विदेशमा रहेका १२ नेपालीमा कोरोना संक्रमण

चैत १२, काठमाडौं। रोजगारीको शिलसिलामा विदेशमा रहेका १२ जना नेपालीमा कोरोना भाइरस संक्रमण देखिएको पुष्टि भएको छ। यूएई, पोल्याण्ड, अमेरिका, अस्ट्रेलिया लगायतका देशहरुमा रहेका नेपालीहरुमा कोरोना संक्रमण रहेको पुष्टि भएको हो। 

संक्रमण भएका १२ जना नेपाली मध्ये २ जनाको मृत्यु भएको छ। यूएईमा २ जनालाई कोरोना भाइरस लागेको थियो। उनीहरू उपचारपछि निको भएको यूएईस्थित नेपाली दूतावासले जनाएको छ। रोजगारीका लागि पोर्चुगल पुगेका २ जना नेपालीमा कोरोना भाइरस संक्रमण देखिएको छ। हाल उनीहरूको पोर्चुगलमै उपचार भइरहेको छ। 

पोल्याण्डमा पनि २ जना नेपालीमा कोरोना भाइरस देखिएको छ। उनीहरूको हाल त्यही देशमा उपचार भइरहेको छ। अमेरिकाको न्युयोर्कमा २ जना नेपालीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ। ज्याक्सन हाइटमा बस्ने ५० वर्षीय एक व्यक्तिसहित अर्का ४७ वर्षीय ट्याक्सी चालक पनि संक्रमित भएका हुन्। एक जनाको मृत्यु भएको छ भने एक जनाको उपचार भइरहेको छ। 

लन्डनमा एक नेपाली महिलालाई कोरोना भाइरसको संक्रमण भएको छ। उनी लन्डनमा सामाजिक अभियन्ता हुन्। हाल उनको लन्डनमा उपचार भइरहेको छ। यस्तै, करिब ३ साताअघि नेपालबाट बिदा मनाएर फर्किएका एक विद्यार्थीमा कोरोना भाइरसबाट संक्रमण पाइएको छ। अस्ट्रेलियाको तास्मानियास्थित स्वास्थ्य अधिकारीहरूले करिब २० वर्षका ती विद्यार्थी संक्रमित भएको र उनको आइसोलेसनमा राखेर उपचार भइरहेको बताएका छन्। 

लन्डनमा रहेका एक जना पूर्व गोर्खा सैनिकको पनि मृत्यु भएको छ। उनी लन्डन साउथ ह्यारो बस्दै आएका थिए। खाडीका देश, युरोपका मुलुक, अमेरिका, क्यानडा, मलेसिया, भारत, अफ्रिकी देशमा रहेका कति नेपालीमा कोरोना भाइरसको संक्रमण देखिए पनि बाहिर आएको छैन। विदेशमा रहेका श्रमिक, विद्यार्थी, व्यापारी र अन्य पेसा गर्दै आएका नेपाली कोरोनाको उच्च जोखिममा छन्। 

कोरोना भाइरसको संक्रमणबाट विश्वमा १८ हजार ९ सय ७ जनाको मृत्यु भएको छ भने ४ लाख २२ हजार ८ सय ३९ जनामा कोरोना भाइरसको पुष्टि भएको छ। कोरोना भाइरसको संक्रमण भएका १ लाख ९१ हजार २ जना निको भएका छन्। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =