पुस्तक वितरणमा ढिलाई हुने संकेत

चैत्र २, धनगढी । नयाँ शैक्षिक सत्रमा पुस्तक वितरणमा केही समय ढिलाई हुने संकेत देखिएको छ । शैक्षिक सत्र बैशाख १ गतेदेखि नै सुरु हुने भएपनि पुस्तक वितरण भने झण्डै डेढ महिना ढिलो हुने संकेत देखिएको हो ।   

जनक शिक्षा सामग्री केन्द्र धनगढीमा एकैपटक सबै कक्षाका पुस्तक नपुग्ने भएपछि पुस्तक वितरणमा ढिलाई हुने देखिएको जनक शिक्षा सामग्री केन्द्र धनगढीका प्रमुख भूविन्द्र बोहराले बताए । उनकाअनुसार आगामी शैक्षिक सत्रदेखि सुदूरपश्चिममा कक्षा ६ को नेपाली र कक्षा ७ र ८ को अंग्रेजी कितावबाहेक अन्य सबै किताब रंगीनमा छापिँदैछन् । किताबहरु छापिने काम अझै जारी भएको र  धनगढी पुग्न पनि केही समय लाग्ने भएकाले नयाँ शैक्षिक सत्रमा पुस्तक वितरणको काम जेठ महिनाको मध्यसम्ममा जानसक्ने केन्द्रका प्रमुख बोहराको भनाई छ । कक्षा ६, ७ र ८ का रंगीन छापिनेबाहेकका नेपाली र अंग्रेजी किताबहरु भने जनक शिक्षा सामग्री केन्द्र धनगढीसँग ‘स्टक’ नै छ ।   

जनक शिक्षा सामग्रीले कक्षा ५ देखि १० सम्म पुस्तक उपलब्ध गराउँदै आएको छ । कक्षा १ देखि कक्षा ४ सम्मका किताबहरु भने निजी क्षेत्रबाट नै विद्यालयसम्म पुगिरहेका छन् । यद्यपि, जनक शिक्षा सामग्रीसम्म पनि कक्षा १ देखि ४ सम्मका पुस्तकहरु पनि ‘स्टक’ नै छन् । ‘कतैबाट माग भयो भने मात्रै हामीले कक्षा १ देखि ४ कक्षासम्मका किताबहरु उपलब्ध गराउँछौं,’ जनक शिक्षा सामग्री केन्द्र धनगढीमा प्रमुख वोहराले भने, ‘तर, निजी क्षेत्रबाट नै विद्यालयसम्म राम्रो पहुँच भइरहेकाले सरकारसंग समन्वय गरेर निजी क्षेत्रले नै साना कक्षामा पुस्तक वितरण गरिरहेको छ ।’   

Image result for नयाँ शैक्षिक सत्रमा पुस्तक वितरण

जनक शिक्षा सामग्री केन्द्रसँग अहिले पनि कक्षा ५, ९ र १० का किताबहरु छन् । तर कक्षा ६, ७ र ८ को केही अनिवार्य विषयबाहेकका किताबहरु रंगीन छाप्नुपर्ने हुँदा एकमुष्ट नआउने भएकाले समयमै वितरण गर्न गाह्रो भएको केन्द्रका प्रमुख वोहराको भनाई छ । उनले पुस्तक व्यवसायीहरुले पनि पटक–पटक आएर भन्दा पनि एकैपटक किताब लिएर जान खोजेपछि वितरण गर्ने कार्य विगतको भन्दा डेढ महिना ढिलाई हुनसक्ने बताए । ‘पुस्तक व्यवसायीहरुले पनि पटक–पटक फरक–फरक कक्षाका किताब लिन आउँदा भाडालगायतको समस्या व्यहोर्नुपर्छ भन्ने समस्या दर्शाए’ उनले भने, ‘एकमुष्ट वितरण गर्दा व्यवसायीसँगै हामीलाई पनि सहज नै हुन्छ ।’   

उनका अनुसार यस वर्ष पाठ्यक्रम विकास केन्द्रले नयाँ छापिने किताब छाप्नका लागि अनुमित दिन ढिलाई गरेको हो । जनक शिक्षा सामग्रीले गएको शैक्षिक सत्रमा बैशाख १२ गतेदेखि नै पुस्तक वितरण कार्य सुरु गरेको थियो । तर, यस वर्ष भने डेढ महिनासम्म ढिलाई हुनसक्ने केन्द्रका प्रमुख वोहराको भनाई छ । उनकाअनुसार सुदूरपश्चिममा कक्षा ६, ७ र ८ मा ५४ हजार सेट किताब आवश्यक छ । यस्तै, कक्षा ९ मा ५१ हजार र कक्षा १० मा ४९ हजार सेट किताब आवश्यक रहेको छ । केन्द्रका प्रमुख वोहराले गत वर्ष वितरण गरेको पुस्तकको आधारमा आगामी शैक्षिक सत्रमा पनि यही परिमाणमा किताब आवश्यक हुनसक्छ भन्ने अनुमान गरिएको बताए ।   

जनक शिक्षा सामग्री केन्द्रले सबै पुस्तक एकमुष्ट आइसकेपछि वितरण गर्ने  कार्य भने दुर्गम क्षेत्रबाट नै सुरु गर्ने तयारी गरेको छ । केन्द्रले गत वर्ष पनि दुर्गम जिल्लाहरुबाट पुस्तक वितरण कार्य सुरु गरेको थियो । ‘पुस्तक सबै आयो भने नयाँ शैक्षिक सत्रमा पनि दुर्गम पहाडी जिल्लाबाट नै वितरण सुरु गर्नेछौं,’ केन्द्रका प्रमुख वोहराले भने, ‘गत वर्ष पनि हामीले बाजुरा, दार्चुला, बझाङ, अछाम, बैतडी गर्दै अन्तिममा कैलाली कञ्चनपुरमा पुस्तक वितरण गरेका थियौं ।’   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *