कोरोना प्रकोप : देशभर साताव्यापी ‘लकडाउन’, अग्निपरीक्षामा देश

चैत ११, काठमाडौं । आज राजधानी काठमाडौंबाट प्रकाशित पत्रपत्रिकाले कोरोना भाइरस संक्रमणको जोखिमबाट जोगिन सरकारले देशभर लकडाउन गरेको समाचार फ्रन्टपेजमा प्रकाशित गरेका छन् । 

नयाँ पत्रिकाले कोभिड-१९ संक्रमणको जोखिमबाट जोगिन सरकारले देशैभर ‘लकडाउन’ गर्ने निर्णय गरेको समाचार प्रकाशित गरेको छ । उपप्रधानमन्त्रीको नेतृत्वमा गठित कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । निर्णयअनुसार मंगलबारदेखि एक साता (१८ गते)सम्म बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म अत्यावश्यक कामबाहेक बाहिर निस्किन पाइनेछैन ।   

लकडाउन सुरु भएपछि अब औषधोपचार, खाद्यवस्तु खरिदजस्ता अत्यावश्यक काममा बाहेक घरबाट निस्किन पाइनेछैन । त्यस्तै, अनुमतिप्राप्त सवारीसाधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्नेबाहेक सबै प्रकारका सार्वजनिक वा निजी यात्रुवाहक सवारीसाधन सञ्चालनमा पूर्ण रोक लगाउने निर्णय पनि सरकारले गरेको छ ।   

निर्णयमा सुरक्षा निकायबाट प्रयोग हुने वायुयान र तोकिएका अन्य उडानबाहेक अन्य सबै आन्तरिक व्यावसायिक उडान बन्द गर्ने उल्लेख छ । स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत्, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापनजस्ता अति आवश्यक सेवाबाहेक अन्य कार्यालय सञ्चालनका लागि आवश्यक पर्ने कर्मचारी मात्रै उपस्थित हुने व्यवस्था गरी अन्य कर्मचारीलाई आवश्यक परेका बखत तत्काल उपस्थित हुने गरी सम्बन्धित कार्यालय प्रमुखले बिदा दिने निर्णय पनि उच्चस्तरीय समितिले गरेको छ ।   

औषधि तथा स्वास्थ्य उपकरण, खाद्यवस्तु, खानेपानी, दूध, इन्धन उत्पादन गर्ने उद्योगहरूबाहेक निजी क्षेत्रबाट सञ्चालित अन्य उद्योग, कारखानामा काम गर्ने श्रमिक, कर्मचारीलाई सम्बन्धित उद्योगले बिदा दिने व्यवस्था मिलाउने पनि समितिको निर्णयमा उल्लेख छ ।   

व्यवसायीहरूले औषधि र औषधिजन्य सामग्रीको नियमित आपूर्तिको व्यवस्था गर्ने तर अभाव देखाई मूल्यवृद्धि गर्ने वा कालोबजारी, जम्माखोरी गर्ने वा लुकाउने वा आपूर्तिमा अवरोध गर्ने व्यक्तिलाई प्रचलित कानुनबमोजिम नियन्त्रणमा लिने, सामग्री जफत गरी रोगको रोकथाम र उपचारको कार्यमा सहयोग गर्ने निर्णय पनि समितिले गरेको छ ।   

संक्रामक रोग ऐन, २०२० को दफा २ को अधिकार प्रयोग गरी सरकारले यस्तो निर्णय गरेको हो । ऐनको दफा २ मा संक्रामक रोग नियन्त्रणका लागि विशेष व्यवस्था गर्नेसम्बन्धी व्यवस्था छ । उक्त दफाको उपदफा १ मा ‘नेपालभर वा त्यसको कुनै भागमा  मानिसमा कुनै संक्रामक रोग उब्जेमा वा फैलिएमा वा फैलिने सम्भावना देखिएमा नेपाल सरकारले सो रोग निर्मूल गर्न वा रोकथाम गर्न आवश्यक कारबाही गर्न सक्ने र सर्वसाधारण जनता वा कुनै व्यक्तिको समूहउपर लागू हुने गरी आवश्यक आदेश जारी गर्न सक्ने’ व्यवस्था छ  ।   

बेलायतको लन्डनमा बस्दै आएकी एक नेपाली महिलाले आफूलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि गरेको समाचार नेपाल समाचारपत्रले छापेको छ । कोभिड–१९ पोजिटिभ देखिएपछि सामाजिक अभियन्ताको कामसमेत गर्दै आएकी भगवती रानाभाट अस्पताल भर्ना भएकी हुन् । 

सामाजिक सञ्जालमा आफ्नो फोटो र स्ट्याटस पोस्ट गर्दै उनले सबैलाई सचेत बन्न पनि आग्रह गरेकी छिन् । उनले यो संक्रमण अत्यन्तै पीडादायी हुने उल्लेख गर्दै १३ दिनसम्म पनि अत्यन्तै पीडा भइरहेको बताएकी छिन्। उनले अरू सबै सचेत बनून् र यो पीडा अरूले भोग्नुनपरोस् भन्ने उद्देश्यले आफूले नै यो जानकारी शेयर गरेको बताएकी छिन्। 

लमजुङ तारकुघाटकी रानाभाटले लेखेकी छिन्– ‘१० दिनको सेल्फ आइसोलेसनपछि कोभिड–१९ सँग लड्दै छु। यो महामारी कति पीडादायक हुँदो रहेछ, आज १३ दिनसम्म पनि निको हुने छाँटकाँटै छैन। फेसबुकमा राख्ने सोच थिएन, कतै आफन्त अनि साथीभाइलाई थप भयावह बनाउला भन्ने लाग्यो तर सोचें सबैले सावधानी अपनाउन सक्नुहुनेछ। हजुरहरू सबैलाई विशेष सावधान रहन अनुरोध।’ 

शुक्रबारदेखि उनी लन्डनको ह्यारोस्थित नर्थविक पार्क अस्पतालको क्रिटिकल केयर युनिटमा उपचार गराइरहेकी छन्।उनलाई शुक्रबार घरैमा एम्बुलेन्स आएर अस्पताल लगेको बताइएको छ। पारिवारिक स्रोतका अनुसार उनी फागुन २५ गते दिउँसो लन्डनको भेन्यु फाइभमा आयोजित अन्तर्र्रािष्ट्रय नारी दिवस कार्यक्रममा सहभागी भएकी थिइन्। त्यसको भोलिपल्टदेखि उनलाई उच्च ज्वरोले सताएको थियो। 

दुई हप्ताअघि बेलायत सरकारको आग्रहलाई बेवास्ता गर्दै अन्तर्राष्ट्रिय महिला दिवस तथा एनआरएनएले आफ्नो १५औं स्थापना दिवस मनाएको थियो। उनलाई त्यही दिवसमा भाग लिएदेखि कोरोनाको संक्रमण भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । 

अन्नपूर्णले ‘के गर्न पाँइदैन ?’ शीर्षकमा समाचार प्रकाशित गरेको छ ।  

-औषधि उपचार, खाद्य वस्तु खरिदजस्ता अत्यावश्यक काममा बाहेक कोही पनि घरबाट बाहिर निस्कन पाउँदैनन् । 

-अनुमतिप्राप्त सवारी साधन, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले प्रयोग गर्ने सवारी साधनबाहेक सबै सार्वजनिक या निजी यात्रुवाहक सवारी साधन सञ्चालनमा पूर्ण रोक लाग्नेछ। 

-सुरक्षा निकायबाट प्रयोग हुने वायुयान तथा तोकिएका अन्य उडानबाहेक अन्य सबैै आन्तरिक व्यावसायिक उडान बन्द हुनेछन्। 

-स्वास्थ्य सुरक्षा, खाद्यवस्तु, दूध, खानेपानी, विद्युत्, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापनजस्ता अति आवश्यक सेवावाहेक अन्य कार्यालय सञ्चालनका लागि आवश्यक पर्ने कर्मचारी मात्र उपस्थित हुने व्यवस्था गरी अन्य कर्मचारीलाई आवश्यक परेको बखत तत्काल उपस्थित हुने गरी सम्बन्धित कार्यालय प्रमुखले बिदा दिने। 

-औषधि तथा स्वास्थ्य उपकरण, खाद्यवस्तु, खानेपानी, दूध, इन्धन उत्पादन गर्ने उद्योगबाहेक निजी क्षेत्रमा सञ्चालित उद्योग कलकारखानामा काम गर्ने श्रमिक कर्मचारीलाई सम्बन्धित उद्योगले बिदा दिने व्यवस्था मिलाउने। 

-व्यवसायीले औषधि र औषधिजन्य सामग्रीको नियमित आपूर्तिको व्यवस्था गर्ने। अभाव देखाई मूल्यवृद्धि गर्ने वा कालोबजारी गर्ने, लुकाउनेलाई प्रचलित कानुनबमोजिम नियन्त्रणमा लिने, सामग्री जफत गर्ने गरी रोगको रोकथाम र उपचारको काममा उपयोग गर्ने। 

-संक्रामक रोगको ऐन २०२० को दफा २ को उपदफा २ मा जारी आदेशको कार्यान्वयन मिलाउन सबै प्रमुख जिल्ला अधिकारीलाई स्थानीय ऐन २०२८ को पनि आवश्यकताका आधारमा प्रयोग गर्न पाउने। 

-अपहेला गर्ने वा काममा बाधा पुर्‍याउनेलाई सोही ऐनबमोजिम सजाय गर्ने। 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *