अनियमितताबारे छानविन गर्न अख्तियारलाई निर्देशन

फागुन ३०, काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले सेक्युरिटी प्रेस खरिद प्रक्रियामा भएको भनिएको अनियमितता बारे छानविन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ । साथै समितिले जीटुजी प्रक्रिया खारेज गरेर अगाडि बढ्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन समेत दिएको छ।
समितिको शुक्रबार बसेको बैठकले सरकारलाई आवश्यक परे खुल्ला प्रतिस्पर्धामा टेन्डर आह्वान गरी खरिद गर्न निर्देशन दिइएको हो।
बैठकले जीटुजी खरिद प्रक्रियाबारे मुख्यसचिव र सम्बद्ध मन्त्रीहरुसँग छलफल गर्ने निर्णय गरेको छ । पछिल्लो समय सञ्चार मन्त्रालयमार्फत सेक्युरिटी प्रिन्टिङ प्रेसका साथै स्याटेलाइट खरिद पनि जीटूजीबाट गर्न खोजिएको थियो । तर त्यसमा विवाद आएपछि समितिले समग्र जीटूजीबारे छलफल गर्न लागेको हो ।
सेक्युरिटी प्रेस खरिदका क्रममा तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाले ७० करोड रुपैयाँ कमिसन मागेको अडियो बाहिरिएपछि राजीनामा दिएका थिए । अडियो प्रकरणसँगै लेखा समितिले फागुन ८ मा प्रक्रिया रोक्न निर्देशन दिँदै छानबिन थालेको थियो।








