विद्यालयलाई सहयोग गर्न च्यारिटी फुटबल, गोर्खा भेट्रान विजयी

चैत २, धरान । धरानका दुई विद्यालयलाई आर्थिक सहयोग गर्ने उद्देश्यका साथ आयोजित च्यारिटी फुटबलमा गोर्खा भेट्रान विजयी भएको छ । धरानको पूर्वाञ्चल बहिरा विद्यालय र सुस्त मनस्थिति बालकल्याण विद्यालयलाई आर्थिक सहयोग जुटाउन प्रतियोगिता आयोजना गरिएको हो ।   

गोर्खा भेट्रान युकेले शनिबार धरान १६ स्थित रंगशालामा आयोजना गरेको प्रतियोगितामा धरान भेट्रान फुटबल क्लबलाई २–१ गोल अन्तरले हराउदै गोर्खा भेट्रान विजयी बन्यो । गोर्खा भेट्रानको लागि दुवै गोल झविन्द्र लिम्बुले गरेका थिए । उनले पहिलो हाफको २० औं मिनेटमा पहिलो गोल गरे भने दोस्रो हाफको २२ औं मिनेटमा विजयी गोल गर्दै आफनो टीमलाई बिजयी गराउन सफल भए । 

यता धरान भेट्रानको लागि जनक राईले एक गोल सान्त्वना गोल फर्कापनि त्यो जितका लागी पर्याप्त भएन । उनले दोस्रो हाफको ५ औं मिनेटमा गोल गरेका थिए । खेलमा धरान भेट्रानबाट धरानका मेयर तिलक राई, एन्फा प्रदेश १ अध्यक्ष किसोर राईसमेत  मैदानमा उत्रिएका थिए । 

मैत्रीपुर्ण च्यारिटी फुटवल खेलका विजेता टीमलाई ट्रफी र मेडल प्रदान गरिएको थियो ।  कार्यक्रमका प्रमुख अतिथि तथा एन्फा १ नं प्रदेशका अध्यक्ष किसोर राईले खेलाडीहरुलाई मेडल तथा ट्रफी प्रदान गरेका थिए । 

यसैबीच पूर्वघोषित कार्यक्रम अनुसार एफसि गोर्खा भेट्रान युकेले धरान १६ का दुवै विद्यालयलाई आर्थिक सहयोग पनि प्रदान गरेको छ । दुवै विद्यालयलाई क्लबले ७ लाख २० हजार रुपैया प्रदान गरेको छ । एउटा विद्यालयलाई ३ लाख ६० हजारको दरले सहयोग पाएको हो । 

अपांगता भएका विद्यार्थीहरु अध्ययन गर्ने दुवै विद्यालयलाई आर्थिक, भौतिक लगायत थुप्रै समस्या भएकाले गोर्खा भेट्रानले मैत्रीपुर्ण खेलको टिकट र आफना सदस्यहरुको मद्दतले युकेबाट संकलन गरेको पैसा दुवै विद्यालयलाई प्रदान गरेको एफसि गोर्खाका मेनेजर एवं पूर्वब्रिटिश बद्रीकुमार सुनुवारले बताए । 

पूर्वाञ्चल बहिरा विद्यालयकी प्रिन्सिपल रेनुका बुढाथोकीले फुटबल खेलेर नेपालीहरुले नै सहयोग गरेकोमा खुशी व्यक्त गरेकी थिइन् । सुस्त मनस्थितिकी प्रिन्सिपल आरती थापा कार्कीले पनि ठूलो सहयोग भएको भन्दै रकम विद्यार्थी र विद्यालयको हितमा सदुपयोग गर्ने बताइन् ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *