उपत्यकामा १२० आईसीयू र १ हजार आइसोलेटेड बेड बनाउने सरकारको निर्णय
चैत्र, ३ काठमाडौंं । सरकारले काठमाडौं उपत्यकामा १२० आईसीयू बेड र १ हजार आइसोलेटेड बेड तयार गर्ने निर्णय गरेको छ । उच्चस्तरीय समन्वय समितिको सोमबार बसेको बैठकले उपत्यकामा १२० आईसीयू र १ हजार आइसोलेटेड बेड बनाउने निर्णय गरेको हो।
यस्तै सरकारले प्रदेश तथा स्थानीय तहसँग समन्वय गरेर उपत्यका बाहिर १०० आईसीयू बेड तयार गर्ने भएको छ ।
सरकारले कोरोना संक्रमण रोकथामका लागि उपत्यकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, कीर्तिपुरको आयुर्वेद अस्पताल, नेपाली सेनाको अस्पताल, सशस्त्र प्रहरीको अस्पताल, वीर अस्पताल र पाटन अस्पतालमा २० २० वटा आईसीयू बेड तयार गरिने जनाएको छ ।
यस्तै उपत्यकामै १ हजारसम्म आइसोलेटेड बेड बनाउने पनि निर्णय भएको छ । आयुर्वेद अस्पतालमा २००, खरीपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा २२०, टेकु अस्पतालमा १००, पाटन अस्पतालमा ७० र नेपाल आर्मी र प्रहरीको अस्पतालमा १००, तेलकोटस्थित खानेपानी कार्यालयमा ६०, इचंगुनाराणस्थित सुकुम्बासी आपवासमा २८० आइसोलेटेड बेड बनाइने निर्णय भएको छ ।