क्याम्पबाहिर निस्कँदा कतारबाट फर्काइए २५० नेपाली

चैत ४, काठमाडौं । कतारको औद्योगिक क्षेत्र (सनैया) मा बस्ने पोखराका अनिलकुमार सुनार शुक्रबार दिउँसो साढे ३ बजे किनमेलका लागि आफ्नै गाडी लिएर कोठाबाट निस्किए ।  

नेपाली खाना सप्लाई गर्ने क्याटरिङ चलाएका उनलाई शनिबारका लागि चाहिने सरसामानको जोहो गर्नु थियो । किनमेल गर्न नपाउँदै उनीलगायत करिब २ सय ५० नेपाली डिपोर्ट गरिए । उनीहरू किन डिपोर्टमा परे ? सोमबारमात्र काठमाडौं ल्याइएका सुनारलगायतको ठूलो जमात अलमलमा थियो ।  

शुक्रबार गाडीमा सुनार र उनका काका थिए । कतारी सुरक्षाकर्मीले सनैयास्थित ३८ नम्बर कचरा मार्केट नपुग्दै बाटोमा रोके र गाडीबाट बाहिर निस्कन लगाए । उनले प्रहरीलाई कतारी परिचयपत्र, गाडीको इस्तामारा र लाइसेन्स देखाए । 

null

‘अहिले कोरोनाको चेक भइरहेको छ । गाडी तेरो हो । मान्छे तैँ नै हो । तँ जहाँ गए पनि फर्केर यही आउने हो । गाडी साइड गर । तँ हामीसँग हिँड्,’ कतारी प्रहरीले उनलाई भन्यो । उनले गाडीलाई बाटोकै छेउमा साइड लगाए ।‘कोरोनोको बिगबिगी चलेको छ । अरू क्याम्पबाट पनि चेक गर्न लिएर गएको होला भन्ठान्यौं । ठीक छ भन्दै गाडी बाटोमै साइड लगाए,’ काठमाडौं उत्रिएपछि उनले कान्तिपुरसँग भने, ‘प्रहरीको गाडीभित्र हालेपछि दुई हातलाई पछाडि लगेर हतकडी लगाइदियो । मोबाइल स्विच अफ गरिदियो ।’ कान्तिपुरमा समाचार छ ।  

उनले कसैलाई सम्पर्क गर्न पाएनन् । प्रहरीको भ्यान ग्रान्ड मल मार्केटमा गएर केहीबेर राखेपछि उनलाई सनैयाको २ नम्बरस्थित डिपोर्टटेसन सेन्टर (सफर जेल) मा लगेर राखिदियो । त्यो जेलभित्र धमाधाम पक्राउमा परेका नेपाली, बंगाली, पाकिस्तानी र इथोपियनलाई ल्याइरहेको थियो । जेलभित्र एकैछिनमा झापाको काँकडभिट्टाका कृष्ण भट्टराईसहितको टोली आइपुग्यो । ४६ वर्षीय भट्टराई दुई वर्षदेखि वकिल ट्रेड सर्भिस कम्पनीको फोरम्यान थिए । उनी सल्वारोडमा तरकारी किन्न गएका थिए । 

‘मान्छे समात्न प्रहरीले ८-१० वटा बस लिएर गएको रहेछ । बाटोमा जो जो भेट्छ । सबैलाई बसमा हालेर ल्यायो । ती सबै बस कामदारले भरिएका थिए,’ उनले थप जानकारी दिए, ‘किनमेल गरेर कामदारलाई ल्याइरहेको रेड्को अलमान कम्पनीको बसलाई त क्याम्पतिर छिर्न नै दिइएन । बाटोबाटै घुमाएर प्रहरी थानाभित्र ल्यायो ।’ 

उनीहरूलाई राखिएका जेलका सबै भवनहरू शुक्रबार समातिएका कामदारले भरिएका थिए । ‘मान्छे कति थिए कति,’ अल वन्दरी इन्जिनियरिङ कम्पनीमा काम गर्ने धनुषाका अशेश्वर खत्वेले भने, ‘कोठामा नअटेर बरन्डामा राखिएको थियो । मान्छेलाई आँखाले हेरेर भ्याउँदैन्थ्यो, त्यत्रा मान्छे थिए । हजारभन्दा बढी थिए होला ।’ 

मान्छे धेरै भएर होला, प्रहरीले थालमा समेत खाना खुवाउन सकेनन् । ‘लामो प्लास्टिकलाई भुइँमा बिछ्याइएको थियो । त्यसमाथि भात हाल्दै जान्थ्यो । हामीलाई प्लास्टिकको दायाँबायाँ लाममा राखिएको थियो । जसले जति पाउँछ । त्यति खान्थ्यौं,’ भट्टराईले भने, ‘प्रहरीलाई भित्र कति कैदी छ भन्ने नै थाहा भएन । बेडसिटकै प्लास्टिकलाई च्यातेर सुत्नुपर्‍यो ।’ 

आइतबार रात परेपछि भने सबैलाई कोठाबाट एक–एक गरी निकाले । ‘बाहिर ल्याएर घुँडा खुम्चाएर बसाले । मसँगै भएको भाइले हामीसँग खाने पैसा पनि छैन । घर कसरी जाने भन्दा प्रहरीको हाकिमले त्यो तेरो समस्या हो । तिमीहरूको सबै पैसा तेरो एकाउन्टमा हालिदिन्छौं । पैसा एम्बेसीमा गएर माग्नु भन्यो,’ जनकपुरको रामानन्द चोकका रन्धीरकुमार साहले भने, ‘जेलको चउरमा पुलिसको घेराभित्र राखेको छ । त्यसपछि ७/८ वटा बसमा सबैलाई पालैपालो चढाए । एउटा भ्यानमा हाम्रो सामान र दुई जना युवती पनि थिइन् । अगाडि तीन, पछाडि तीनवटा रातो गाडीको पुलिस र दुई साइडमा अल्फजा पुलिस र बीचमा हामी चढेको बस थियो । बसमा झन्डै दुई सय ५० नेपाली कामदार थिए । ठूलो अपराध गरेको कुख्यात अपराधी जसरी सुरक्षा दिएर हामीलाई सिधा एयरपोर्टमा ल्याए ।’ रातो गाडीको प्रहरीले कतारको आन्तरिक सुरक्षाको बन्दोबस्ती गर्छ भने अल्फजाले आप्रवासी कामदार मामिला हेर्छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *