क्लिन कठारको अनुकरणीय काम, कोरोना बारे जनचेतना बाँड्दै

चैत ८, चितवन । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको जोखिमबाट बच्न सचेतनामूलक कार्यक्रम अघि बढाइएको छ । खैरहनी नगरपालिकाको कठार पर्यटन विकास समिति अन्तर्गतको क्लीन कठार नामक संस्थाले यो रोगबाट बच्न उपायका बारे प्रचार प्रसारका मार्फत सचेतना फैलाउन सुरु गरेको हो ।
खैरहनी नगरपालिका वडा नम्बर १० र ११ का गाउँ गाउँमा कोरोनाबाट बच्न अपनाउनु पर्ने सावधानीका बुँदाहरू लेखिएको पर्चा, पम्प्लेट बाँड्नुका साथै चोक चोकमा ब्यानर टाँसिएको कठार पर्यटन विकास समितिका अध्यक्ष लीलाराज गुरुङले बताए । सञ्चार माध्यमको पहुँच सबै ठाउँमा पुग्न नसक्ने भएकाले ग्रामीण भेग प्रचार प्रसार स्वरूप टेम्पलेट वितरण गर्नुका साथै व्यानर टाँसिएको उनले जानकारी दिए ।
हेलचक्र्याईका कारण यो रोगले ज्यान जान सक्छ समितिका अध्यक्ष गुरुङले भने – साङ्केतिक रूपमा सन्देश प्रवाहका लागि यो कामले सहयोग पुग्ने विश्वास छ । नेपालमा कोरोनाको जोखिम रहेको हुँदा यसमा चनाखो भई सावधानी अपनाउनु पर्ने कठार पर्यटन विकास समितिले जनाएको छ ।

सो समिति अन्तर्गतको क्लीन कठार नामक संस्थाले हरेक शनिवार आफ्नो क्षेत्र भित्र सरसफाइ गर्दै आएकोमा यस साताको शनिवार अर्थात् आज कोरोनाको सचेतना फैलाइएको समितिका अध्यक्ष गुरुङले बताए । टेम्पलेट वितरणसँगै व्यानर टाँस्ने काममा क्लीन कठारका सम्पूर्ण सदस्यहरूको उपस्थिति रहेको थियो ।








