अभिनेता प्रभासले कोरोना कोषलाई दिए ४ करोड, कपिलले कति दिए ?

चैत्र १४, मुम्बई । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट बच्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गरेको कोषमा अभिनेता प्रभासले ४ करोड रुपैयाँ सहयोग गरेका छन् ।
प्रभासले ४ करोडमा ३ करोड प्रधानमन्त्री राष्ट्रिय राहत कोष र बाँकी ५०/५० लाख आन्ध्र प्रदेश र तेलंगानाको मुख्यमन्त्री राहत कोषमा दिएका हुन् ।
प्रभाससँगै ऋतिक रोशन, महेश बाबु, कपिल शर्मा लगायतले कोरोना भाइरसले निम्त्याएको संकटको घडीमा मद्दतको हात बढाएका छन् ।

चर्चित कमेडियन कपिल शर्माले पनि प्रधानमन्त्री राष्ट्रिय राहत कोषमा ५० लाख रुपैयाँ सहयोग गरेका छन्। उनले ट्वीटरमार्फत् प्रधानमन्त्री नरेन्द्र मोदीको विपत् व्यवस्थापन कोषमा उक्त रकम जम्मा गरेको जानकारी गराएका हुन् ।
कपिलले लेखेका छन्, ‘यो हामी सबै एकसाथ उभिने समय हो। कोरोनाविरुद्ध लड्न मैले सहयोगको कदम चालेको हुँ।’
त्यस्तै अभिनेता महेश बाबूले आन्ध्र प्रदेश र तेलंगाना मुख्यमन्त्री राहत कोषमा १ करोड रुपैयाँ सहयोग गरेका छन्।








