सबै सीमा नाका बन्द, सामान आपूर्ति भने नरोकिने, सेल्फ क्वारेनटाइनमा कसरी बस्ने ?

चैत १०, काठमाडौं । आज राजधानी काठमाडौंबाट प्रकाशित पत्रपत्रिकाले विश्वभर फैलिएको कोरोना संक्रमण रोकथामका लागि सरकारले सबै सीमा नाका बन्द गरेको समाचार प्रकाशित गरेका छन् । कान्तिपुरले सरकारले भारत र चीनसँग जोडिएका सबै सीमा नाकामा एक साता आवागमन बन्द गर्ने निर्णय गरेको समाचार फ्रन्टपेजमा प्रकाशित गरेको छ  । 

दक्षिणी सीमा नाकाबाट आवागमन तीव्र भएर कोभिड–१९ संक्रमणको जोखिम बढेपछि मन्त्रिपरिषद्को बैठकले नाका बन्द गर्ने निर्णय आइतबार लिएको हो । मानिसको आउजाउ रोकिए पनि सामान ढुवानी नियमित हुनेछ ।  

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणपछि आइतबार पहिलो पटक बसेको मन्त्रिपरिषद् बैठकले सोमबार बिहान १० बजेदेखि १६ गते मध्यरातसम्म दुवै छिमेकी मुलुकका सबै नाका बन्द गर्ने निर्णय गरेको हो । उत्तरी सीमामा दुइटा मोटरेबल र अरू चारवटा गरी ६ र दक्षिणी सीमामा ३९ वटा मोटरेबल र १ सय २५ वटा आउजाउ गर्न मिल्ने गरी १ सय ६४ वटा नाका छन् । 

झन्डै ४ घण्टा चलेको मन्त्रिपरिषद् बैठकपछि आयोजित पत्रकार सम्मेलनमा अर्थ एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री युवराज खतिवडाले एउटा देशको कोभिड–१९ संक्रमित व्यक्ति अर्को देशमा नछिरोस् भनेर सीमा नाकामा आवागमन रोक्ने निर्णय गरिएको बताए । ‘दक्षिण एसिया र दक्षिण पूर्वी एसियाका मुलुकमा संक्रमितहरू बढ्दै गएको देखिन्छ । एउटा देशमा भएको संक्रमण अर्को देशमा नसरोस् भन्नका लागि एकले अर्कालाई सहयोग गर्नुपर्ने भएको छ । धेरै व्यक्तिको आउजाउले संक्रमण फैलिने सम्भावना हुनाले सीमाका सबै नाकामा यात्रु आवागमन बन्द गर्ने निर्णय गरेका हौं,’ उनले भने । 

पछिल्ला १० दिनमा मात्रै पश्चिम गड्डाचौकीदेखि पूर्वी काँकडभिट्टासम्मका दक्षिणी नाकाबाट करिब ८३ हजार मानिस नेपाल भित्रिएका छन् । शनिबार मात्रै गड्डाचौकीबाट करिब १३ हजार भित्रिएका थिए । अनुमान गरिएभन्दा धेरैको आगमन भएपछि सिमानामा खटिएका सुरक्षाकर्मीतथा हेल्थ डेस्कका प्रतिनिधिलाई स्वास्थ्य जाँचमा हम्मे परेको थियो । भारतमासंक्रमित बढिरहेकाले सीमा खुला हुँदा नेपालमा असर पर्न सक्ने भन्दै कूटनीतिज्ञहरूले समेत नाका बन्द गर्न सरकारलाई सुझाव दिएका थिए । 

यसअघि गत बुधबार सरकारले दुईदेशीय खुला सीमा व्यवस्थापन र कडाइका लागि साझा प्रबन्ध तय गर्न भारत सरकारलाई अनुरोध गरेको थियो । शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चैत १८ गतेसम्म सबै अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय सुनाएका थिए । सोमबारदेखि नै देशभित्र पनि लामो दूरीका सवारी साधन सञ्चालनमा प्रतिबन्ध लगाइएको छ । 

नयाँ पत्रिकाले ‘सामान आपूर्ति भने नरोकिने’ शीर्षकमा समाचार प्रकाशित गरेको छ । भन्सार विभागका अनुसार अहिले चीन र भारतसँग सीमा जोडिएका भन्सार नाकाको संख्या ३५ छ ।  

मन्त्रिपरिषद्को निर्णयबाट यी सबै नाकाहरू बन्द हुनेछन् । नाका बन्द भए पनि सामान आपूर्ति भने रोकिने छैन । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टका अनुसार मानिसको आवतजावतका लागि मात्र सीमानाका बन्द गर्ने निर्णय भएको छ । ‘तर, सुरक्षा व्यवस्था पालना गरेर आपूर्ति व्यवस्थामा अवरोध नहुने गरी सीमा खुला नै रहनेछ,’ उनले भने ।  

सम्पूर्ण सुरक्षाकर्मी परिचालन गरी संघ, प्रदेश र स्थानीय तहमा क्वारेन्टाइन सेन्टर बनाउने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ । सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरेर २ लाखभन्दा बढी सुरक्षाकर्मी छन् । यसको नेतृत्व स्वास्थ्य तथा जनसंख्या, गृह, रक्षा र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सहयोगमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गर्नेछ । 

मन्त्रिपरिषद्को बैठकले कोरोना संक्रमणको जोखिम रोकथाम तथा नियन्त्रणका लागि केन्द्रीय कोष बनाउने निर्णय पनि गरेको छ । कोषमा सरकारले तत्काल ५० करोड रुपैयाँ राख्ने निर्णय गरेको छ ।  

कोषमा संघीय सरकारका मन्त्रीहरूको एक महिनाको तलब योगदान गर्ने निर्णय गरिएको छ भने कर्मचारी, निजी क्षेत्र, संघसंस्थालगायतलाई पनि सहयोगका लागि आह्वान गरिएको छ । कोरोना संक्रमण देखिएमा उपचारका लागि काठमाडौंको चन्द्रागिरि नगरपालिकास्थित सशस्त्र प्रहरी बलको अस्पताललाई डेडिकेटेड अस्पताल तोकेर स्वास्थ्यकर्मी परिचालन गर्ने निर्णय पनि सरकारले गरेको छ ।  

अन्नपूर्णले ‘६ हजार क्षमताको क्वारेन्टाइन’ शीर्षकमा समाचार छापेको छ । कोरोना भाइरस (कोभिड–१९)को सम्भावित संक्रमण फैलिन नदिन सरकारले क्वारेन्टाइन स्थल निर्माण र व्यवस्थापनमा जुटेको छ। आइतबारदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको सरकारले कोरोना भाइरसको जोखिमलाई ध्यानमा राखेर क्वारेन्टाइन व्यवस्थानमा केन्द्रित भएको हो। 

संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री योगेश भट्टराई संयोजक रहेको कोभिड–१९ विरूद्ध क्वारेन्टाइन स्थल निर्माण तथा व्यवस्थापन कार्यदलको शुक्रबार बसेको बैठकले सार्वजनिक क्वारेन्टाइन स्थलसम्बन्धी मापदण्डको मस्यौदा बनाउने जिम्मा चारवटै सुरक्षा निकायलाई दिएको छ। 

गृह मन्त्रालयको संयोजकत्वमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभाग रहेको टोलीले प्रतिवेदन पेश गर्ने जनाइएको छ। टोलीको प्रतिवेदन र मस्यौदाअनुसार आवश्यक स्रोतसाधन र बजेट व्यवस्थापन योजनासम्बन्धी कार्य अर्थ मन्त्रालय, गृह मन्त्रालय, सहरी विकास मन्त्रालय र चारवटै सुरक्षा निकायका प्रतिनिधिको टोलीलाई जिम्मा लगाइएको छ। टोलीले आइतबार बस्ने कार्यदलको बैठकमा प्रतिवेदन पेश गर्नेछ। सरकारले उपत्यकामा कम्तिमा ६ हजार व्यक्ति क्षमताको सार्वजनिक क्वारेन्टाइन स्थल निर्माण गर्ने भएको छ। 

क्वारेन्टाइन स्थल तत्काल निर्माणका लागि तत्काल निर्माण गर्न सबै निकायहरू संयुक्तरूपमा परिचालित गर्ने निर्णय कार्यदलले गरेको छ। सार्वजनिक क्वारेन्टाइन स्थललाई आवश्यक पर्दा अस्थायी अस्पतालमा रूपान्तरण गर्न सकिने गरी तयारी गर्ने कार्यदलले जनाएको छ। पर्यटन विभाग र नेपाल पर्यटन बोर्डले नेपाल होटल संघ र होटल व्यवसायी महासंघसँग समन्वय गरी कम्तिमा दुई हजार व्यक्ति क्षमताका लागि उपयुक्त होटलको स्थानसहितको विवरण तयार गर्न निर्देशन दिएको छ। इचंगुनारायण स्थल र बलम्बुस्थित मनमोहन अस्पतालको भवन परिसरमा पनि क्वारेन्टाइनको व्यवस्था गर्ने गरी कार्यदलले अध्ययन गर्ने भएको छ। 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कोरोना भाइरस (कोभिड-१९)को संक्रमण रोकथामका लागि विदेशबाट फर्केका नागरिकको अभिलेख वडास्तरमै राख्न सबै स्थानीय तहलाई निर्देशन दिएको समाचार गोरखापत्रमा छ । 

साथै, मन्त्रालयले विदेशबाट फर्किएका नागरिकको अभिलेख मन्त्रालयमा दैनिक पठाउन निर्देशन जारी गरेको छ ।  मन्त्रालयले कोरोनाबाट बच्न उच्च सतर्कता अपनाउन सबै स्थानीय तहलाई निर्देशन दिंदै जनताको नजिकको सरकारका रूपमा रहेको स्थानीय तहलाई आवश्यक समन्वय गर्न आग्रहसमेत गरेको छ ।   

मन्त्रालयले आइतवार पत्राचार गर्दै ७ सय ५३ वटै स्थानीय तहका ६ हजार ७ सय ४२ वटै वडामा विदेशबाट फर्किएका नागरिकको निगरानी, रेखदेख र सोको संख्यात्मक विवरण दैनिक रूपमा मन्त्रालयमा प्रतिवेदन पठाउन सबै प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन गरेको हो ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *