सुत्केरी महिलालाई यातायात खर्च


चैत ५ गते । चालु आर्थिक वर्षमा सुत्केरी भएका महिलाहरुलाई खैरहनी नगरपालिका वडा नम्वर १० ले यातायात प्रोत्साहन खर्च दिएको छ । वडाले विनियोजन गरेको वजेटबाट यो वर्ष सुत्केरी भएका ८२ जना महिलाहरुलाई यातायात खर्च स्वरुप एक हजारका दरले प्रोत्साहन खर्च प्रदान गरेको हो ।
वडा कार्यालयमा बुधवार आयोजित एक कार्यक्रमका बीच खैरहनी नगरपालिका उपप्रमुख सुनिता थपलिया, वडाध्यक्ष कारीराम चौधरीले प्रोत्साहन खर्च वितरण गरेका थिए । नियमित स्वास्थ्य परिक्षण पश्चात स्वास्थ्य संस्थामा सुत्केरी भएका महिलाहरुलाई सो रकम प्रदान गरिएको हो । रकम पाएका महिलाहरुले वडाको काम प्रति खुसी व्यक्त गरे ।
कठार स्वास्थ्य चौकीले कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रमकी प्रमुख अतिथी समेत रहेकी खैरहनी नगरपालिका उपप्रमुख थपलियाले सुरक्षित रुपमा सुत्केरी गराउन वडाले उपलव्ध गराएको यातायात खर्चले प्रोत्साहन हुने बताईन् । नगर भित्र अझै पूर्ण रुपमा स्वास्थ्य संस्थामा सुत्केरी भएको छैन् उपप्रमुख थपलियाले भनिन् – आमा र वच्चाको सुरक्षाका लागि स्वास्थ्य संस्थामै सुत्केरी गराउनु पर्छ ।
खैरहनी वडा नम्वर ११ ले पनि स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलालाई यातायात खर्च प्रोत्साहन रकम उपलव्ध गराउन बजेट विनियोजन गरेको छ । सुत्केरी महिलाहरुको तथ्यांक संकलन गरेपछि प्रोत्साहन स्वरुप यातायात खर्च उपलव्ध गराईने कठार स्वास्थ्य चौकी प्रमुख केशव पौडेलले बताए ।
स्वास्थ्य चौकी व्यवस्थापन समिति अध्यक्ष समेत रहेका खैरहनी १० का वडाध्यक्ष कारीराम चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा कठार स्वास्थ्य चौकीका हेल्थ असिस्टेन्ड नविन अधिकारीले कार्यक्रम संचालन गरेका थिए ।
