प्रत्येक प्रदेशलाई भाटभटेनी समूहको २५–२५ लाख सहयोग गर्ने

चैत १७, काठमाडौं। भाटभटेनी समूहले प्रत्येक प्रदेशलाई कोरोनाविरोधी अभियानका लागि २५–२५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।   

समूहका अध्यक्ष मीनबहादुरले गुरुङ कोरोनाविरोधी अभियान सफल पार्न मुलुकका सातै प्रदेशका सरकारलाई २५–२५ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेका हुन् ।   

भाटभटेनी समूहले एक साताअघि संघीय सरकारद्वारा स्थापित कोरोना रोकथाम तथा नियन्त्रण कोषमा एक करोड रुपैयाँ सहयोग गरेको थियो ।   

संघीय सरकारले खडा गरेको कोषमा एक करोड उपलब्ध गराउने घोषणा गरेकै दिन अध्यक्ष गुरुङले आफ्नो समूहको तर्फबाट सहयोग राशी थपिन सक्ने संकेत गरेका थिए  । ‘मुलुकमा विपत्ति आउँदा हिजो पनि हामीले सक्दो सहयोग गरेका थियौं, यसपालि पनि त्यसका लागि तयार छौं ।’ सोही प्रतिबद्धता अनुसार यो समूहले थप सहयोग घोषणा गरेको हो । 

यो सहयोगले प्रदेश सरकारहरुको कोभिड–१९ विरोधी अभियानमा थोरै भए पनि योगदान हुने उनको अपेक्षा छ ।   

भाटभटेनी समूहले विपत्तिको अवस्थामा सरकार तथा पीडितलाई निरन्तर सहयोग गर्दै आएको छ । विगतमा मुलुक भूकम्प, बाढीपहिरो, आँधीहुरी जस्ता दैवी विपत्तिको चेपटामा परेका बेला पनि यो समूहले उल्लेख्य सहयोग गर्दै आएको छ ।   

यसबाहेक भाटभटेनी समूहले दुर्गम क्षेत्रका गरिब तथा जेहेन्दार विद्यार्थीलाई सम्पूर्ण खर्च बेहोर्ने गरी मेडिकल साइन्स अध्ययनको अवसर दिलाउनुका र अस्पतालहरुमा भौतिक पूर्वाधार निर्माणमा सहयोग गर्दै आएको छ ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *