धार्चुलामा अलपत्र नेपालीलाई फर्कने प्रबन्ध मिलाऊँः देउवा
चैत १६, काठमाडौं। काँग्रेस सभापति शेरबहादुर देउवाले दार्चुलासँग जोडिएको भारतीय सीमा धार्चुलामा रहेका नेपालीहरूलाई तत्काल नेपाल प्रवेशको प्रबन्ध गर्न माग गरेका छन्। देउवाले सामाजिक सञ्जालमार्फत भारतीय सीमा धार्चुलामा अलपत्र परेका नेपालीहरूलाई आवश्यक प्रक्रिया पुरा गरेर नेपाल प्रवेशको प्रबन्ध मिलाउन सरकारसँग माग गरेका हुन्।
कोरोना भाइरसको जोखिमका कारण भारतबाट फर्किएका नेपाली नेपाल प्रवेश नपाएर सीमा क्षेत्रमा बिचल्ली परेका छन्। भारतको विभिन्न सहरबाट फर्किएका उनीहरू केही दिनदेखि धार्चुलामा बिचल्ली परेका छन्। सरकारले उनीहरूलाई नेपाल प्रवेश दिन कुनै प्रक्रिया अघि नबढाएपछि आइतबारदेखि उनीहरू सीमा क्षेत्रमा नेपाल प्रवेशको मागसहित नारा जुलुस गरिरहेका छन्।
‘आफ्नो देशमा आउन पनि नारा जुलुस गर्नुपर्ने यो के हो? दार्चुलाको सदरमुकाम पारी भारतको धार्चुलामा रहेका सयौँ नेपालीहरूलाई आवश्यक प्रक्रिया पुरा गरेर तत्काल नेपाल आउने वातावरण बनाउन म सरकारसँग जोडदार माग गर्दछु,’ देउवाले ट्विटरमा भनेका छन्।