स्वर्ण पदक ल्याउन योगदान पुर्याएको भन्दै निर्वाणा गल्फ क्लबलाई सम्मानपत्र
फागुन २८, काठमाडौं । १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगितामा गल्फ खेल तर्फ ऐतिहासिक उपलब्धी हासिल गरेको भन्दै निर्वाणा कन्ट्री क्लब हेल्थ एण्ड गल्फ रिसोर्टलाई सम्मान गरिएको छ ।
धरानस्थित निर्वाणा गल्फ क्लबका खेलाडीले नेपालमा भएको १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगितामा ऐतिहासिक स्वर्ण पदक ल्याउन सफल भएकोमा नेपाल गल्फ एशोसिएशनले उक्त सम्मान प्रदान गरेको हो ।
संघका अध्यक्ष टासि घलेले १३ औं सागमा पहिलो पटक समावेश गरिएको गल्फ प्रतियोगितामा निर्वाणा गल्फ क्लबका खेलाडीले स्वर्ण जितेकाले क्लबलाई गल्फ खेलको विकास र खेलाडी उत्पादनमा योगदान पुर्याएको भन्दै सम्मान गरिएको बताए ।
सागको पुरुष गल्फ खेलमा गल्फर सुवास राईले ब्यक्तिगत स्वर्ण पदक प्राप्त गर्दा पुरुष टीम स्पर्धामा पनि नेपालले स्वर्ण पदक प्राप्त गरेको थियो । टीम स्पर्धामा सुवास सहित शुक्रबहादुर राई, टंक बहादुर कार्की र निरज तामाङ सहभागी थिए । सागमै ब्यक्तिगत तर्फ शुक्रबहादुर राईले कास्य पदक पनि प्राप्त गरेका थिए ।
धरान स्थित निर्वाणा गल्फ क्लब १ नं। प्रदेशकै एक मात्र गल्फ कोर्ष हो । १८ होल क्षमताको गल्फ कोर्षमा वर्षेनी स्थानीय तथा राष्ट्रिय तहका गल्फका टुर्नामेन्ट हुने गर्दछन् भने, स्थानीय बालबालिकालाई गल्फ खेल तर्फ आकर्षित गर्न तालिम समेत दिँईदै आएको छ ।