गाँजा खेतीबाट खरबौँको कमाई हुन्छ, संसदबाट यो विधेयक शतप्रतिशत पारित हुन्छ : सांसद तामाङ


काठमाडौं, २१ फागुन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद तथा पूर्वमन्त्री शेरबहादुर तामाङले आफूहरुले धेरै सोच र विचार गरेर नेपालमा गाँजा खेति व्यवस्थापन तथा नियमन गर्न संघीय संसदअन्तर्गत प्रतिनिधिसभामा प्राईभेट विल दर्ता गराएको स्पष्ट पारेका छन् । उक्त विद्येयक सर्वसम्मतिले पारित हुने पनि उनले विश्वास दिलाएका छन् ।
बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै सांसद तामाङले गैरसरकारी रूपमा दर्ता गरिएको उक्त विद्येयकले नेपालमा गाँजा खेति खुल्ला गरिए नेपाली जनता तथा देश नै समृद्ध हुने पनि दाबी गरे ।
उनले भने,‘नेपालमा गाँजा त प्राकृतिक रुपमा नै उत्पादित वनस्पती हो । त्यसमा पनि यसमा औषधीय गुण हुन्छ । नेपालको गाँजा विश्वकै महँगो गाँजाको रुपमा बिक्री हुन्छ ।’
null
उनले थपे गाँजा खेतिलाई वैधानिक बनाउन सकियो भने जनतामात्रै नभइ देशपनि समृद्ध हुने बताए ।
उनले अन्तर्राष्ट्रिय रुपमा पनि गाँजाको कारोबार अरबमा नभएर खरबौं रुपैयाँमा भैरहेको दृष्टान्त सुनाए । उनले भने,‘नेपालले पनि भोलि यसबाट ठूलो आर्थिक लाभ लिनसक्छ ।’
उनले गाँजाको सेवनमात्रै नभएर यसको रेसाबाट कपडासमेत बन्ने गरेको पनि सुनाए । ‘गाँजाको रेसाबाट बन्ने कपडा त विश्वमै महँगो कपडाको रुपमा बिक्रि भैरहेका छन् ।’–उनले थपे,‘यसबाट बनेका कपडाहरुको विश्व बजारमा अत्यन्तै ठूलो माग छ । खासगरी गाँजाको रेस्साबाट बन्ने कपडाका कोटहरु त झनै महँगा छन् ।’
उनले नेपालको हकमा यसको सेवनमा भने पूर्णतः कानून लागु हुने पनि सचेत गराउँदै २१ वर्ष पुगेकाहरुले चिकित्सको सुझावअनुसार सेवन गर्न सक्ने बताए ।
विश्व स्वास्थ्य संगठनले पनि गाँजालाई लागुऔषधमा नराखेको सुनाउँदै यसतर्फ नेपालले पनि ध्यान दिनुपर्ने तामाङको तर्क छ । उनले भने,‘संयुक्त राष्ट्रसंघले त आफ्ना सदस्य राष्ट्रहरुलाई पत्राचार नै गरेर गाँजा लागुऔषध नभएको कुरा स्पष्ट रुपमा भनिसकेको छ । त्यही भएर ४० भन्दा बढि राष्ट्रले त गाँजालाई वैधानिकता दिईसकेका छन् ।’
उनले विश्व प्रतिष्पर्धाको बजारमा पनि नेपालको गाँजा नम्वर एक हुनसक्ने दाबी गरे ।
आफूहरुले नेपालीलाई कुनै दुव्र्यसनीको शिकार बनाउनको लागि यो कुरा नगरेको पनि तामाङले स्पष्ट पारे । उनले थपे,‘गाँजाको उत्पादनमा पूर्ण छुट हुन्छ। तर, सेवनको लागि कानून बनाउँछौं । र, चिकित्सको प्रेस्किप्नबिना सेवन गर्न दिनुहुँदैन् ।’
तामाङले भोलि कसैले नियम तथा कानून उल्लंघन गरे एक वर्षसम्म जेल सजाय र एक लाखसम्म जरिवाना हुनेसमेतको व्यवस्था गर्न लागिएको सुनाए ।
उनले गाँजामा ४५० भन्दा बढि औषधीय गुण रहेको पनि बातए । उनले नेपाललाई समृद्ध राष्ट्र बनाउनको लागि गाँजा खेति खुल्ला गर्दा उक्त योजना ‘गेम–चेन्जर’ हुनसक्नेपनि तर्क गरे ।
उनले विद्येयक शतप्रतिशत पारित हुने दाबी गर्दै नेपालमा यो विद्येयक पारित भएपनि आफूहरुले सेवनको लागि प्रोत्साहन नगरेको उनको जिकिर छ ।
