जब चेपाङहरुले पक्की घर पाए ….

फागुन २३, चितवन ।  रत्ननगर १० जागृती टोलका विश्राम चेपाङ जीवनको उतराद्र्धमा छन् । उमेरले ८० वर्ष नाघिसकेका छन् । ज्याला मजदुरी गरेरै उनले यो उमेर कटाए । सुकुम्वासी भएकै कारण उनको जीवन कहिले उज्यालो हुन सकेन् । 

नत उनले राम्रो खान पाए, नत राम्रो घरमा बस्न नै पाए । आफु भन्दा पहिलेनै छोराको मृत्यु उनका लागि अर्को पीडा बन्यो ।  बुहारी, नातिनातिनीलाई संरक्षण दिनु उनको दायित्व थियो । अहिले बुहारीको मेलापात, ज्याला मजदुरीले घर चलिरहेको छ । वि.सं.२०३० सालमा चितवन झरेका उनी सुकुम्बासीकै रुपमा अहिले सम्म छन् ।  

झुप्रो घरमा वर्षौ काटेका बिश्रामले अहिले पक्की घर पाएका छन् । रात कटाउन उनलाई अहिले सहज भएको छ । रत्ननगर नगरपालिका र रत्ननगर वडा नम्वर १० ले विश्राम लगायत चार जना चेपाङका लागि पक्की घर बनाई दिएको छ । आफैँले घर बनाउन सक्ने अवस्था थिएन् विश्राम भन्छन् ‘पक्की घर पाउँदा खुसी लागेको छ ।’ आर्थिक अवस्था कमजोर रहेपनि पक्की घर पाउँदा उनको मुहार अहिले खुसी छ ।  

उनका एक बुहारी ३ नातिनातिना छन् । विश्राम सहित जागृती टोलका कमला चेपाङ, जिते चेपाङ र फुलमाया चेपाङले पनि पक्की घर पाएका छन् । नयाँ घर पाएकी कमला चेपाङ भन्छिन्  ‘पहिले एउटै कोठामा पकाउने, खाने, सुत्ने गर्नु पर्थ्यो त्यो बाध्यता हटेको छ । पाहुना आउँदा अप्ठ्यारो हुन्थ्यो उनले थपिन्  ‘अहिले पकाउने खाने र सुत्ने कोठा छुट्टै छ ।’  नयाँ पक्की घर शुक्रवार एक कार्यक्रमको आयोजना गरि उनीहरुलाई हस्तान्तरण गरिएको हाे ।  

रत्ननगरका मेयर नारायण वन, वडाध्यक्ष केशव आचार्यले घरको साचो  र एक -एक थान पंखा हस्तान्तरण गरे । वडाध्यक्ष आचार्यका अनुसार श्रमदान बाहेक ५ लाख ३ हजार रुपैयाँ घर निर्माणमा खर्च भएको छ । त्यस बाहेक लुमन्ती आवासका लागि सहयोग समुहले चार वटा शौचालय निर्माणमा सहयोग गरेको छ । 

 आवास हस्तान्तरण गर्दै मेयर वनले नगर भित्रका सुकुम्वासीहरुलाई व्यवस्थित गर्दै गईरहेको भन्दै अहिले सम्म विपन्न तथा सुकुम्वासी परिवारलाई ९० वटा घर निर्माण गरिसकेको बताए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *