रेडस्टार कलेजको विजयी सुरुवात

फागुन २८, विराटनगर । अन्तर कलेज लिगकम नकआउट फुटबल प्रतियोगितामा रेडस्टार कलेजले विजयी सुरुवात गरेको छ ।  विराटनगरमा बुधबारदेखि सुरु भएको २१ वर्षमुनिको अन्तर कलेज लिगकम नकआउट फुटबल प्रतियोगितामा रेडस्टार कलेजले विजयी सुरुवात गरेको हो ।   

विराट बुद्ध स्पोर्ट्स क्लबले विराटनगरस्थित डिग्री कलेजको मैदानमा आयोजना गरेको फुटबल प्रतियोगिताको उद्घाटनका दिन भएको ग्रिनल्याण्ड र निहारिबीच बराबरी तथा रेडस्टार कलेज विजयी भएको छ ।   

प्रतियोगिताको पहिलो चरणको खेलमा विराटनगरका ग्रिनल्याण्ड कलेज र निहारिका कलेजबीच भएको खेल गोलरहित बराबरी भएपछि दुवै टिमले समान १–१ अंक बाँडेका छन् । खेलको म्यान अफ द म्याच निहारिकाका झमक मगर भए ।   

त्यस्तै दोस्रो खेलमा पथरीको रेडस्टार कलेजले विराटनगरको हिमालय दर्शन कलेजलाई ४–१ गोल अन्तरमा पराजित गर्दै विजयी सुरुवात गरेको छ । रेडस्टारका लागि ९ औं मिनेटमा ओम राईले गोल गर्दै टिमलाई अग्रता दिलाए भने ३२ औं मिनेट र खेलको अन्तिम समयमा नामसाङ लिम्बू र ४४ औं मिनेटमा विनायक लिम्बूले गोल गरेका थिए । एक मात्र सान्तवना गोल हिमालय दर्शनका लागि नारायण खड्काले गरे । खेलको म्यान अफ द म्याच रेडस्टारका नामसाङ लिम्बू भए ।   

प्रतियोगिताको उद्घाटन समारोहमा प्रमुख अतिथि विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, एन्फाका सह–महासचिव वसन्त अर्याल, नेकपा मोरङका युवा तथा खेलकुद विभाग प्रमुख पर्शुराम बस्नेत, क्लबका अध्यक्ष रोहित कोइरालालगायतले शुभकामना दिएका थिए ।   

प्रतियोगितामा ग्रिनल्याण्ड, निहारिका, रेडस्टार, हिमालय दर्शन, कान्तिपुर, कोसी मल्टिपल, बुद्ध इंग्लिस बोर्डिङ र महेन्द्र मेमोरियल एकेडेमीको सहभागिता रहेको छ । 

प्रतियोगिताको विजेताले नगद १ लाख ११ हजार र उपविजेताले नगद ७५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । सर्वोत्कृष्ट खेलाडीले नगद १५ हजार रुपैयाँका साथ १ वर्षको ५ लाख रुपैयाँको बिमा, उत्कृष्ट गोलरक्षकले नगद १० का साथ २ लाख ५० हजार रुपैयाँको १ वर्षका लागि बिमा, सर्वाधिक गोलकर्ताले नगद १० का साथ २ लाख ५० हजार रुपैयाँको १ वर्षका लागि बिमा प्राप्त गर्ने छन् । त्यस्तै उत्कृष्ट डिफेन्स र मिडफिल्डले जनही नगद १० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।   

बिहीबारको पहिलो खेल विराटनगरका कान्तिपुर र कोसी कलेज तथा दोस्रो खेल ग्रामथानको बुद्ध इंग्लिस बोर्डिङ स्कुल र दुहबीको महेन्द्र मेमोरियल एकेडेमीबीच हुनेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *