कोरोनाको त्रास, मुखमा दुई’टा मास्क !

प्रतिकात्मक तस्वीर  

फागुन २२, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन बुधबार दिउँसोतिर त्रिवि शिक्षण अस्पतालद्वारा आयोजित पत्रकार सम्मेलनमा जाँदै गर्दा बाटोमा एउटा अनौठो दृश्य देखियो ।   

हुन त कतिपयलाई सामान्य लाग्न सक्छ त्यो दृश्य । मलाई भने अलि अनौठो नै लाग्यो । सायद यसअघि यस्तो दृश्य देख्ने अवसर नजुरेर पनि हुन सक्छ !   

चार बजे अस्पताल पुगिसक्नु पर्ने थियो, म अलि ढिलो भएँ । आफ्नो साधन थिएन साथमा । हतारहतार बस चढेँ, सिट फुल । ढोकै छेउमा उभिएँ र दायाँबायाँ नियाल्न थालेँ, बिहान बेलुकीको समयभन्दा त अलि होलो नै थियो बस तर खाली सिट देखिएन । 

सिट फेला नपरेपछि आँखा गाडीभित्र सिमित रहेन । आफू पुग्ने गन्तव्यको पर्खाइमा ढोकै छेउमा उभिएर सडकतिर नियाल्दै थिएँ नजर खलासी दाजुको मुहारतिर ठोक्कियो ।  

उनी मेरो नजरको हाइलाइटमा परे, कारण थियो ‘दुई’टा मास्क ! 

मैँले अलिबेर नियालेँ । आखिर एउटा मुखमा दुई वटा मास्क किन लगाए ? मनमा सवाल अनेक । जवाफ पनि अनुमान लगाउन भ्याएँ, जाम जो थियो ।   

मनमा अनेक कुरा खेल्न थाले । एक/दुई दिन अघिदेखि नै ‘बजारमा मास्क अभाव, कालोबजारी, महंगोमा बेचियो’ लगायतका समाचारहरु आएका थिए । त्यस्तै ‘नेपाल घुमेर फर्किएका स्पेनिस नागरिकको कोरोनाका कारण मृत्यु, चीनमा कोरोना भाइरस (कोभिड–१९) का कारण मृत्यु हुनेको संख्या ३ हजार नाघ्यो’ यी कुराहरु पनि आएका थिए ।   

विश्व स्वास्थ्य संगठनले समेत नेपाललाई पनि कोरोनाको जोखिमको सूचीमा राखिसकेको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु अस्पताल) मा कोरोना आशंकामा परिक्षण गर्न आउनेको संख्या बढ्दो छ । एक÷दुई जनामा संक्रमण समेत देखिएको अवस्था छ ।   

त्यसमाथि नेपालबाट फर्किएका स्पेनिस नागरिकको मृत्यु भएपछि बहस चर्कियो । उनी पहिल्यै संक्रमित थिए या नेपालबाट संक्रमित भएर गए, सबैको चासोको विषय बनेको छ ! 

दुई दिनअघि नेपाल सरकारले पनि सभाहरु नगर्न, भीडमा नहिँड्न, सकेसम्म घरबाहिर ननिस्कन, अनिवार्य मास्कको प्रयोग गर्न भनेको थियो । कोही बुद्धिजीवी भने सरकारको आग्रहको व्यवास्ता गर्दै बेफिक्रि मुख खुला छोडेर विना मास्क हिँडिरहेका थिए । प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न त्रिवि शिक्षण अस्पताल आएका सांसदहरुको समेत मुखमा मास्क थिएन ! प्रधानमन्त्रीका शुभचिन्तकहरु समते टन्नै उपस्थित थिए अस्पतालमा । उनीहरुमध्ये कोही मास्कमा ढाकिएका थिए भने कोही उही सांसदहरुको तालमा थिए, विना मास्क । कस्तो निडर । साहसी हुन् जे होस्, मुलुक कोरोनाबाट तर्सिदा उनीहरुमा डरै देखिएन ! 

तर बजारमा मास्क नलगाउने कमै छन् । डर छ कोरोना संक्रमणको । ज्यानको माया कसलाई हुँदैन ? 

सरकारले बाहिर नहिँड भनेपनि बिहान–बेलुकी हात मुख जोर्नका लागि जागिर धाउनुपर्नेलाई भने नहिँडि सुखै छैन । जागिर गर्नैपर्यो ।   

चीनको जस्तो संस्था, कम्पनीहरु बन्द भएका छैनन्, कार्यालय खुल्ला छ, नआऔँ कसरी ? 

कोरोनाको डरले जागिर चटक्कै माया मारेर कोठैमा बसौँ भनेपनि भाडा तिर्नैपर्यो ।   

पेट पाल्नै पर्यो, बालबच्चाको विद्यालय फिस जुटाउनै पर्यो ।   

काठमाडौंको ठाउँमा तरकारी फलाउने करेसाबारी भएका घर समेत छैनन् ! 

त्यसमाथि डेरावासीको संख्या पनि उत्तिकै छ, बाध्यता जो पर्यो ।   

सागसब्जी, सामान किन्न बजार निस्कनै पर्यो ! 

मलाई लाग्यो, पक्का पनि कारण यही हुनुपर्छ, ‘दुई’टा’ मास्कको । सोधौँ कि जस्तो पनि लाग्यो, सोधिनँ । अझै नियालेँ । भित्री मास्क कालो रंगको थियो । त्यसैमाथि खप्टिएर लगाइएको थियो निलो रंगको पेपर मास्क ।   

त्यो भित्री कालो रंगको मास्कलाई नजिकबाट नियाल्दा ‘ह्यान्डमेड मास्क’ जस्तो देखिन्थ्यो, कुनै कपडाको भागलाई मास्क आकारमा मिलाएर काटिएको जस्तो ! 

धैर्य गर्दागर्दै पनि नसोधी बस्नै सकिनँ ! 

दाई, हजुरले दुई वटा मास्क किन लगाउनु भएको ?   

कोरोनाकै कारणले त होइन नि ? एकैछिन लजाए । सोचमग्न भए । कडा सुरक्षा हो रु फेरि सोधेँ ।   

बल्ल जवाफ आयो– ‘गाडीको ढोकामा उभिदा हावाले धेरै हान्छ । ओठ फुट्न थाल्यो, त्यसैले दुई वटा मास्क लगाएको हावाबाट ओठलाई जोगाउन ।’ 

तर मलाई उनको जवाफ पत्याउन गाह्रो पर्यो, कारण बजारमा मास्क अभाव ! 

त्यसमाथि ‘ह्यान्डमेड’, घरैमा आफैँले बनाएको हो भन्ने कुरामा मेरो आँखा दुईमत हुनै सकेन । त्यसैकारणले अर्को मास्कले छोपेका हुन् कि ! या त  मेरै आँखाले धाेका पाे खायाे कि ! न उनलाई सार्वजनिक स्थानमा भन्न अप्ठ्यारो लाग्यो कि । त्यसैले ओठको बहाना अघि सारेका हुन् कि ! 

हामी नेपाली चाहे सानै किन नहोस्, नयाँ नयाँ क्रियसनमा त्यसैपनि अगाडि छौँ । हामी बच्चैमा वैज्ञानिक हुन्छौँ । रेडियो लगायत अन्य प्राविधिक सामानहरु फुटाउन र जोड्न त झन् खप्पिस् छौँ, बच्चैमा जान्दछौँ ।   

एउटा मास्क बनाउनु हाम्रा लागि कुन ठुलो कुरो भयो र ? ‘बजारमा मास्क अभाव भयो, महंगो भयो’ भनेर खुलम खुल्ला हिँड्नुभन्दा घरैमा सुरक्षित तवरले सफा कपडाबाट मास्क बनाएर लगाउनु बुद्धिमानी होइन र ? कमसेकम केही हदसम्म सुरक्षित त भइन्छ ! 

खैर, उनको मास्क ‘ह्याण्डमेड’ हो या बजारिया, त्याे उनै जानून् । यदि ‘ह्यान्डमेड’ हो, घरैमा बनाएर लगाएका हुन् भने ती दाजुलाई स्यालुट ! 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *