तरुण दल सुनसरी सभापतिले यूकेबाट भने–‘सावधानी अपनाउनुको विकल्प छैन’

चैत्र १२, युके । कोरोना भाइरस संक्रमणबाट बच्न घरभित्रै रहेर सावधानी अपनाउन नेपाल तरुण दल सुनसरी सभापति सिजन गुरुङले अनुरोध गरेका छन् । केही समय अघि युके भ्रमणमा गएका सभापति गुरुङ कोरोना भाइरस संक्रमण विरुद्ध भएको लक डाउनका कारण नेपाल फर्कन सकिरहेका छैनन् ।
हाल यूकेमै रहेका गुरुङले आम नेपाली तथा युवाहरुलाई विश्वब्यापी कहरबाट सुरक्षित रहेर आम जनतामा सचेतना फैलाउन पनि आग्रह गरेका छन् । ‘विश्वव्यापी कहरलाई हामी एक्लैले नियन्त्रण गर्न सक्दैनौं, कोभिड १९ को उपचार पद्दति समेत पत्ता नलागेको अवस्थामा हामीले सावधानी अपनाउनुको विकल्प छैन ।’ सभापति गुरुङले भने ।
कोरोना भाइरस संक्रमणका विरुद्ध नेपाल सरकारले लक डाउन गरेको प्रति आम जनताले साथ दिनुपर्ने बताउँदै अहिलेको परिस्थितिमा सबै राजनीतिक दलहरु एकै स्थानमा रहेर विपत्तीको सामना गर्नुपर्ने बताए । ‘यो बेला यो पार्टी र त्यो पार्टी भन्ने बेला हैन, विश्वलाई नै परेको संकटमा हामी सबै एक हुनुपर्छ । अहिलेलाई राजनीतिक प्रतिसोध नसाँधौं ।’ उनले भने ।

सिजन गुरुङले कोरोना भाइरस संक्रमणबाट बच्न ब्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन आग्रह गरेका छन् । रोग लाग्नु भन्दा लाग्नै नदिनु सर्वोत्तम उपाय भएको बताउँदै उनले भने–‘यो बेला हामीले आफ्नो व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिनुपर्छ । दिनको चार पाँच पटक हात धोउँ, सेनिटाइजर प्रयोग गरौं, बाहिर निस्कँदा होस वा घरभित्रै रहँदा अनिवार्य मास्क प्रयोग गरौं ।’
गुरुङले स्वास्थ्यनै मानव जिवनको ठूलो धन रहेको भन्दै आफ्नो तथा परिवारको हेल चेक्राईं नगर्न तथा लक डाउनका बेला जथाभावी घरबाहिर ननिस्कन आग्रह गरेका छन् । उनले सरकारलाई पनि खबरदारी गर्दै स्वास्थ्य सेवा पाउनु आम नागरिकको नैसर्गिक अधिकार रहेको सरकारलाई स्मरण गराउँदै कोरोना भाइरस रोकथाम, संक्रमण न्यूनिकरण गर्न सचेतना फैलाउन र कसैलाई भाइरस भइहालेमा राज्यले सुरक्षित तवरले उपचारको ब्यवस्था गर्नुपर्ने बताए ।
‘राज्य जनताको स्वास्थ्यप्रति सदैव सचेत रहनु पर्दछ । यस्तो महामारीका बेला राज्यले खेल्ने भूमिका अझ प्रभावकारी हुनुपर्छ । सबै तहका जनतालाई सर्वसुलभ उपचारको ब्यवस्था गरियोस ।’ गुरुङले भने–‘हामी सचेत नागरिकले पनि राज्यको मात्रै मुख ताकेर हुँदैन, आफ्नो स्वास्थ्य प्रति आफैंपनि सचेत हुनुपर्छ ।’








