भ्याई नभ्याई हुन्छ ।   

नगर विकास कोषको ८ करोड ४७ लाख ऋण सहयोगमा बस टर्मिनल निर्माण भएको भए पनि बस पार्क भित्र यात्रुहरु जाँदैनन् । अधिकांश यात्रुहरु बसपार्क बाहिर नै गाडीको प्रतिक्षा गरिरहेका हुन्छन् ।’   

जिल्ला ट्राफिक कार्यालयका अनुसार मोरङ जिल्लाभरी ८६ जना ट्राफिक प्रहरी छन् । जिल्ला प्रहरी कार्यालय मोरङमा ३४ जना ट्राफिक प्रहरीहरुको संख्या रहेको छ । ट्राफिक प्रहरीको संख्या कमी भएका कारण सुरक्षा सेवामा खटिन सकस रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी जवान लोकबहादुर कार्कीले बताए ।   

उनका अनुसार ट्राफिक प्रहरीको जनशक्ति कम भएकाले चोक चोकमा खटिन गाह्रो हुने भएर नै नो पार्किङको होडिङ बोर्ड लगाएको भए पनि सर्वसाधरणले बुझदैनन् ।   

जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङ अनुसार चालु आर्थिक वर्ष ०७६–०७७ मा तीन हजार आठ सय ५० वटा सवारी कार्वाहीमा परेका छन् । २ करोड २८ लाख पाँच सय राजस्व संकलन गरेको छ । जसमा मापसेमा १६ सय २२ कारवाहीमा परेका थिए भने १६ लाख २२ राजस्व संकलन भएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *