मनकामनालाई उपाधि

फागुन २५, काठमाडैं । मनकामना स्कुलले प्रथम अन्तरविद्यालय सेभेन ए साइड मेयर कप छात्र फुटसल प्रतियोगिताको उपाधि आइतबार जितेको छ ।
आरुबारी युवा क्लबद्वारा आयोजित प्रतियोगिताको फाइनलमा मनकामनाले सांग्रिला पब्लिक स्कुललाई सडन डेथमा पराजित गर्यो । निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । उपाधिसंगै मनकामनाले २५ हजार नगद पुरस्कार हात पार्यो भने सांग्रिला पब्लिक स्कुलले १५ हजार नगद पुरस्कारमा चित्त बुझायो ।
माकलबारीस्थित मनकामना फुटसलमा भएको प्रतियोगितामा सांग्रिलाका राहुल तामाङ उत्कृष्ट खेलाडी घोषित भए । सांग्रिलाकै साम्गेल लामा सर्वाधिक गोलकर्ता, मनकामनाका कौशल लोहनी उत्कृष्ट गोलरक्षक, मनकामनाका अंकित केसी उत्कृष्ट डिफेन्डर र मनकामनाका सुमन लामा उत्कृष्ट प्रशिक्षक बने । सांग्रिलाले अनुशासित टिमको उपाधि हात पार्यो ।

विजेतालाई गोकर्णेश्वर नगरपालिका मेयर सन्तोष चालिसे, आयोजक क्लबका अध्यक्ष फुर्साङ लामा तामाङ, मुक्तिनाथ विकास बैंक जोरपाटी शाखाकी प्रबन्धक निरु लामालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । तीनदिने प्रतियोगितामा विभिन्न १२ विद्यालयका १५ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।
अमृत र पाटन सेमिफाइनलमा
अमृत साइन्स क्याम्पस र पाटन बहुमुखी क्याम्पस आठौं राष्ट्रव्यापी त्रिवि बीएससी सीएसआईटी कप टी– २० क्रिकेट प्रतियोगितामा आइतबार सेमिफाइनल प्रवेश गरेका छन् ।
अमृतले प्राइमलाई ७ विकेटले पराजित ग¥यो । पहिले ब्याटिङमा उत्रेको प्राइमले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै ७८ रन बनायो । प्राइमका श्रृजल मानन्धरले २६ रन जोडे । जवाफमा अमृतले १२।३ ओभरमा ३ विकेट क्षतिमा लक्ष्य भेटायो । अनुराग घिमिरेले २७ स्कोर गरे ।
अर्को खेलमा पाटनले आयोजक न्यु समिट कलेजलाई ६० रनले हरायो । पाटनले ७ विकेट क्षतिमा १ सय ३१ रन जोड्यो । हिमाल ज्ञवालीले ३७ रन बनाए । न्यु समिट ७ विकेट गुमाउदै ७१ रनमा अलआउट भयो । किरण पोखरेलले २२ रन जोडे ।
उक्त खेलसंगै सेमिफाइनल समीकरण पूरा भएको छ । सेमिफाइनलमा अमृतको भेट पाटनसंग हुने छ भने एमेडेमियाले भक्तपुरको सामना गर्ने छ ।








