१२ घरधुरीलाई निःशुल्क विद्युत् मिटर बक्स वितरण

चैत ७, बागलुङ । सामाजिक संस्था घुम्टे युवा परिवार गलकोट नगरपालिका ७ मल्मको पहल तथा व्यवस्थापनमा वडा भित्रका १२ विपन्न घरधुरीलाई केन्द्रिय विद्युतको मिटरबक्स र एमसिबी वितरण गरिएको छ ।
मल्म सिरबारेका मन बहादुर दमाई, दुर्गा बहादुर दमाई, डिल बहादुर दमाई, झेडे दमाई, जुना दमाई, तिले दमाई, सुरेश सुनार, धन बहादुर दमाई, मेहरसिंह सुनार र झिर्काका पृथ बहादुर माझी, शिवलाल दर्जी र श्रीप्रसाद रानालाई मिटर बक्स उपलब्ध गराईएको घुम्टे युवा परिवारका अध्यक्ष थम्मन थापा सन्देशले जानकारी दिए।
वडा नं ७ को समन्वय तथा नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रको सहकार्यमा मिटरबक्स उपलब्ध गराईएको अध्यक्ष थापाले बताउनु भयो । नेपाल विद्युत प्राधिकरणको विपन्न परिवारलाई निशुल्क मिटर बक्स उपलब्ध गराउने योजना अन्तर्गत संस्थाको कार्यालयमा आयोजित कार्यक्रममा गलकोट नगरपालिका वडा नं ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले १२ घर परिवारलाई मिटर बक्स हस्तान्तरण गरेका हुन् ।

मिटर बक्स उपलब्ध गराउन संस्थाले कागजी प्रकृया मिलान गरिदिएको थियो भनें नेपाल विद्युत प्राधिकरणको कार्यालयमा सम्पुर्ण व्यवस्थापनमा सहयोग महिला जागरण केन्द्र मल्मका अध्यक्ष ललिता थापाले गरेका थिए । मिटर बक्स प्राप्त गरेपछि उनीहरु खुसी भएका छन । घुम्टे युवा परिवारले उज्यालोमा बस्न व्यवस्था गरिदिएको भन्दै उनीहरुले धन्यवाद समेत ज्ञापन गरेका छन ।
मिटर बक्स हस्तान्तरण कार्यक्रममा बोल्दै वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले कल्वले स्थानीय स्तरमा सामाजिक क्षेत्रमा पुराएको योगदानले समृद्व समाज निर्माणमा भुमिका खेलेको बताए । मिटर बक्स उपलब्ध हुनुले विपन्न परिवारको जीवन स्तरमा सहजता हुने वडा अध्यक्ष थापाले उल्लेख गरे। मिटर बक्स वितरण कार्यक्रममा संस्थाको कार्य समिति पदाधिकारीहरु, सल्लाहकार, जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।








