कोरोना त्रास : होटल व्यवसायमा असर, रेस्टुरेन्ट व्यवयायी भन्छन् ‘आत्तिनु पर्दैन’

फागुन २१, चितवन । अत्याधिक मात्रामा चिनियाँ पर्यटक आउने पर्यटकीय गन्तव्य सौराहा हो । चीनबाट सुरु भएको कोरोना भाईरसका कारण अहिले पर्यटकीय क्षेत्रमा मन्दी लागेको छ । करिब ५० प्रतिशत भन्दा बढि पर्यटक चीनबाट आउने गर्छन् । तर कोरोना भाईरसको डरले चिनियाँ लगायत अन्य पर्यटकहरु ज्यादै न्युन मात्रामा आउन थालेपछि सौराहाका होटल व्यवसायीहरुले कर्मचारीहरुलाई बिदा दिन सुरु गरेका छन् ।
क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष दिपक भट्टराईका अनुसार एक दुई दिन अघिदेखी कर्मचारीलाई बिदा दिन सुरु भएको हो । आफ्नो होटलका आधा कर्मचारीलाई समेत बिदा दिईएको उनले जानकारी दिए । अन्य व्यवसायी साथीहरुले पनि आधा कर्मचारीलाई बिदा दिईसके संघका अध्यक्ष भट्टराईले भने – होटल कुर्नका लागि केही कर्मचारी राखिएको छ,उनीहरुलाई पनि पालैपालो विदा दिईन्छ ।
बिदाको समयमा कर्मचारीलाई आधा तलव दिने गरिएको छ । सौराहामा १ सय १० भन्दा बढि साना ठुला होटल छन् । क्षेत्रीय होटल संघका अध्यक्ष भट्टराईका अनुसार सौराहा अहिले १५ प्रतिशतको हाराहारीमा मात्रै पर्यटक छन् । २०७२ सालमा गएको भूकम्प, नाकावन्दी, नारायणगढ मुग्लिन सडक खण्डका कारण यहाँको व्यवसायलाई असर पर्दै आएको थियो । पछिल्लो समय केही गति लिन थालेको पर्यटन व्यवसायमा कोरोना भाईरसले ठूलो असर गर्ने संकेत देखिएको छ ।

यस्तै अवस्था रहे होटलमा ताल्चा लगाएर वस्नु पर्ने अवस्था आउने यहाँका व्यवसायीको गुनासो छ । यता रेस्टुरेन्ट एण्ड बार एसोसियसन रेवान सौराहाका अध्यक्ष दिपेन्द्र खतिवडा भने रेस्टुरेन्ट व्यवसायमा खासै असर नपरेको बताउँछन् । ‘अहिलेसम्म पर्यटकको अवस्था सन्तोषजनक छ,रेवान अध्यक्ष खतिवडाले भने – आत्ति हाल्नु पर्ने अवस्था भने छैन् । उनका अनुसार रेस्टुरेन्ट व्यवसायीहरुले अहिले सम्म कर्मचारी बिदा दिएका छैनन् । व्यवसायनै बन्द गर्नु पर्ने अवस्था आएको खण्डमा व्यवसायीको ऋणमा सावा र किस्ता एकै पटक तिर्र्ने व्यवस्था मिलानउ सरकारले पहल गर्नु पर्ने उनको भनाई छ ।
खतिवडाका अनुसार सौराहामा करिब ५० प्रतिशत चाईनिज र बाँकी नेपाली र अन्य मुलुकका पर्यटक आउने गरेका छन् । सौराहामा ६० वटा भन्दा वढि रेस्टुरेन्ट रहेका छन् ।








