भाइरस हटाउन कोइला खन्ने कोकोहोलो

मेघराज तामाङ 

संसार नोबेल कोरोना भाइरस (कोभिड १९) को त्रासमा छ । यसले नपछ्याएका मुलुकहरु सायदै छन् । अहिले सम्पूर्ण मुलुक एकातिर र कोरोना अर्कोतिर भएको छ ।   

निश्चित देशहरु यसबाट बिस्तारै पन्छिएर लयमा फर्किदै रहेको अवस्थामा छ । हालसम्म ५ लाख ३२ हजार २ सय ८९ जनामा यसको संक्रमण फैलिएको छ । जसमध्ये १ लाख २४ हजार ३ सय ५५ जना उपचारपछी सफल भएका छन् भने २४ हजार ९० जनाले यो भाइरसका कारण ज्यान गुमाइसकेको छ । नेपालमा समेत ३ जनामा संक्रमण फैलिएपछी नेपालीहरु अन्य देशको भयाभह स्थिति देखेर नेपालमा पनि त्यस्तो होला भनेर झनै चिन्तित छन् । 

यो अवस्थाबाट जोगाउने प्रयासमा सरकारले चैत्र ११ गते देखि नेपाललाई लकडाउनको घोषणा गर्यो । लकडाउनको अवज्ञा गर्नेहरुलाई केही ठाउँमा प्रहरीले भाटे कारबाही गरे, केहीलाई उठबस गराए, कुनै ठाउँ मेयर आफैंले लास उठाउनु भन्दा लाठी उठाउनु नै ठिक भन्दै भाटा बसाले । 

यति बेलासम्ममा हाम्रो देशमा विभिन्न प्रकारका प्रचारबाजी, कोकोहोलो मच्चिरहेको छ । केही दिनअघि यशुका अनुयायी बने कोरोना भाइरसले छुँदैन भन्दै भ्रम फैलाउने पास्टर पक्राउ परे । जुम्लाका केशवराज आचार्य पोखरामा बस्दै आएका थिए । धर्मका नाममा भ्रम र अफवाह फैलाएको भन्दै उनलाई मुद्दा चलाइएको छ ।  

शुक्रबार आजैमात्र पनि पुर्व देखि सुदुरपश्चिमसम्म अर्को हल्लाले मानिसहरुलाई वेअकुफ बनाइरहेको छ । गण्डकी प्रदेशको आकाशमा पृथ्विसम्म उज्यालो देखिने गरी अनौठो वस्तु धुवाँको मुस्लो सहित देखिए लगत्तै विष्फोट भएको खबर बाहिर आएसँगै सुदूरपश्चिममा यो हल्ला फैलिएको हो । सुदूरपश्चिमका अधिकांश जिल्लाहरुमा बिहिबार मध्यरातीदेखि घरको मूल दैलोमा खन्दा कोइला जस्तो देखिने कालो वस्तु भेटिने र त्यसको तिलक (टीका) बनाएर लाएमा कोरोना भाईरस नलाग्ने भन्दै प्रायले घरको मुलढोका अघि खनेका छन् । 

बिहिबार साँझदेखि सुरु भएको यो हल्ला संखुवासभाको खाँदबारीमा चाँही आज बिहान मात्र आइपुग्यो । खाँदबारी बाहेकका नुम बजार, वालुङ लगायत बौद्ध क्षेत्रहरुमा चाँही हिजो नै हल्ला छाइसकेको थियो । 

बिहिबार साँझको हल्ला अनुसार शुक्रबार बिहानीको उज्यालो भुँईमा नखस्तै मुलढोका अघि खनेर कोइला निकाल्नु र परिवारका सबैलाई त्यसको टिका लगाउनु भन्ने थियो । तर खाँदबारी आइपुग्दा यो हल्ला अवतारी दलाई लामाले आफ्ना अनुयायीहरुलाई कोरोनाको संक्रमणबाट जोगाउन घरको मुलढोका अघि जमिनमा अभिशेक गरी पठाएको कोइला छ । त्यसको टिका लगाउनु भन्ने थियो । 

यसरी कानकानमा हल्ला पुग्नेहरु प्रायले आफ्ना घरको मुलढोका अघि खन्न र कोइलाको टिका लगाउन बाँकी राखेनन् । मुलढोका अघि खन्दा कोइला नभेटिनु बौद्ध धर्म नमान्नेहरु हुन् । यदी अन्य धर्म मान्नेहरुको मुलढोका अघि कोइला भेटिए धार्मिक व्यक्ति रहेछन् भन्नेहरु पनि यसै हल्लाका पछि छन् । यो हल्लाले गर्दा शहरमा भरखरै घर बनाउनेहरुले सायद गाउँमा फोन गरेर मुलढोका अघि खन्न लगाए । कोइला भेटिए, टिका लगाउन अह्राए । केहीले मुलढोका अघिको पक्की ढलान समेत कडा मेहनतले तोड्न भ्याए । जेहोस्, हल्लाले कसैलाई त्रास थपियो, कसैलाई धर्मप्रतिको विश्वास जाग्यो होला…! 

तर कुरा यति मात्र हैन । यो अवाहफले एकातर्फ बौद्धधर्म प्रतिको अन्धविश्वासको परकाष्ठा देखाएको छ भने अर्कोतर्फ बौद्धधर्मको गलत प्रचारवाजी गरेर कोहीकसैले फाइदा उठाइरहेका छन् । कित लकडाउन पालना गर्न नसकेर मानिसहरु निर्वाद घुमफिरका लागि यस्तो प्रचारमा लागेका हुन् । तर धर्मका नाममा कस्ले र किन यसो गरेका होलान् ? बौद्ध धर्मकै प्रचार गरेको हो भनेपनि यस्तो विषम परिस्थितिमा कस्ले यस्तो नालायकीपन देखाए होलान् ?  

धार्मिक हिसाबमा हामी हिमाली बौद्ध परम्परा र विश्वास मान्नेहरु अहिलेको यस्तो अवस्थामा यसो गर्नु त के सोँच्न पनि सकिन्न । व्यक्तिगत रूपमा कसैले प्रार्थना, पुजा गर्न सक्छ । तर समाजलाई यसरी डोहोर्याउने कुनै बौद्ध बिचार होइन र छैन पनि । महायानी, बज्रयानीहरु, बोनहरु तन्त्रमन्त्रमा विश्वास चाहीँ गर्छन् । तर प्राकृतिक चिकित्सा, आयुर्वेद विज्ञान, ध्यान, योग जस्ता कुरा चाहीँ व्यवहारिक रूपमा नै प्रयोग गर्छन । 

दलाई लामा जो–जे होस्, तर यो प्रचार बौद्धहरुको वैैज्ञानिक विचार विरुद्धको आक्रमण हो । यसर्थ धार्मिक अतिवाद र अन्धविश्वासमा बौद्धहरुलाई मुछ्नु निन्दनिय छ । यस्तो हल्लाको पछी लाग्नु हामी र हाम्रो भविष्यको गलत बाटो रोज्नु हो । त्यसैले यस्ता हल्लाको पछि नलागौं । कागको पछि लाग्ने होइन आफ्नै कान छामौँ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *