‘राष्ट्रियतामाथिको हस्तक्षेप एउटा प्रेस नोटले पुरा हुन्छ ?’

फागुन २९, काठमाडौं । राप्रपाका सांसद राजेन्द्र लिङ्देनले प्रतिनिधिसभाको बिहीबारको बैठकमा कालापानीबाट भारतीय सेना हटाउनेबारेको संकल्प प्रस्ता सम्भावित कार्यसूचीबाट हटाएको प्रति आश्चर्य जनाएका छन् ।
संसदमा बोल्दै सांसद लिङ्देनले विपक्षीले ल्याउन नसकेको प्रस्ताव सत्तापक्षबाट आएकोमा खुशि व्यक्त गर्दै भने, ‘विपक्षीले ल्याउन नसकेको प्रस्ताव सत्तापक्षबाट आयो, राष्ट्रियतासँग सम्बन्धित विषयलाई समर्थन गरौं भनेर तयारी गरेको त्यो संकल्प प्रस्ताव नै फिर्ता भएछ ।’
भारतले कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई आफ्नो नक्समा पारेको पाँच महिना हुन लाग्दा पनि सरकारले केही नगरेको भन्दै उनले आक्रोश पोखे । ‘हाम्रो लिम्पियाधुरा, लिपुलेक र कालापानीसमेत समावेश गरेर भारतले नयाँ नक्सा जारी गर्यो । नेपालमा जनस्तरदेखि विभिन्न तहमा व्यापक विरोध भए , विरोधपछि सर्वदलीय बैठक बन्यो, संसदमा कुरा उठे, संसदीय समितिहरुमा छलफल भयो, सबै तहले तत्काल सरकारले भारत सरकारसँग कुरा गरेर आफ्नो सीमाको सुरक्षा गरोस् र नया नक्सा पनि प्रकाशित गरोस् भन्ने निर्देशन दियो । तर आज पाँच महिना पुग्न लाग्दा पनि सरकार के गरि रहेकोछ ?’ भनि उनले प्रश्न गरे ।
सबै तथ्य र प्रमाणले लिम्पयाधुरा, लिपुलेक र कालापानी नेपालको हो भनेर भनिरहँदा भारतले आफ्नो नक्सामा गाबेको पाँच महिना हुन लाग्दा समेत सरकार चुप लागेर बसेकोमा उनले आक्रोश पोखे । उनले भने, ‘के एउटा प्रेस नोट पठाउँदैमा राष्ट्रियतामाथि भएको गम्भिर हस्तक्षप एउटा नोटले पुरा हुन्छ ?’ उनको प्रश्न थियो । उनले संसदमा सोधे सरकारले अरु के प्रयास गरिरहेको छ ?








