कोभिड १९ः टीकापुर नगरपालिकाले शुरु गर्याे हटलाइन सेवा
चैत्र १६, काठमाडौं । टीकापुर नगरपालिकाले कारोना भाइरस (कोभिड– १९) को जोखिम हुन नदिन हटलाइन सेवा शुरुआत गरेको छ ।
सो भाइरसको सम्भावित जोखिमका बारेमा सरोकार समूहसित समन्वय गर्न नगरपालिकाले ०९१−५६००८८ र ०९१ −५६१०८८ नम्बर मार्फत् हटलाइन सेवा शुरु गरेको हो ।
शनिबार बसेको सर्वदलीय बैठकले सो भाइरसको जोखिमविरुद्ध सामुहिक काम गर्ने निर्णय गरेको छ ।
मुख्य राजनैतिक पार्टीका नेतृत्व सहभागि सो बैठकले लकडाउनमा दैनिक उपभोग्य वस्तुको अभाव हुन नदिन उद्योग वाणिज्य सङ्घ लगायत सरोकारवालासँग समन्वय गर्ने निर्णय समेत गरेको छ । ‘स्वास्थ्य तथा दैनिक उपभोगका वस्तुको समस्या लगायत केही भएमा नगरपालिकाले सञ्चालनमा ल्याएको हटलाइन सेवामा फोन गर्न म नगरवासीलाई आग्रह गर्दछु’, नगर प्रमुख तपेन्द्रबहादुर रावलले भने ।
बैठकले टीकापुर नगरपालिका अन्तर्गत सङघ सस्थाले राहत सामग्र्री वितरण लगायत अन्य गतिविधि सञ्चालन गर्दा एकद्वार प्रणालि मार्फत् नगरपालिकासँग समन्वय गरी वितरण गर्ने निर्णय सो बैठकले गरेको छ । बैठकले भारत लगायत अन्य मुलुकबाट जिल्लामा आएकालाई स्वास्थ्य परीक्षण गरी क्वारेन्टाइनमा बस्न अनुरोध गर्ने निर्णय समेत गरेको छ ।
‘लकडाउन अघि नगर प्रवेश गरेका सबै नागरिकलाई क्वारेन्टाइनमा बसिदिन आग्रह गरेका छौं । भोलिदेखि प्रहरीले खोजी गरी क्वारेन्टाइनमा राख्नेछन् । अटेर गर्नेलाई कारवाही हुनेछ’, उनले भने ।
नगरपालिकाले ३६ लाख को विपद् कोष समेत खडा गरेको छ । रासस