भ्वाइस अफ नेपालले ठगेको प्रतिष्पर्धीको आरोप

चैत्र ५, काठमाडौं । भ्वाइस अफ नेपालले पहिलो सिजनका सहभागीहरुलाई अझै सम्म पारिश्रमिक नदिएको पाइएको छ । पहिलो सिजनका सहभागीहरुले अझै सम्झौता बमोजिम पारिश्रमिक नपाएको गुनासो गरेका छन् । 

प्रतियोगिताका अन्तिम चार प्रतिष्पर्धी मध्येका श्रीजय थपलिया र सप्तक दूतराजले मंगलबार बिहान आ–आफ्नो फेसबुक पेजमा ‘खुल्ला पत्र’ पोष्ट गर्दै सम्झौता बमोजिमको रकम नपाएको सार्वजनिक गरेका हुन् ।   

उनीहरुले १६ डिसेम्बर २०१८ मा लागु हुनेगरी व्यवस्थापन पक्षसँग सम्झौता गर्दा मासिक एक लाख पारिश्रमिक दिने, सम्झौता अवधिभर शीर्ष चार जनालाई काठमाडौंमा खाने बस्ने व्यवस्था आयोजकले गर्ने, काठमाडौंमा घर हुनेहरु पनि आयोजकले तोकेको स्थानमा नै बस्नुपर्ने र जे जति खर्च हुन्छ, त्यो सबै आयोजककै थाप्लोमा जाने उल्लेख भएपनि आयोजकले खानेबस्ने व्यवस्था समेत नगरेको बताएका छन् ।   

दोस्रो बुँदामा मासिक एक लाख रुपैयाँ तलब दिइने उल्लेख हुँदा १२ महिनाको १२ लाख पाउनुपर्नेमा उनीहरुले अहिलेसम्म ५० हजार रुपैयाँमात्रै पाएको जिकिर गरेका छन् ।  

सम्झौता अवधिभर वर्ल्ड टुर गर्ने र त्यसबापत आउने रकमको ७० प्रतिशत आम्दानी प्रतिस्पर्धीकै हुने उल्लेख भएपनि सप्तक र श्रीजयले युके र अष्ट्रेलियामा प्रस्तुति दिएबापत् तोकिएको रकम अझै नपाएको भनाई छ । साथै उनीहरुले  आयोजकलाई सम्झौता पत्रको कुरा गर्दा आयोजकले वर्ल्ड टुर नभनेको तथा उक्त सम्झौता पत्र दूतावासका लागि बनाएको भन्दै जवाफ दिएको प्रतिष्पर्धी दुतराजले लेखेका छन् ।  

‘अन्तराष्ट्रिय फ्रेन्चाइजको सम्झौता पत्र नक्कली बनाएर बेलायत, अष्ट्रेलियाको दूतावासलाई दिने ? अनि यो दूतावासमै देखाउन बनाइएको भए हाम्रो सम्झौता पत्र खोइ त ?’ उनले प्रश्न गरेका छन् ।   

उनीहरुले आयोजकसँग कुराकानीमार्फत समस्या समाधान गर्न पटक–पटक कोशिष गरेपनि निष्कर्ष निस्कन नसकेपछि सार्वजनिक रुपमा बोल्न बाध्य भएको बताएका छन् ।   

उनीहरुले भ्वाइस अफ नेपालको सिजन टु सार्वजनिक हुने एक दिनअघि पत्रकार सम्मेलन गरेर सबै समस्या सार्वजनिक गर्ने तयारी गर्दा आयोजकले बोलाएर ५०–५० हजार थमाएको बताएका छन् । तर, त्यसपछि भने उनीहरुले कुनै पारिश्रमिक नदिएको प्रतिष्पर्धीद्वयको भनाई छ ।   

भ्वाइस अफ नेपालको बोर्डमा चार सदस्य छन् । लक्ष्मण पौडेल, सुशील नेपाल, प्रल्हाद सिंह महत, सदिक्षा आचार्य । प्रतिष्पर्धीद्वयलाई पारिश्रमिकको बारेमा कोसँग डिल गर्ने भन्ने नै थाहा नभएको तथा यूके टुर गएको पैसा माग्दा उनीहरुले एकले अर्कोलाई देखाएको बताएका छन् ।   

सम्झौतापत्रमा सम्झौता अवधिभरी कार्यक्रमबारे केही पनि बोल्न नहुने उल्लेख गरिएको र यही नियम पालना गरेर लामो समय चुप लागेको उनीहरुको भनाई छ । 

यता भ्वाइस अफ नेपालका निर्देशक लक्ष्मण पौडेलले दूतावासमा पेश गर्नकालागि नक्कली सम्झौता पत्र तयार गरिएको स्वीकारेका छन् ।  उनले कार्यक्रम गर्दा मात्र निश्चित प्रतिशत दिने भनिएको र मासिक तलबको कुरा नगरिएको बताएका छन् ।  

साथै प्रतिष्पर्धीहरुलाई खाने बस्ने व्यवस्था पनि नगरिएको जनाएका छन् । ‘श्रीजयले दूतावासका लागि बनाइएको नक्कली सम्झौता पत्रलाई फोटो खिचेर यसलाई नै बलियो आधार बनाएर कम्पनीलाई धोका दिइरहेका छन् । उहाँहरुको भिसा लागिरहेको थिएन । त्यसकारण मासिक कमाई यति धेरै राखिएको हो, खाने बस्ने व्यवस्था पनि आयोजकले नै व्यहोर्ने बताइएको हो ।’ लक्ष्मण पौडेलले भनेका छन् ।   

पौडेलले सम्झौतापत्रमा उल्लेख भएअनुसारको रकम दिनसक्ने अवस्था नरहेको बताए । पौडेलले श्रीजयलाई जम्मा १०–१५ हजारमात्रै तिर्न बाँकी रहेको बताउँदै भनेका छन् ‘उहाँले दिएको प्रस्तुतिको रकम नकाटी हिसाब गर्दा कम्पनीले श्रीजयलाई १० –१५ हजार दिन बाँकी छ । प्रस्तुतिको हिसाब गर्दा उल्टै श्रीजयले पैसा तिनुपर्ने देखिन्छ,’ पौडेलले अगाडी भनेका छन्–‘दूतावासका लागि नक्कली सम्झौता पत्र बनाउँदा प्रायोजनका लागि मात्रै बनाइएको सम्झौता हो भनेर अर्को पत्रमा पनि हस्ताक्षर गराउनुपर्ने रहेछ, हामीबाट गल्ती भयो ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =