प्रधानमन्त्रीको मनोबल उच्च, वामदेवको राष्ट्रियसभा यात्रा अवरुद्ध, कोरोनाको त्रास सर्वत्र

फागुन २१, काठमाडौं । आज राजधानीबाट प्रकाशित सबैजसो पत्रपत्रिकाले प्रधानमन्त्री केपी शर्मा ओलीको मृगौला प्रत्यारोपण आज र कोरोना भाइरसको सर्वत्र त्रासको समाचार प्रकाशित गरेका छन् ।  

प्रधानमन्त्री केपी ओलीको आज दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिँदै छ । उनलाई भान्जी नाता पर्ने झापाकी ३२ वर्षीया समीक्षा संग्रौला ज्ञवालीले मिर्गौला दिँदै छिन्, यो समाचार नयाँ पत्रिकाको फ्रन्टपेजमा छापिएको छ ।  

ओली सोमबार साँझ नै शिक्षण अस्पताल महाराजगन्ज भर्ना भएका थिए । शिक्षण अस्पतालका युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जिकल विभागका प्रमुख प्रा.डा. उत्तमकुमार शर्मा र  युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जन प्रा.डा. प्रेमराज ज्ञवाली नेतृत्वको टोलीले प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गर्दै छ । बिहान ९ बजेदेखि शल्यक्रिया सुरु गरिने डा. ज्ञवालीले बताए । पाँच घन्टामा प्रत्यारोपणको काम सकिनेछ ।  

प्रधानमन्त्री ओलीको पहिलोपटक मिर्गाैला प्रत्यारोपण गरेका भारतीय चिकित्सक प्रा.डा. अनन्तकुमार पनि काठमाडौं आएका छन् । नेपाल मेडिकल काउन्सिलले मंगलबार उनलाई ६ दिनका लागि विदेशी नागरिक चिकित्सक दर्ता स्वीकृति दिएको छ । ओलीले ०६४ मा भारतको एपोलो अस्पतालमा पहिलोपटक मिर्गाैला प्रत्यारोपण गराएका थिए । 

चिकित्सकहरूका अनुसार प्रधानमन्त्रीमा उच्च मनोबल छ । ‘प्रधानमन्त्री मिर्गाैला प्रत्यारोपणका लागि पूर्ण तयार हुनुहुन्छ, उहाँको मनोबल युवाहरूको जस्तो छ । प्रत्यारोपणका लागि उहाँको स्वास्थ्य एकदम ठीक छ,’ डा. ज्ञवालीले भने । स्वदेशमै प्रत्यारोपण गर्ने प्रधानमन्त्रीको निर्णयले सबै चिकित्सकमा ऊर्जा थपिएको उनले बताए ।  

प्रत्यारोपणको अन्तिम तयारीस्वरूप मंगलबार दिउँसो प्रधानमन्त्री ओलीको डायलाइसिस गर्नुका साथै पिसाब, रगत, छाती र दाँतको परीक्षण गरिएको थियो । सबैको रिपोर्ट सामान्य देखिएको छ । चिकित्सकहरूका अनुसार उनलाई प्रत्यारोपण गर्नुपूर्व दिइने प्रि–औषधिहरू दिन सुरु गरिएको छ । यसअघि नै प्रधानमन्त्री ओलीको मुटु, फोक्सो र कलेजोको परीक्षण भइसकेको छ । ओलीलाई शिक्षण अस्पतालको ६०१ नम्बर क्याबिनमा राखिएको छ ।  

नागरिक दैनिकले ‘वामदेवको राष्ट्रियसभा यात्रा अवरुद्ध’ शीर्षकको समाचार प्रकाशित गरेको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने प्रक्रिया तत्काललाई अवरुद्ध भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणका लागि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएपछि गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने प्रक्रिया रोकिएको छ ।  

गत साता बसेको नेकपा सचिवालय बैठकले गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको थियो। राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्यमा मनोनीत अर्थमन्त्री डा. युवराज खतिवडाको समय सकिएपछि सोही स्थानमा गौतमलाई लैजाने तयारी भएको थियो। खतिवडाको राष्ट्रियसभा सदस्यको कार्यकाल मंगलबारबाट सकिएको छ। 

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट मनोनयन हुने कोटामा पार्टीको सचिवालय बैठकले गौतमलाई पठाउने निर्णय गरेको थियो। सिफारिस नहुँदै प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि सोमबार अस्पताल भर्ना भएका छन्। बुधबार उनको बुधबार मिर्गौला प्रत्यारोपण गर्ने कार्यतालिका छ। 

प्रधानमन्त्री ओलीले सचिवालयको बैठकबाट भएको निर्णय नमान्ने बताएपछि पार्टीभित्र विवाद सुरु भएको थियो। ‘मन्त्रिपरिषद्ले वामदेव गौतमलाई सिफारिस गर्दैन, डा. खतिवडालाई नै निरन्तरता दिनेछ’, प्रधानमन्त्री ओलीले भनेका थिए। त्यसपछि सचिवालयका शीर्ष नेताहरु ओलीविरुद्ध लागेका थिए। पार्टीको निर्णय कार्यान्वयन गर्नुपर्नेमा उनीहरुको जोड थियो। 

फागुन १८ गते बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले आफू मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना हुने जानकारी गराएका थिए। करिब आधा घण्टा बसेको सचिवालय बैठकमा गौतमबारे कुनै छलफल भएन। त्यस दिन अध्यक्ष पुष्पकमल दाहाल र गौतम बेग्लै बसेर छलफल गरी सचिवालय बैठकमा गए पनि त्यहाँ ओलीलाई स्वास्थ्य उपचारबारे शुभकामना दिने काममात्रै भएको थियो। 

‘कोरोनाको त्रास सर्वत्र’ शीर्षकका अन्नपूर्णले समाचार छापेको छ । नेपालस्थित कूटनीतिक समुदायले पूर्वनिर्धारित कार्यक्रम स्थागित गरेका छन्। अमेरिकी दूतावासले २४४ औं स्वतन्त्रता दिवसका अवसरमा फोहोरा दरबारमा शुक्रबार मनाउन लागेको कार्यक्रम स्थगित गरेको छ। कतारले चन्द्रगिरीमा गर्न आइतबार लागेको फुड फेस्टिबल स्थगन गरेको छ। विभिन्न ८२ मुलुक सहभागी रहने दोस्रो अन्तर्राष्ट्रिय रक्त सम्मेलन पनि स्थगित भएको छ। 

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विश्वभरका कूटनीतिज्ञलाई अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी नहुन यसअघि नै आग्रह गरेका छन्। नेपाल सरकारले पनि ठूला जमघट हुने कार्यक्रम नगर्न आग्रह गरेको छ। विदेश भ्रमणको तयारीमा रहेका मन्त्री, सांसद र कर्मचारीले कार्यक्रम स्थगित गरेका छन्। संसारभर यस्ता कार्यक्रम स्थागित भइरहेका छन। राष्ट्रसंघका महासचिव गुटेरेसले न्युयोर्क र अन्य मुलुकमा तय गरेका कार्यक्रम रद्द गराएका छन्। 

गुटेरसले मुख्य कार्यक्रम छोट्याउन र सहायक कार्यक्रम रद्द गर्न सुझाव दिएका छन्। राष्ट्रसंघकी प्रवक्ता स्टेफनी डुजारिकले विश्वभर कोरोना भाइरस फैलिएका कारण राष्ट्रसंघले सम्पूर्ण ध्यान त्यसतर्फ केन्द्रित गरेको बताएकी छन्। चर्को आर्थिक अभाव भोगिरहेको राष्ट्रसंघले यसअघि पनि ठूला कार्यक्रम नगर्न र यात्रा नगर्न आफ्ना कर्मचारीलाई निर्देशन दिएको थियो। 

एसिया र प्रशान्त क्षेत्रमा शान्ति र निःशस्त्रीकरणका लागि संयुक्त राष्ट्रसंघ क्षेत्रीय केन्द्र (यूएनआरसीपीडी) ले काठमाडौंमा बुधबारदेखि तीनदिने कार्यक्रम गर्दै छ। सम्मेलनको तयारी पूरा भएको र पाहुना आइसकेकाले छोटो रूपमा कार्यक्रम सकिने बताइएको छ। 

फेसबुक र युट्युबलगायत सामाजिक सञ्जालमा विज्ञापन गरेपछिको भुक्तानी अनौपचारिक माध्यमबाट गरे कारबाहीको चेतावनी दिएको राष्ट्र बैंकले एक महिना बितिसक्दासमेत नियमन कार्यविधि बनाउन नसकेको समाचार आजको कान्तिपुरमा छ ।   

गत माघ १७ गते औपचारिक माध्यमबाट भुक्तानी नगरे कारबाही गर्ने र यसका लागि कार्यविधि १०/१५ दिनमै जारी हुने दाबी गरेको थियो । ‘सुरुमा क्यान, एडभरटाइजिङ एजेन्सी, मनी चेञ्जरलगायत सरोकारवालासँग छलफल भएको थियो,’ राष्ट्र बैंक स्रोतले भन्यो, ‘क्यानलगायत एजेन्सीलाई लिखित सुझाव पठाउन भनिएको थियो, आजसम्म पनि सुझाव आएन ।’ हालका गभर्नर चिरञ्जीवी नेपालको कार्यकाल सकिन लागेको अवस्थामा राष्ट्र बैंकले आन्तरिक तयारी नै नगरेकाले कार्यविधि जारी गर्न अझै केही समय लाग्ने ती अधिकारीको दाबी छ । 

राष्ट्र बैंकको चालु आर्थिक वर्षको मौद्रिक नीतिमा सामाजिक सञ्जाल र अनलाइनमार्फत हुने विज्ञापनबापत विदेशी मुद्रामा हुने भुक्तानी तथा प्राप्तिको व्यवस्थापन गर्न आवश्यक नीति तर्जुमा गरी कार्यान्वयन गरिने उल्लेख थियो । तर सात महिनासम्म पनि कार्यविधि बनेको छैन । भुक्तानी औपचारिक प्रणालीमार्फत गर्न तयार भए पनि विधि र प्रक्रिया स्पष्ट नपारिदिँदा अन्योल भएको सरोकारवालाको गुनासो छ । 

‘औपचारिक माध्यमबाट भुक्तानी गर्ने विधि र प्रक्रिया अझै ल्याइएको छैन, अन्योल भएको छ,’ क्यान महासंघका पूर्वअध्यक्ष विनोद ढकालले भने, ‘राष्ट्र बैंकले यथाशीघ्र स्पष्ट गर्नुपर्छ ।’ विज्ञापनका नाममा विदेशी मुद्रा अपचलनको समेत सूचना पाएको भन्दै राष्ट्र बैंकले एक महिनाअघि कारबाहीको चेतावनीपूर्ण सूचना जारी गरेको थियो । तर स्पष्ट कानुनी व्यवस्था नगरिदिँदा अझै पनि अनौपचारिक माध्यमबाटै भुक्तानी भइरहेको हुन सक्ने जानकार बताउँछन् । 

नेपालमा विभिन्नखाले सेवा सञ्चालनका लागि भन्दै लाइसेन्स लिने तर सेवा शुरू नगर्ने प्रवृत्ति बढेको समाचार कारोबारमा प्रकाशित छ । यसरी लाइसेन्स होल्ड गर्दा प्रतिस्पर्धी बजारमा सेवा विस्तार गर्न चाहने कम्पनीले लाइसेन्स नपाउने तर लाइसेन्स लिइसकेको कम्पनी भने ‘होल्ड’ गरेर अर्थात च्याँखे थापेर बस्ने गरेको पाइएको छ ।   

जलविद्युत, हवाई लगायतका क्षेत्रमा मात्रै नभएर लाइसेन्स होल्ड गर्ने प्रवृत्ति दूरसञ्चार क्षेत्रमा झनै बढी देखिन्छ ।  मंगलवार पदबाट राजीनामा दिनुअघि सञ्चार तथा सूचना प्रविधिमन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका अर्थमन्त्री डा. युवराज खतिवडाले दूरसञ्चार सेवाको लाइसेन्स होल्ड गरेर काम रोक्ने प्रवृत्ति देखिएको भन्दै यस्तो विषयमा सरकारले अब कडाई गर्ने बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *