अमेरिकी नागरिक मिसेललाई देश छाड्न अध्यागमनको निर्देशन

फागुन २८, पोखरा । अमेरिकी नागरिक मिसेललाई कम्पनी बन्द गरी देश छाड्न अध्यागमन विभागले निर्दैशन दिएको छ । पोखरामा बसेर गैरकानुनी चन्दा उठाइरहेकी अमेरिकी नागरिक मिसेल अलेक्जेन्ड्रा विल्सलाई अध्यागमन विभागले आफ्नो देश फर्कन निर्देशन दिएको हो ।
विल्सनको भिसाको म्याद नथपिने र स्वदेश फर्किनको लागि समय दिइएको विभागले जनाएको छ ।
नेपालमा समाजसेवा गर्ने नाममा चन्दा उठाएर बस्न नपाउने भन्दै विभागले उनलाई देश छोड्न निर्देशन दिएको बताएको छ ।

यसअघि उत्तर कोरियाली नागरिकलाई डिपोर्ट गर्दा पनि व्यवसाय बन्द गर्न समय दिएको थियो मिसेललाई पनि व्यवसाय बन्द गर्न र ह्यान्डओभर गर्न समय दिइएको विभागको निर्देशक ईश्वरराज पौडेलले बताएका छन् ।
कास्कीका प्रमुख जिल्ला अधिकारी रमेश केसीले पनि मिसेललाई स्वदेश फिर्ता गर्न अध्यागमन विभागमा सिफारिस गरिएको बताएका छन्।
उनले कम्पनी रजिस्ट्रारको कार्यालयमा २०७४ चैत १४ गते लर्निङ हाउस प्रालि दर्ता गरी पोखरामा ‘लर्निङ हाउस’ नामक कम्पनी खोलेकी थिइन्।
उनले पोखरामा बसेर उक्त कम्पनीले गर्ने काममा पनि यसरी नै चन्दा उठाउने गरेकी छन्। मिसेलले आफ्नो व्यक्तिगत वेबसाइटमा हालसम्म ७ लाख अमेरिकी डलर चन्दा संकलन गरेको उल्लेख गरेकी छन्। यो रकम कहाँ र कसरी खर्च भयो भन्ने खुलाइएको छैन।
उनी अमेरिकाबाट छ वर्षअघि पहिलोपटक भिजिट भिसामा नेपाल आएकी थिइन् । त्यसपछि रिसर्च भिसामा पृथ्वीनारायण क्याम्पसमा स्वयंसेवी लेक्चर बनेर आएकी थिइन्। त्यसको पनि म्याद सकिएपछि उनी बिजनेस भिसामा नेपाल बसिरहेकी थिइन्।
बिजनेश भिसामै बसेर उनले नेपालका नाममा चन्दा संकलन गर्ने र उक्त रकम अमेरिकामै राख्ने गरेकी थिइन्।








