कतारद्वारा नेपालसहित १४ देशका नागरिकलाई प्रवेशमा रोक, श्रम स्वीकृति दिन बन्द

फागुन २७, काठमाडौं । कतार सरकारले वैदेशिक रोजगारीमा कतार जानका लागि श्रम स्वीकृति बन्द गरेको छ । नेपालसहित १४ देशका नागरिकलाई अर्को व्यवस्था नभएसम्मका लागि कतार प्रवेशमा रोक लगाएको हो । 

कतारले प्रवेश रोक लगाएसँगै नेपाल सरकारले पनि आज (मंगलबार) देखि श्रम स्वीकृति दिन बन्द गरेको छ । 

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बच्नका लागि सावधानी स्वरुप कतारले कोरोना जोखिममा रहेका नेपालसहित १४ देशका नागरिकलाई प्रवेशमा रोक लगाएको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार प्रसाद दाहालले जानकारी दिए । उनका अनुसार अवस्था सहज हुनेबित्तिकै पुनः श्रम स्वीकृति दिन सुरु गरिने छ । 

चीनमा हाल कोरोना संक्रमण र मृतक दरमा कमी आएको छ । यद्यपी अन्य देशमा भने दैनिक संक्रमण र मृतकको दर बढ्दो छ । 

विश्वभरको तथ्यांकअनुसार सोमबारसम्म १ लाख ९ हजार २७१ कोरोनाबाट संक्रमित छन् भने ३ हजार ८१६ को ज्यान गइसकेको छ । विश्व स्वास्थ्य संगठनले नेपाललाई समेत कोरोना जोखिमको सूचीमा राखेपछि सरकारले सभा, कार्यक्रमहरु समेत नगर्नू भनेको छ भने विद्यालयको परीक्षा समेत अघि सारिएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *