सभापति देउवाको आग्रहः ‘ज्यालादारी श्रमिकका लागि राहत प्याकेज ल्याऊ’
चैत्र १४, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ज्यालादारी श्रमिकका लागि तत्काल राहत प्याकेज ल्याउन सरकारलाई आग्रह गरेका छन् ।
आज (शुक्रबार) एक विज्ञप्ति जारी गर्दै लकडाउनले असर पुर्याएको उल्लेख गर्दै सभापति देउवाले दैनिक ज्यालादारीमा निर्भर रहेका नागरिकका लागि तत्काल राहत प्याकेज ल्याउन सरकारलाई आग्रह गरेका हुन् । विज्ञप्तिमा भनिएको छ, ‘दिनभर काम गरेर साँझ खाने वर्गलाई लकडाउनले सबैभन्दा बढी असर पुर्याएको छ । उनीहरुलाई सरकारले तोकेको न्युनतम ज्यालादरमा कम नहुने गरी राहत प्याकेज घोषणा गर्न म आग्रह गर्दछु ।’
त्यस्तै न्युन आय भएका कर्मचारी, अन्य श्रमिक, बेरोजगार युवा तथा राजधानीलगायत शहरी क्षेत्रमा डेरा गरी बसेका विद्यार्थीलाई राहत पुग्ने गरी योजना र कार्यक्रम निर्माण गर्न पनि कांग्रेसले माग गरेको छ । कांग्रेसले २० लाखसम्म ऋण लिएका सना व्यवसायीलाई कम्तीमा ३ महिनाको ब्याज पुरै मिनाहा गर्न र त्यसपछिको निश्चित अवधिका लागि ब्याजदर घटाउन पनि माग गरेको छ ।
ठूला व्यवसायीको ऋणको ब्याजदर घटाउन र हालको किस्ता बुझाउने अवधि कम्तीमा ३ महिनापछि सार्ने प्रबन्ध मिलाउन सरकारसमक्ष अपिल गरेको छ ।
यसअघि पनि सभापति देउवाले कोरोनाको कहरबाट जोगिन सरकारले देशव्यापी लकडाउन गरेपछि कुनै पनि समूह भोकमरीको सिकार नहोउन् भन्दै राहत प्याकेज ल्याउन अनुरोध गरेका थिए ।
उनले ट्विट गर्दै भनेका थिए, ‘कोरोनाबाट सुरक्षित हुँदाहुँदै कुनै समूह भोकमारीको सिकार बन्न नपरोस्,ु देउवाले भनेका छन्, ‘म सरकारलाई दैनिक ज्यालादारीमा निर्भर रहेका र न्युन आय भएकालाई तत्काल विशेष राहत प्याकेज घोषणा गर्न अनुरोध गर्दछु।’
हुबेइ प्रान्तको उहान शहरबाट शुरु भएको कोभिड–१९ को संक्रमणबाट शुक्रबारसम्म विश्वभर ज्यान गुमाउनको संख्या २४ हजार ९२ पुगेको छ भने ५ लाख ३२ हजार ६७० जना संक्रमित भएका छन् । जसमध्ये एक लाख २४ हजार ३४९ जना उपचारपछि घर फर्किएका छन् ।