‘लकडाउनको पालना गर्नुहोस्, घरभित्रै बस्नुस्’

चैत ११, काठमाडौं। सरकारले कोरोना भाइरस संक्रमणविरुद्धको आदेश कडाइका साथ पालना गर्न अनुरोध गरेको छ। सोमबार बेलुका सिंहदरबारमा बसेको कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले मंगलबार देखि देशभर लकडाउन गर्ने निर्णय गरेको थियो।
कोरोना संक्रमणविरुद्ध राष्ट्र एकताबद्ध भएर लड्नुपर्ने भएकाले ‘लकडाउन’ लाई कडाइका साथ पालना गर्न सरकारले अनुरोध गरेको हो। उच्चस्तरीय समन्वय समितिका संयोजक समेत रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेलले आम जनताले सरकारको निर्णयप्रति पुर्याएको सहयोगको प्रशंसा गरेका छन। उनले अपवाद बाहेक आम जनताले लकडाउन पालना गरेको बताए।
पोखरेलले भने, ‘जनताले सरकारको निर्णय पालना गरेकोमा प्रशंसा गर्न चाहन्छु। वास्तवमा यो राष्ट्रले एकताबद्ध भएर लड्नुपर्ने समस्या हो। सबैको सहयोग पाइएको छ र जनता आफैं सचेत भएर सरकारको निर्णय पालना गर्नुपर्छ।’ उनले लकडाउन महामारीको विरुद्धमा भएकोले यसको अवज्ञा नगर्न आग्रह समेत गरे।

लकडाउनलाई अवज्ञा गर्नुलाई बहादुरीका रुपमा लिन नहुने समेत पोखरेलले बताए। जनताले स्वस्फूर्त रुपमा घरभित्र बसेर आफू र मुलुकलाई संक्रमणबाट जोगाउन उनले आग्रह गरे। लकडाउन उल्लंघन गर्व गर्ने विषय नभएको समेत उनले प्रष्ट पारे।
पोखरेलले भने, ‘अहिलेसम्म आमरुपमा ठिकै छ, हामी थप समीक्षा गरेर अरु निर्णय पनि गर्छौं। यस्तो बेला सबैले जिम्मेवारीपूर्वक सोच्नुपर्ने हुन्छ। यो समय सरकारले भने अनुसार गर्नुपर्छ। हामी पक्ष विपक्षमा छैनौं, त्यसैले सरकारलाई विश्वास गरौं।’
उपप्रधानमन्त्री पोखरेलले जनताले लकडाउन पालना गर्दासम्म अन्य कदम चाल्नु नपर्ने बताए। उनले उपभोग्य बस्तुका पसलहरु खोल्नुपर्ने भन्दै बन्द गर्न नभनिएको पनि प्रष्ट पारे। पहिलो दिनको लकडाउनको समिक्षा गर्न उच्चस्तरीय समन्वय समितिको बैठक अपराह्न सिंहदरबारमा बस्दैछ।








