दशगजामा २९८ अलपत्र, म्याग्दीमा अलपत्र परेका करीब सात सय मजदूरलाई घर पठाइयो

फाइल तस्विर
चैत्र १८, काठमाडौं । स्वदेश फर्किंदै गरेका दुई सय ९८ जना नेपाली दशगजामै अलपत्र परेका छन् । कोरोना भाइरस (कोभिड– १९) को सम्भावित जोखम हुन नदिन भएको लकडाउनका कारण उनीहरु अलपत्र परेका हुन् ।
सङ्घीय सरकार र प्रदेश सरकारले सीमामा अलपत्र परेकालाई स्वदेश प्रवेश गराउने निर्णयसहित सबै जिल्ला प्रशासन कार्यलयमा परिपत्र गरेको भए तापनि रुपन्देही जिल्ला प्रशासन कार्यालयले तदारुकता देखाउन नसक्दा समस्या सिर्जना भएको जनाइएको छ ।

क्वारेन्टाइनको पर्याप्तता नहुँदा उनीहरुलाई केही समय रोक्नु परेको रुपन्देहीका प्रजिअ महादेव पन्थले बताएका छन् । ‘लकडाउन छ भन्ने थाहा पाउँदा पाउँदै उहाँहरु आउनुभएछ तर आइसकेपछि व्यवस्थापन गर्नुपर्ने हाम्रो जिम्मेवारी हो’, उनले भने, ‘हामीले उहाँहरुको स्वास्थ्य जाँच गरेर, क्वारेन्टाइनको व्यवस्थापन गरेर मात्रै प्रवेशको व्यवस्था गर्दैछौँ । सङ्ख्या धेरै छ त्यसैले ढिला भएको हो ।’
खुला आकाशमुनि दसगजामा बसेका नेपाली अनधिकृत रुपमा नेपाल प्रवेश नगरून् भनेर सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले उनीहरुको सुरक्षा गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीले बताए । उनले भने, ‘आदेश आएपछि प्रवेश दिने हो । रातभरि हामी उहाँहरुकै सुरक्षाका लागि दशगजामै छौँ ।’
नेपाल भारत मैत्री समाजका अध्यक्ष डा शान्तकुमार शर्माका अनुसार तीन दिनदेखि सुनौलीमा अलपत्र परेका नेपाली मङ्गलबार साँझ नेपाल प्रवेश पाउने भन्दै दसगजामा आएका थिए तर दसगजामा आउँदा उनीहरुलाई फेरि रोकियो । उनले भने, ‘उनीहरुलाई भारतीय नगर पञ्चायतले खान–बस्नको व्यवस्था गरेको थियो । एक्कासि खबर पठाइएछ । अनि उनीहरु सुनौलीमा तीन दिनदेखि बस्दै आएको विद्यालय भवन छाडेर आए । यता दसगजाबाट प्रवेश दिइएन । रातभर खुल्ला आकाशमुनि बस्न बाध्य छन् ।’
दशगजामा अलपत्र पर्ने विभिन्न जिल्लाको रहेको सशस्त्र प्रहरी बल डण्डाका प्रहरी नायब उपरीक्षक मानबहादुर शाहीले जानकारी दिए । उनका अनुसार अर्घाखाँचीका १३३, गुल्मीका ७१, रुपन्देहीका २२, कपिलवस्तुका १०, बाँकेका आठ, धादिङका दुई, बाराका एक, प्यूठानका चार, पाल्पाका १५, तनहुँका सात, बाग्लुङका चार, चितवनका १९, नवलपरासीका एक, स्याङ्जाका एकजना रहेका छन् ।
यता म्याग्दीमा अलपत्र परेका करीब सात सय मजदूरलाई घर पठाइएको छ । म्याग्दीमा सञ्चालित विभिन्न विकास आयोजनामा कार्यरत मजदूरलाई सम्बद्ध निर्माण व्यवसायीमार्फत यातायातका साधन व्यवस्थापन गरेर घर पठाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
सोमबार ४४२ र आइतबार २४७ मजदूरलाई गृहजिल्ला पठाइएको सहायक प्रजिअ महेश सुवेदीले जानकारी दिनुभयो । घर पठाइएका मजदूरमा विराटनगर, पोखरा, काठमाडौं, मकवानपुर, झापा, कैलाली, दाङ, बाँके, सिन्धुपाल्चोक, बर्दिया, उदयपुर, स्याङजा, पर्सा र वीरगञ्जका छन् । गृह मन्त्रालयको परिपत्रअनुसार ठेकेदार कम्पनीले घरसम्म पु¥याउने व्यवस्था मिलाएपछि प्रशासनले त्यहाँसम्म जाने सवारीसाधनलाई पास दिएको सहायक प्रजिअ सुवेदीले बताए । अझै केही आयोजनाका मजदूरलाई घर पठाउनका लागि सम्बद्ध निर्माण कम्पनीले सम्पर्क गरेका प्रजिअ ज्ञाननाथ ढकालले बताए ।
लकडाउन कार्यान्वयनलाई प्रभावकारी बनाउन चैत ११ गतेदेखि म्याग्दीमा स्थानीय प्रशासनले चैत २५ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ । लकडाउन र निषेधाज्ञाका कारण म्याग्दीमा सञ्चालित जलविद्युत्, प्रसारण लाइन, सबस्टेशन, सडक, भवन र नदी नियन्त्रण योजनामा काम गर्न आएका देशका विभिन्न जिल्लाका मजदूर अलपत्र परेका थिए ।
अन्नपूर्ण गाउँपालिकाको नारच्याङस्थित ११० मेगावाट क्षमताको नीलगिरि र नीलगिरि क्यासकेट, ४२ मेगावाटको मिस्त्री, १४ मेगावाटको घारखोला जलविद्युत् आयोजनाको निर्माण रोकिएको प्रवद्र्धकले जनाएका छन् । रघुगङ्गा गाउँपालिकामा ४० मेगावाट क्षमताको राहुघाट र ३७.५ मेगावाटको राहुघाट मङ्गले जलविद्युत् आयोजना निर्माणाधीन छन् ।
मालिका गाउँपालिकामा २५ मेगावाट क्षमताको दरवाङ म्याग्दीखोला जलविद्युत् आयोजना, डाँडाखेत र रातोढुङ्गा सबस्टेशन निर्माणाधीन छन् । बेनी–जोमसोम, पोखरेबगर–घार, बेनी–दरवाङ, रत्नेचौर–बेनी सडक आयोजनाको काम पनि ठप्प भएको निर्माण व्यवसायी सङ्घका अध्यक्ष नारायण जिसीले बताए ।








