हिमालय एअरलाइन्स्ले थप्यो नयाँ जहाज

फागुन १९, काठमाडौं । नेपालको निजी अन्तर्राष्ट्रिय एअरलाइन्स् हिमालय एअरलाइन्स्ले आफ्नो पाचौं वार्षिक उत्सवको अवसरमा साेमबार अर्काे नयाँ ए ३१९–११५ विमान थप गरेको घोषणा गरेको छ । 

 उपाध्यक्ष–अपरेशनस्, क्यापटेन हाओ दीले चीनको तियानजिन बिन्हाई अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपालको काठमाडौं स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भित्र्याएको हाे ।  नयाँ विमान एमएसएन ९०२०, दर्ता नम्बर ९ एन–एजेके,  साेमबार राती १०ः२० मा विमानस्थलमा अवतरण गरेकाे हाे । यो नयाँ विमानको प्रवेशसँगै हिमालय एअरलाइन्स्सँग तिन एअरबस ए३२०–२१४ र एक एअरबस ए३१९–११५ गरी चारवटा विमान हुने भएको छ । 

हालै समावेश गरिएको एअरबस ए३१९–११५ छोटो देखि मध्यम दूरीको उडान भर्ने एअरबस ए–३२० परिवारकै विमान हो । एअरबस कम्पनीद्वारा निर्मित यो विमान न्यारो–बडी, दुई इन्जीनयुक्त जेट विमान हो जस्ले व्यावसायिक यात्रीहरुलाई ल्याउने लाने गर्छ । कुल आठ बिजनेस क्लास सिट र १२० इकोनोमी क्लास सिट क्षमता रहेको विमानमा नयाँ र कुशल इन्जीन क्षमता रहेको छ जुन १५ प्रतिशतसम्म इन्धन बचत गर्न सक्षम छ । हालै समावेश गरिएको यस विमानले उच्च स्थानमा रहेका तिब्बतका ल्हासा, अलिजस्ता गन्तव्यस्थलहरुमा उडान गर्ने तथा उडान संख्या बढाउंदै धेरैभन्दा धेरै यात्रुलाई सहज र सरलरुपमा सेवा प्रदान गर्ने बताइएकाे छ । 

यो नयाँ विमान ए ३१९ थप गरेसँगै एअरलाइन्स्ले मध्यपूर्वी मुलुक र चीनमा आफ्नो बजार विस्तार समृद्ध  बनाउने योजना रहेको छ ।   

एअरलाइन्स्का अध्यक्ष श्री झोउ इन्योङले भने, ‘सन् २०२० मा हिमालय एअरलाइन्स्को सञ्जाल विस्तार र नयाँ रुटहरु सञ्चालन गर्ने एअरलाइन्स्को रणनीति अनुरुप हाम्रो यो कदम हो । उच्च आधुनिक प्रविधियुक्त विमानसँगै उच्च तहको सुरक्षा सुनिश्चित गर्दै हाम्रा मूल्यवान यात्रुहरुलाई सुरक्षित र सुविधासम्पन्न यात्राको हामी प्रतिबद्धता गर्दछौं । नयाँ विमानको प्रवेशसँगै हामीले हिमालय एअरलाइन्स्को विकासमा निरन्तरता दिदैं देश र यस क्षेत्रकै उत्कृष्ट एअरलाइन्स्को रुपमा स्थापित गरेर नयाँ उचाईमा पुर्याउने परिकल्पना गरेका छौं । हाम्रो विमान थप गर्ने योजना अन्तर्गत सन् २०२१ सम्म ए३१९ का दुईवटा विमान थप गरिनेछ ।’ 

कार्यक्रममा प्रशासनका उपाध्यक्ष  विजय श्रेष्ठले भने, ‘हिमालय एअरलाइन्स्मा ए३१९ को प्रवेश, संस्थाको विमान थप गर्ने योजनामा एउटा कोसेढुंगा हो । हिमालय एअरलाइन्स् परिवारकालागी यो एउटा गर्वको कुरा हो । ‘क्षेत्रिय समृद्धिका लागि हवाई सञ्जाल विस्तार’ भन्ने हाम्रो प्रमुख सिद्धान्तलाई यो कदमले थप बल प्रदान गरेको छ । हालै भई राखेको उडान सञ्जालमा थप सेवा, सरल उडान सञ्जाल तथा नयाँ गन्तव्यहरुमा वृद्धिजस्ता हिमालय एअरलाइन्स्को उल्लेखनीय उपलब्धीहरुका निम्ति सन् २०२० साक्षी बन्नेछ । यो कदमले तिब्बत र चीनको एकदमै महत्वपूर्ण गन्तव्य क्षेत्रहरुको उडानमा वृद्धि हुनेछ र यस क्षेत्रमा व्यापारिक, औद्योगिक र पर्यटकीय क्रियाकलापलाई प्रेरित गर्दै बढावा दिनेछ । हिमालय एअरलाइन्स्को आवश्यकता अनुसारकै विशेषता र संरचना रहेको ए३१९ विमानले एअरलाइन्स्को दीर्घकालीन तथा प्रतिस्पर्धात्मक भविष्य सुनिश्चित गर्दछ ।’ 

हिमालय एअरलाइन्स्ले सन् २०१६ मे ३१ बाट ए३२०–११४ सिरिजको १५८ सिट भएको विमानका साथ दोहा उडान गरेर आफ्नो हवाई यात्रा सुरु गरेको थियो । चार वर्षभन्दा कम समयको अन्तरालमै एअरलाइन्स्ले ६ वटा देशका १० वटा गन्तव्यस्थलमा आफ्नो सञ्जाल स्थापित गरिसकेको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *