भारतबाट नेपाल आएका ३१ जना जोगबनीमा अलपत्र

चैत्र ११, विराटनगर । भारतबाट नेपाल आएका ३१ जना जोगबनीमा अलपत्र परेका छन् । सरकारले लकडाउन घोषणा गरेसँगै भारतबाट नेपाल आएका ३१ जना विराटनगरको जोगबनीमा अलपत्र परेका हुन् ।
भारतको विहारबाट आएका ४४ वर्षीय खड्ग बहादुर बस्नेत बिहान ९ बजे विराटनगरको नाका जोगबनी आइपुगे । उनी खोटाङ हलेसीका हुन् । उनलाई जोगबनी आईपुग्दासम्म थाहा थिएन नेपाल सरकारले नेपाललाई लक डाउनको घोषणा गरेको छ भन्ने, उनी कष्ट गरेर भारतबाट त नेपाल आइपुगे, आफ्नो मतृभूमीमा पाइला टेक्दा जति खुसी महसुस गरेका थिए, उनले त्यति नै पिडा बोध भएको सुनाए ।
उनले भने ५५ घण्टा देखि म र मेरा साथीहरूले रेलमा खाना खाएका छैनौ, नेपाल त आइपुग्यो तर बिहान ९ बजे देखि चिउरा र चिया बाहेक केही खान पाएका छैनौँ । उनको अनुसार उनी र उनका साथी खोटाङबाट तिहार भन्दा अगाडी रोजगारीका लागि भारतको विहार पुगेका थिए । हिँउदभरी भारतमा काम गरेर बर्खाको खेती र बर्खा खाने खाद्यान्न जोहो गर्न गाउँ फर्कने गरेको खड्काले बताए ।

उनीहरूको यो पुर्ख्यौली पेसा जस्तै बनिसकेको उनले सुनाए । उनले भने, कोरोना भनेको सुनेको मात्रै हो तर हामीसँग कोरोना छैन हामीलाई यस्तो थाहा भएको भए १५ दिन अगाडी नै घर फर्कने निधो हुन्थ्यो ।
उनलाई लक डाउन भनेको पनि थाहा नभएको बताए, तर उनलाई यति थाहा थियो लक डाउन भनेको नेपाल बन्द जस्तै हो ।
उनी जस्तै जोगबनीमा अलपत्र परेका विराटनगर २ का डम्बर देव शाह १५ दिन अगाडी भारतको कलकत्ता गएका थिए । उनी सुगरका बिरामी रहेको उनले सुनाए । उपचार गर्न कलकत्ता पुगेका शाहले कोरोना भाइरस सङ्क्रमणको त्रासको कारण उपचार पनि नगराई नेपाल फर्केका थिए ।
उनी पनि जोगबनी ९ बजे बिहान आइपुगेका थिए । उनले भने ९ बजे जोगबनी आइपुगेको साँझको ४ बजिसक्दा पनि हामीलाई के गर्ने भन्ने टुङ्गो दिँदैनन् । अर्का भारतको मेदान्त अस्पतालबाट बिरामी ल्याएका विना राईले थपिन हामीलाई अभर पार्छन होला नेपाल सरकारले ? घरमा परिवार चिन्ताले फोन गरेका गरेकै छन् ।
उनीसहित भारतबाट आएका ३१ जना विराटनगरको जोगबनीमा बिहानको ९ बजे देखि अलपत्र परेका हुन् ।
सरकारले मङ्गलवारबाट गरिएको लक डाउनका कारण र कोरोना भाइरस सङ्क्रमण त्रासका कारण ती भारतबाट आएका नेपालीहरूलाई क्वारेन्टाइनमा राख्ने या घर पठाइने दुबिधामा रहेको जोगबनी क्षेत्रमा खटिएका सुरक्षाकर्मीले जानकारी दिए ।








