कोभिड १९ : ४६ जनाको नमुना सङ्कलन

चैत्र १८, विराटनगर । प्रदेश नं. १ बाट ४६ जनाको नमुना सङ्कलन गरिएको छ । मङ्गलवार सम्ममा १० महिलासहित ४६ जनाको नमुना सङ्कलन गरिएको सामाजिक विकास मन्त्रालय प्रदेश नं. १ का प्रवक्ता डा.सुरेश मेहताले जानकारी दिए । उनका अनुसार झापाबाट ५ जना, मोरङबाट ७ जना, सुनसरीबाट २५ जना, धनकुटाबाट १ जना, तेर्हथुमबाट २ जना, सोलुखुम्बुबाट २ जना, उदयपुरबाट १ जना र पाँचथरबाट ३ जना गरी ४६ जनाको नमुना सङ्कलन गरिएको हो ।
सङ्कलन गरिएका नमुना मध्ये ३० जनाको रिपोर्ट नेगेटिभ आएको छ भने १६ जनाको रिपोेर्ट आउन बाँकी रहेको प्रवक्ता डा. मेहताले जानकारी दिए । यस्तै प्रदेश नं. १ मा आज (मङ्गलवार) सम्ममा ७ जना आईसोलेसनमा भर्ना भएका छन् । ४ महिलासहित ७ जना आईसोलेसनमा रहेको मेहताले बताए । उनका अनुसार सोलुमा १, उदयपुरमा २, पाँचथरमा ३ र ताप्लेजुङबाट १ जना आईसोलेसनमा भर्ना भएका हुन् । आईसोलेसनमा भर्ना भएका मध्ये २ जना डिस्चार्ज भएको प्रवक्ता डा. मेहताले बताए ।
प्रदेश नं. १ मा हाल सम्म ३५ वटा अस्पतालका ३ सय ६१ वटा आईसोलेसन बेड तयारी अवस्थामा रहेका छन् । यस्तै सामाजिक विकास मन्त्रालयले प्रदेशका जिल्ला स्वास्थ्य कार्यालय, स्थानीय तह, सुरक्षा निकाय तथा अस्पतालहरुलाई कोरोना नियन्त्रण सम्बन्धी विभिन्न सामाग्रीहरू वितरण गरेका छन् ।

मन्त्रालयले पीपीई सेट २ सय ९७ थान, आईआर थर्ममिटर १६ थान, सर्जिकल मास्क २२ हजार १ सय ५० थान, ग्लोबल १८ हजार ५ सय २६ थान, ह्याण्ड सेनिटाईजर ८ सय १८ थान र पीपीई गाउन ३५ वटा वितरण गरेको प्रवक्ता डा. मेहताले जानकारी दिए ।
यसैबिच प्रदेश नं. १ का स्वास्थ्य संस्थाहरूले फिबर क्लिनिक बन्द गरेको भन्दै अविलम्ब सञ्चालन गर्न मन्त्रालयले निर्देशन दिइएको छ । सामाजिक विकास मन्त्रालयले आकस्मिक र बिफर क्लिनिक बाहेकका सेवा बन्द गर्न निर्देशन दिए पनि कतिपय स्वास्थ्य संस्थाहरूले बिफर क्लिनिक पनि बन्द गरेको गुनासो आएपछि अविलम्ब सञ्चालन गर्न मन्त्रालयले निर्देशन दिएको हो ।








