सरकारले कोरोना भाइरसको सूचना लुकाउँदैनः मन्त्री ढकाल

चैत १०, काठमाडौं। स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोनाभाइरस बारेको सूचना सरकारले नलुकाउने बताएका छन्। सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री ढकालले कोरोना भाइरसको संक्रमण वा यससम्बन्धी सूचनाहरु जनतासामु ल्याउने बताए।   

उनले भने ‘पोजिटिभ देखिएमा सूचना लुकाउने कुरा नै आउँदैन, राज्यले सूचना लुकाउँदैन। यो पारदर्शी ढङ्गले बाहिर आउँछ।’ अहिले समय अलि प्रतिकूल भएको कारण सूचना प्रवाहमा सरलता नभए पनि सरकारले सूचना नलुकाउने उनको भनाइ छ।   

पत्रकार सम्मेलनमार्फत मन्त्रालयले फ्रान्सबाट कतार हुँदै नेपाल आएका एक जनामा कोरोना संक्रमण भएको जानकारी दिएको छ। कतारबाट आएका अन्य व्यक्तिमा पनि कोरोना संक्रमणबारेमा चेकजाँच भइरहेको मन्त्री ढकालले जानकारी दिए।   

सरकारले सोमबारदेखि भारत र चीनका दुबै सिमानाका बन्द गराएको छ भने कोरोनाको संक्रमणबाट बच्न र त्यसको तयारी गर्न ५० करोड रुपैयाँ छुट्याएको छ। सीमानाका बन्द गर्दा अत्यावश्यक सामग्रीहरुको पनि अभाव हुन सक्नेतर्फ संकेत गर्दै स्वास्थ्यमन्त्री ढकालले कुनै सामान अपुग भएमा प्लेनबाटै सामान आयात गर्नेगरी प्लेनसमेत स्ट्याण्डबाई राखिएको बताए। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 1 =