हट्ने भो गोन्द्राङ ढाँट, जिरो पोईन्ट क्षेत्रमा स्थान खोजी

फागुन १८ काठमाडौं । बहुचर्चित गोन्द्राङमा रहेको सडक प्रयोग संकलन दस्तुर केन्द्र (ढाँट) हट्ने संकेत मिलेको छ ।   

सडक वोर्डका प्रमुख कृष्ण सिंह वस्नेतनै चितवन आएर यहाँका सरोकारवालाहरुसँग छलफल गर्नुका साथै संभावित स्थानको समेत निरीक्षण गरेका छन् ।   

चितवनबाट केन्द्रिय तहमा प्रतिनिधित्व गर्ने नेताहरुलाई यो ढाँट स्थानान्तरण गर्न निकै दबाब आएपछि सरकारले प्रक्रिया अघि बढाएको हो । त्यसकै लागि सडक बोर्ड प्रमुख चितवन आएका हुन् ।   

आगामी आर्थिक वर्षदेखि लागू हुने गरि सरकारले ढाँट जिरो पोईन्टमा सार्ने तयारी गरेपछि सडक वोर्ड प्रमुख वस्नेतले चितवनबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सांसद सुरेन्द्र पाण्डे,प्रदेश सांसद कृष्ण खनाल,पूर्वी चितवनका नगर प्रमुखहरु,उद्योग वाणिज्य संघका अध्यक्षहरुसँग आईतबार छलफल गरेका छन् ।   

एउटै जिल्ला भएर पनि सदरमुकाम काम सकेर फर्कदा पूर्वी चितवनका स्थानीयले कर तिर्दै आएका छन् ।   

ढाँट स्थानान्तरण गर्ने विषयमा छलफल हुनुका साथै संभावित स्थलको समेत निरीक्षण गरिएको रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीले बताए । छलफलमा गोन्द्राङको ढाँट हटाएर जिल्लाको पूर्व तर्फको जिरो पोईन्टमा स्थानान्तरण गर्न सबैको एकमत रहेको रेग्मीले बताए ।   

संभवत लोथर र सुनाचुरी व्यारेकको बीच भागमा ढाँट रहनेछ । राप्ती नगरपालिका प्रमुख प्रभा बरालले लोथरको पूर्व तर्फनै ढाँट राख्न उपयुक्त हुने बताउँछिन् । लोथर पश्चिम ढाँट राख्दा राप्तीकै स्थानीय पुन कर तिर्नु पर्छ प्रमुख वरालले भनिन् – सबैलाई पायक पर्ने लोथर पूर्वमा राख्दा उपयुक्त हुन्छ ।   

रत्ननगरमा भएको छलफलमा रत्ननगरका मेयर नारायण वन, खैरहनीका मेयर लालमणी चौधरी, कालिकाका मेयर खुमनारायण श्रेष्ठ,राप्तीका मेयर प्रभा वराल, रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मी, उद्योग वाणिज्य संघ खैरहनीका अध्यक्ष चन्द्र सापकोटा, राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार कडेंल लगायतको उपस्थिती रहेको थियो ।   

गोन्द्राङबाट ढाँट स्थानान्तरण गर्नु पर्ने माग राख्दै गत जेठमा अज्ञात समुहले सोही ढाँटमा आगजनी समेत गरेका थिए । सो क्रममा त्यो वेलाकी प्रहरी सहायक निरीक्षक कल्पना खड्कालाई समेत लाग्दा घाईते भएकी थिईन् । उनी अहिले प्रहरी नायव निरीक्षकमा वढुवा भएकी छिन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − six =