कोरोनाविरुद्ध सार्क आपत्‌कालीन कोष, एसईईमा विशेष सावधानी, सर्वसाधारणले भत्काए सीमास्तम्भ

चैत ३, काठमाडौं । आज राजधानीबाट प्रकाशित सबैजसो पत्रपत्रिकाले कोरोनाविरुद्ध सार्क राष्ट्रको साझा रणनीति तय गर्न भिडियो कन्फरेन्स गरिएको समाचारलाई फ्रन्टपेजमा प्रकाशित गरेका छन् ।   

आजको कान्तिपुरले दक्षिण एसियाली सहयोग संगठन (सार्क)का सदस्य राष्ट्रहरूले कोभिड-१९ महामारीविरुद्ध लड्न आपत्कालीन कोष घोषणा गरेको समाचार फ्रन्टपेजमा प्रकाशित गरेको छ । सार्क सदस्य राष्ट्रका सरकार प्रमुख र उच्च प्रतिनिधिबीच आइतबार साँझ भएको भिडियो कन्फरेन्समा एक करोड अमेरिकी डलरको कोष घोषणा गरिएको हो । 

छलफलमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोष स्थापनाको प्रस्ताव गरेका थिए। उनले स्वैच्छिक रूपमा योगदान गर्न सकिने र आवश्यकताअनुसार जुनसुकै मुलुकले पनि कोष उपयोग गर्न सक्ने बताएका थिए। उक्त प्रस्तावमा सबै मुलुकले समर्थन जनाएका छन्। कोषको कार्यविधि दूतावासहरूमार्फत विदेश सचिवहरूले टुंगो लगाउनेछन्। 

करिब डेढ घण्टा भएको भिडियो छलफलमा कोभिड–१९ महामारी रोकथामका लागि स्वास्थ्यसम्बन्धी सार्कस्तरीय संरचना गठन गर्ने समझदारी पनि भएको छ। सार्क सदस्य राष्ट्रहरूबीच सूचना आदानप्रदान र दीर्घकालीन सहकार्यका लागि क्षेत्रीय संरचना आवश्यकता छलफलमा सहभागी सरकार प्रमुख तथा प्रतिनिधिले औंल्याएका थिए। 

छलफलका लागि भारतको विदेश मन्त्रालयले समन्वय गरेको थियो। सार्क राष्ट्रका प्रमुखहरू सन् २०१४ मा काठमाडौंमा भएको सार्क सम्मेलनपछि पहिलो पटक यसरी सँगै छलफलमा सहभागी भएका हुन्। पाकिस्तानमा सन् २०१६ मा १९ औं शिखर सम्मेलन हुने तय भए पनि भारत र पाकिस्तानबीच विकसित कटुतापूर्ण सम्बन्धका कारण सार्क निष्क्रियझैं बन्न पुगेको थियो। 

छलफल सुरु गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले महामारी नियन्त्रणका लागि भारतले चालेका कदमबारे जानकारी गराए। उनले आवश्यक परे सार्क मुलुकमा परिचालन गर्न भारतले चिकित्सक र विशेषज्ञको ‘रेपिड रेस्पोन्स टिम’का अतिरिक्त टेस्टिङ किट र उपकरण तयार राखेको बताए। अरू मुलुकका सरकार प्रमुख र प्रतिनिधिले पनि आआफ्नोतर्फबाट भएका प्रयास सुनाएका थिए। 

मोदीले गम्भीर चुनौतीको घडीमा सबै मिलेर काम गर्नुको विकल्प नभएको बताएका छन्। ‘सबैले गम्भीर चुनौती सामना गरिरहेका छौं। महामारीले आगामी दिनमा कस्तो रूप लिन्छ भन्ने हामीलाई थाहा छैन। त्यसैले हामीले मिलेर काम गर्नुपर्छ भन्ने प्रस्ट छ,’ उनले छलफलमा भनेका थिए। उनले महामारीका कारण सिर्जित परिस्थितिको सामना एकसाथ गर्नुपर्नेमा जोड दिए। ‘हामीले यो परिस्थितिको सामना टाढा भएर होइन, साझेदारीको भावनासहित अगाडि बढ्नुपर्ने खाँचो छ।’ 

अन्नपूर्णले ‘सर्वसाधारणले भत्काए सीमास्तम्भ’ शीर्षकको समाचार प्रकाशित गरेको छ । लालपुर्जा भएको नेपाली भूमि एकाएक भारतमा पारिएपछि त्यसको रक्षा गर्न कञ्चनपुरका बासिन्दा जुटेका छन्। उनीहरूले सीमास्तम्भ संख्या ७८३ का ४ सहायक स्तम्भ भत्काइदिएका छन्।  

नेपाली कांग्रेस कञ्चनपुरका सभापति हरि बोहरासहितका नेता अनुगमनमा गएका बेला स्थानीयले सीमास्तम्भै भत्काएका हुन्। उक्त स्तम्भ नेपाल–भारत संयुक्त सीमा सर्भे टोलीले एक महिनाअघि मात्रै गाडेको थियो। ‘नेपालीहरूको लालपुर्जा र फिल्डबुक कायम भएको ५० बिघाभन्दा बढी जग्गा भारतमा गाभिएपछि आक्रोशित स्थानीयले सीमास्तम्भ भत्काएका हुन्’, सीमा सुरक्षा संघर्ष समितिका संयोजक गोपी उपाध्यायले भने। 

कैलालीको खक्रौलाबाट कञ्चनपुरको ब्रह्मदेवसम्म नयाँ सीमास्तम्भ निर्माण र मर्मत सीमा सर्भे टोलीले गरिरहेको छ। टोली यही वर्ष मात्रै कञ्चनपुरको बढी विवादित क्षेत्र बेलौरी आइपुगेको हो। बेलौरीमा दुई महिनादेखि जोर पिलर (सीमास्तम्भ) भारतले र बिजोर पिलर नेपालले बनाइरहेका छन्। सीमा सर्भे टोलीका नेपाल प्रमुख सुदर्शन धामीका अनुसार स्थानीयले भत्काएको सीमास्तम्भ भारतीय टोलीले बनाएको हो। 

संघर्ष समितिका संयोजक उपाध्यायका अनुसार बेलौरी नगरपालिका–१० भुडाबाट बैवाहासम्म ४० नेपाली परिवारको लालपुर्जा भएको जग्गा भारतमा परेको छ। ‘वर्षौंदेखि सञ्चालनमा रहेको हरि चन्दको इँटाभट्टासमेत भारततर्फ परेको छ’, उनले भने। 

भुडाका बलिराम चौधरीको अढाई बिघा जग्गा संयुक्त टोलीले गरेको रेखांकनमा भारततिर परेको छ। आफूले २०५४ सालमा नापी भई लालपुर्जा पाए पनि त्यसभन्दा अघिदेखि भोगचलन गर्दै आएको चौधरीले सुनाए। ‘नेपाल सरकारले लालपुर्जा दिएको जग्गा कसरी भारतको भयो ? ’ उनले प्रश्न गरे, ‘भारतको जग्गा भए नेपाल सरकारले किन लालपुर्जा दियो ? ’ 

चौधर नालालाई सीमा मानिँदै आए पनि सर्भे टोलीले त्यसभन्दा पनि नेपालतर्फ सीमास्तम्भ गाड्न थालेको छ। ‘मेरो दुई बिघा जमिन गए म अर्को ठाउँमा सरुँला तर यहाँ नेपाल आमाको अंग काटिँदै छ’, चौधरीले भने, ‘सरकारले गोली ठोकोस्, जमिन छाडिँदैन।’ उनले सर्भे टोलीले गलत बिन्दु प्रयोग गरेको आरोप लगाए। 

कञ्चनपुरको दक्षिणी क्षेत्रमा सीमा रक्षा गर्न पञ्चायतकालमा भूपू सैनिकलाई बसाइएको थियो। त्यस बेलादेखि भोगचलन गर्दै आएको जग्गा एकाएक भारततर्फ परेपछि स्थानीय आक्रोशित भएका हुन्। सर्भे टोली प्रमुख धामीले बेलडाडीको झिलमिलाबाट सर्भे सुरु गरिएको बताए। ७८२ को सहायक स्तम्भ १ र २ भुडामा निर्माण गर्ने बेला विवाद भएको उनले सुनाए । 

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिमलाई ध्यानमा राखेर सरकारले २ सय ३५ वटा सघन उपचार शड्ढया (आइसियू बेड) बनाउन लागेको जानकारी दिएकाको समाचार नागरिकमा छ ।  

राष्ट्रियसभा बैठकमा आइतबार स्वास्थ्यमन्त्रीले सम्भावित जोखिमलाई ध्यान दिई उपत्यकाभित्र १ सय २० र उपत्यकाबाहिर १ सय १५ वटा श­ड्ढया तयार पार्ने निर्णय भएको बताए। हाल काठमाडौं उपत्यकाका सबै अस्पतालमा गरी १ सय ७० वटा सघन उपचार शड्ढया छन् भने सम्भावित कोरोना संक्रमितको उपचार गर्न १ सय ५५ वटा आइसोलेटेड शड्ढया तयार पारिएका छन्। 

मन्त्री ढकालले कोरोना उपचारका लागि काठमाडौं उपत्यकामा तीनवटा अस्पताल छुट्याइएको बताए। कोरोना प्रवेश भइहाले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग, पाटन अस्पताल र कीर्तिपुर अस्पतालमा त्यसबाट संक्रमितको मात्र उपचार गर्ने व्यवस्था मिलाइने र वीर अस्पतालको नयाँ भवनलाई पनि कोरोना संक्रमितको मात्र उपचार गर्ने अस्पताल बनाउने तयारी रहेको उनले बताए।  

छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण देखिएकाले नेपालमा जोखिम बढेको उनले स्पष्ट पारे। देशबाहिर जाने १ सय २९ नाकामध्ये ४३ नाकामा स्वास्थ्य विन्दु राखिएको उनले बताए। भारतको चारवटा नाकाबाट नेपाल प्रवेश गर्ने व्यवस्था गरिएको उनले बताए। औषधिको जोहो गर्ने कार्यमा सरकार लागेको, छिमेकी मुलुकसँग जोडिएका १ सय २८ स्थानीय तहलाई कडा सावधानी अपनाउन २१ बुँदे निर्देशन जारी गरेको, प्रमुख जिल्ला अधिकारी र स्वास्थ्यकर्मीलाई जोखिमपूर्ण अवस्थामा जिल्ला नछोड्न निर्देशन दिएको समेत उनले जानकारी दिए। 

त्रिभुवन विमानस्थल भएर आउनेमध्ये कोरोना संक्रमण धेरै भएका देश हुँदै आउनेलाई १४ दिन अनिवार्य सेल्फ वा होम क्वारेन्टाइनमा बस्न भनिएको स्वास्थ्यमन्त्रीले जानकारी दिए। होम क्वारेन्टाइनमा बस्दा सुक्खा खोकी, ज्वरोलगायतका लक्षण देखिए अस्पताल लैजाने उनले बाए। रिपोर्ट पोजेटिभ आए सम्पूर्ण उपचारको जिम्मा राज्यले लिने उनले बताए। 

कक्षा १ देखि ९ सम्म अध्ययनरत झन्डै ५० लाख विद्यार्थीको वार्षिक परीक्षा चैत ५ गतेभित्र सकिने र त्यसपछि स्वतः एक महिना विद्यालय बन्द रहने उनले जानकारी दिए। एसईई परीक्षा तालिकाबारे भने संक्रमणको अवस्था हेरेर निर्णय हुने उनले बताए। नेपालमा कसैलाई कोरोनो नदेखिए पनि नियन्त्रणमा लिनसक्ने गरी काम भइरहेको उनले बताए। 

गोरखापत्रले ‘एसईई परीक्षामा विशेष सावधानी’ शीर्षकको समाचार प्रकाशित गरेको छ । कोरोना भाइरस सङ्क्रमणबाट जोगिन तथा सहज रूपमा विद्यार्थीलाई एसईई परीक्षा दिने प्रबन्ध मिलाउन परीक्षा केन्द्रमा विशेष सावधानी अपनाइने भएको छ ।  

झण्डै पाँच लाख विद्यार्थी सहभागी हुने तथा लाखौँ अभिभावकको चासो हुने एसईईका विद्यार्थीलाई मानसिक रूपमा परीक्षाका लागि तयार पार्न पूर्णसरसफाइ, विद्यार्थीको स्वास्थ्य परीक्षण, परीक्षामा अनावश्यक भीडभाड हुन नदिने लगायतका योजना कार्यान्वयन गर्ने तयारीमा परीक्षा केन्द्र जुटेको बताइएको छ । 

विद्यालयमै नर्सको सुविधाललितपुरको आदर्श शौल युवक माध्यमिक विद्यालयमा झण्डै डेढ वर्षअघि स्टाफ नर्सको स्थायी दरबन्दी नै व्यवस्था गरिएपछि विद्यार्थीको दैनिक उपचारका साथै एसईई परीक्षामा समेत सहज हुने भएको छ । प्रदेश सरकारको ‘एक विद्यालय एक स्टाफ नर्स’ कार्यक्रम अन्तर्गत विद्यार्थीले स्टाफ नर्सको सुविधा पाएका हुन् ।विद्यालयका प्रधानाध्यापक सरोज आचार्यले विद्यार्थीलाई समस्या भएको अवस्थामा विद्यालय भित्रकै क्लिनिकमा उपचार गर्न सक्ने सुविधा रहेको जानकारी दिनुभयो । एसईईलाई दृष्टिगत गरेर आफूहरूले तयारी सुरु गरेको जानकारी उहाँले दिनुभयो ।  

विद्यार्थीले तीन घण्टा परीक्षा र झण्डै एक घण्टा परिसर वरपरमा बिताउने भएकाले भाइरसबाट सावधान हुनुपर्ने जरुरी भएको उहाँले बताउनुभयो । विद्यालयमा चउर, शौचालय, पानीको धारा भ¥याङ लगायतका धेरै प्रयोग हुने क्षेत्रमा विशेष सरसफाइ गरिएको र यसलाई दैनिक निरन्तरता दिइने प्रधानाध्यापक आचार्यको भनाइ छ । विद्यार्थी बिरामी भएको अवस्थामा परीक्षण गरी उनीहरूलाई अलग्गै कोठामा परीक्षा लिने प्रबन्ध मिलाइएको जानकारी उहाँले दिनुभयो । 

डेस्कबेन्चको समेत सरसफाइकलङ्कीस्थित जनपथ माध्यमिक विद्यालयले कोरोना भाइरसको सङ्क्रमणले विद्यार्थीमा परीक्षाको अवधिमा मनोबल घट्न नदिन सरसफाइ लगायत कार्य सुरु गरेको छ । परीक्षामा आएका विद्यार्थीलाई मास्क प्रयोग गर्न लगाउने, बिरामी भए अलग्गै कोठामा राख्ने र अभिभावकलाई परीक्षा केन्द्र वरपर अनावश्यक जमघट र भीडभाड नगर्न आह्वान गरिएको छ । 

विद्यार्थीले प्रयोग गर्ने डेस्क, बेन्च, कोठामा दैनिक विशेष सरसफाइ गरिने र परीक्षामा बस्ने शिक्षकलाई समेत यस विषयमा जानकारी गराइएको विद्यालयले जनाएको छ । विद्यालयका प्रअ जितबहादुर लामिछानेले विद्यार्थीले तीन घण्टा उत्तरपुस्तिकामा केन्द्रित भएर लेख्न सकून् र उनीहरूलाई कुनैखाले सङ्क्रमणको त्रास नहोस् भन्नेमा आफूहरू सचेत रहेको बताउनुभयो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *