घरघरमा खाद्यान्न पुर्‍याउने व्यवस्था गर्छौं: मन्त्री भट्ट

चैत्र ९, काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सरकारले खाद्यान्नलगायतका अत्यावश्यक वस्तुको अभाव हुन नदिने गरी बन्दोबस्त गरेको दाबी गरेका छन्। सरकारले खाद्यान्नको पर्याप्त स्टक राखेको उनले बताए।  

आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले आपूर्ति व्यवस्थापनको लागि सरकारले पुरै योजनाबद्ध ढंगले काम गरिरहेको स्पष्ट पारे। उनले भने, ‘अहिलेको अवस्थामा तत्काल आपूर्ति व्यवस्थापन कसरी गर्ने भन्ने एउटा तयारी छ, अर्को अलिक गम्भीर अवस्था आयो भने कसरी गर्ने र महामारी नै आयो भने कसरी गर्ने भन्ने पनि तयारी छ।’ 

साक्षात्कारमा मन्त्री भट्टले बजारमा खाद्यान्न लगायत अत्यावश्यक वस्तुको अभाव हुन्छ भन्ने मनोवृत्तिले उपभोक्ताले सञ्चितीकरण गर्न थालेकोले केही समस्या उत्पन्न भएको पनि टिप्पणी गरे। उनले भने, ‘कतिले चारदेखि ६ वटासम्म सिलिण्डर राख्ने गरेका छन्, कतिले त दुई चार बोरा चामल राख्ने गरेका छन्। यस्तो अवस्थामा कतिपय व्यापारीले पनि मौकाको फाइदा उठाउनलाई कालोबजारी गर्न सक्छन्। हामीले मन्त्रालयको टिमलाई पुरै परिचालन गरेका छौँ। कोही पनि कर्मचारी बिदामा नबसी फिल्डमा खटिनुभएको छ।’ 

खाद्यान्नलगायतका अत्यावश्यक सामाग्रीको कुनै अभाव नहोस् र सहज तवरले आपूर्ति व्यवस्थापन गर्नको लागि आफ्नो नेतृत्वमा एक समिति समेत हिजो गठन भएको उनले जनाए। उनले भने, ‘त्यो समितिमा तीन वटै सुरक्षा निकायका प्रतिनिधि हुनुहुन्छ, स्वास्थ्य मन्त्रालयका प्रतिनिधि, उद्योग वाणिज्य महासङ्घका प्रतिनिधि, चेम्बर अफ कमर्स, सिएआई, उपभोक्ता हित संरक्षण मञ्चका प्रतिनिधि हुनुहुन्छ। हामी विशेष तयारीका साथ काम गरिरहेका छौँ।’ 

मन्त्री भट्टले भोलि त्यस्तो अवस्था आए संकटकाल नै घोषणा पनि हुनसक्ने पनि सुनाए। उनले भने,‘सबै कुराको ख्याल गरेर हामीले तयारी गरिरहेका छौँ।’ उनले कोरोनाबारे सबैले सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने पनि बताए। उनले भने, ‘मिडियाले पोजेटिभ मेसेज दिइरहनुभएको छ। तर, सामाजिक सञ्जालमा कतिपयले नेगेटिभ मेसेज पनि दिइरहेका छन्। त्यसलाई कन्ट्रोल गर्नुपर्छ।’ उनले सबैले आफ्नो तर्फबाट सकारात्मक सुरुवात गर्न खाँचो रहेको पनि औंल्याए। उनले भने, ‘हात नियमित धुने, एक मिटर पर बस्ने, टिस्यु पेपर प्रयोग गर्ने, ज्वरो आए र शंकास्पद त्यस्तो केही देखिए नजिकको हस्पिटलमा लैजानुपर्छ। हामीले अहिले जनचेतना बढाउनुपर्छ।’ 

उनले अहिले नेपालमा खेतीवारिमा लगाएका उत्पादनहरू भित्रिने पनि समय रहेको सुनाउँदै खाद्यान्नको कुनै अभाव नहुने र आफूहरूसँग पर्याप्त स्टक रहेको पनि सुनाए। उनले भने, ‘हामीसँग पर्याप्त मात्रामा स्टक छ। साल्ट ट्रेडिङको गोदाममा गएर हेर्नुहोस्। नेपाल खाद्यमा पनि हेर्न सक्नुहुन्छ। हामीले सुपथ मूल्यका पसलहरू पनि सञ्चालन गर्दैछौं। ३–४ ठाउँबाट ग्याँस पाउँछ।’ 

उनले सुरक्षाकर्मीहरु र अस्पतालमा खटिने कर्मचारीहरूको लागि अत्यावश्यक वस्तुको व्यवस्थापन गरिने पनि विश्वास दिलाए। उनले भने, ‘हामीले अत्यावश्यक वस्तुको व्यवस्थापन गरेका छौँ।’ उनले हरेक नागरिकले अनुगमन गर्नुपर्ने पनि सुझाव दिए। उनले भने, ‘उपभोक्ता ऐन आइसकेको छ। अब सबै नागरिकले कडाइका साथ अनुगमन गर्नुपर्छ।’ 

कालोबजारी र अभाव गर्न खोज्नेहरूलाई तीन लाख र हदैसम्मको ५ वर्षसम्मको कैद गरिने उनले स्पष्ट पारे। उनले भने, ‘बदमासी गर्न खोज्नेहरूलाई सबैले कारबाही गर्नुपर्छ। त्यस्तो गरेको पाए सूचना दिनुहोस्। हामी कारबाही गर्छौँ।’ उनले सरकारले क्षमताभन्दा बढी नै आपूर्ति व्यवस्था गरेको सुनाए। उनले भने, ‘सबैको सहयोग भयो भने हामी आपूर्ति लगायतका समस्या समाधान गर्न सफल हुन्छौं।’ उनले अत्यावश्यक वस्तु नपाए वाणिज्य विभागमा सूचना दिनसमेत आग्रह गरे। उनले भने, ‘११३७ मा फोन गर्नुहोस्। हामी व्यवस्थापन गर्छौँ।’ उनले यो बिचमा ६० देखि ७० लाख राजश्व उठेको सुनाउँदै गलत गर्नेहरूलाई कारबाही गरिएको पनि स्पष्ट पारे। 

उनले सरकारले गलत गर्ने कसैलाई नबचाउने स्पष्ट पारे। उनले भारतबाट ठूलो संख्यामा आवतजावत भएको प्रसँगमा यसबारेमा भारतसँग कूटनीतिक पहल गर्ने विश्वास दिलाए। उनले भने, ‘जो जुन मुलुकमा हुनुहुन्छ, त्यहीँ बसौँ। देशलाई संकटबाट बचाऊँ। यसबारेमा भएको कमजोरीको समीक्षा गर्नुपर्छ। हामी समीक्षा गर्छौँ। भारतसँगको सीमा अझै व्यवस्थित गर्छौँ। त्यहाँ सुरक्षा जनशक्ति थप्ने कुरा भएको छ।’ 

उनले अहिलेको लडाई सबैले एकजुट भएर लड्नुपर्ने बताए। उनले भने, ‘सरकारले एकपछि अर्को तयारी गरेको छ। विभिन्न मुलुकले कसरी काम गरिरहेका छन् भन्ने कुरा पनि हामीले हेरेका छौँ। विशेष गरी चीनमा कोरोनाविरुद्ध कसरी लडियो भन्ने कुरा पनि हामीले हेरेका छौँ। भारत पनि कसरी लडिरहेको छ भन्ने पनि हेरिरहेका छौँ। युरोप किन लड्न सकेन ? यी सबै कुरा हेरेर हामीले एकपछि अर्को तयारी र कदम चालेका छौँ।’ 

उनले अहिले ‘जो जहाँ छौँ, त्यहीँ बसेर’ सरकारलाई सहयोग गर्नुपर्ने पनि बताए। उनले आवश्यक पर्दा देशलाई ‘लक डाउन’ गरेर कोरोनाविरुद्ध लड्नुपर्ने अवस्था भएकोले सबै नेपालीले यसलाई आत्मसात् गर्नुपर्ने पनि स्पष्ट पारे। ‘हिजो भित्रिएको विदेशबाट आएको भीडलाई सरकारले निगरानी गरेको छ। त्यसको कारण पनि खोतल्छौँ। अब त्यसरी भीड आउन नदिन सरकार संवेदनशील छ। सीमा नाकामा खटिएका सुरक्षा निकायसँग समन्वय गरिरहेका छौँ। 

‘भोलि केही गरी कोरोना भित्रिएर बजारमा खाद्यान्न अभाव भयो भने सरकारले केही गर्न सक्दैन होला भनेर आम नागरिक ढुक्क छैनन्। तर, त्यस्तो अवस्था आयो भने सरकारले घरघरमै खाद्यान्न पुर्‍याउने गरी गृहकार्य गरेको छ,’ उनले थपे। ‘मन्त्रालयका कर्मचारी कोही पनि बिदा बस्न पाउँदैनन्। देशभरिकै आपूर्ति व्यवस्था सहज बनाउनको लागि स्वास्थ्य, गृह, उपभोक्ता संरक्षण हित, आपूर्ति मन्त्रालय, अर्थ मन्त्रालय लगायतसँगको समन्वयमा काम भइरहेको छ। कहाँ कति चाहिन्छ ? भन्ने कुरा पनि आकलन गरेका छौँ। यदि अभावको अवस्था आयो घरदैलोमा ढुवानी गर्ने व्यवस्था गरेका छौँ।’  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − two =