गाउँघरमा अन्य कारणले मृत्यु हुँदा पनि कोरोनाले मर्‍यो भन्दै मलामी समेत नपाउने अवस्था भयो : स्वास्थ्य मन्त्रालय

चैत १७, काठमाडौं। सरकारले प्रत्येक प्रदेशमा एक हजारका दरले पर्सनल प्रोटेक्टिभ इक्वीपमेन्ट बाँडेको जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा एक हजारका दरले पर्सनल प्रोटेक्टिभ इक्वीपमेन्ट बाँडेको जानकारी गराइएको हो।   

चीनबाट आइतबारमात्रै काठमाडौंमा स्वास्थ्य सामाग्री ल्याइएको थियो। आएका सामाग्रीहरु सबै प्रदेशमा कम्तीमा हजार सेटको दरले पीपीई, दशहजार माक्स, २० हजार ग्लोब्स बितरण भएको प्रवक्ता विकास देवकोटाले बताए। उनले धनगढी, सुर्खेत र विराटनगरमा प्लेनबाट पठाइसकेको र अन्य प्रदेशमा गाडीबाट पठाउने क्रम जारी रहेको समेत बताए। 

मन्त्रालयले हरेक मृत्युलाई कोरोना भाइरस (कोभिड–१९) सँग नजोड्न आग्रह गरेको छ। मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले गाउँघरमा कसैको मृत्यु भयो भने कोरोनाकै कारण मृत्यु भएको भन्दै मलामी समेत नजाने अवस्था आएकोले त्यसो नगर्न ध्यानाकर्षण गराएको हुन्। डा. कार्कीले भने, ‘जो मर्‍यो, त्यो कोरोनाले मर्‍यो भन्ने ढंगले जसरी प्रचार प्रसार भएको छ। यो दुःखद कुरा हो।’ 

उनकाअनुसार नेपालमा अहिलेसम्म कोरोनाको संक्रमण विदेशबाट फर्किएकाहरुमा मात्र देखिएको छ र स्थानीय तथा समुदाय स्तरमा फैलिन पाएको छैन। साथै अहिलेसम्म मृत्यु भएकाहरुको कोरोना परीक्षण गर्दा पनि नेगेटिभ रिपोर्ट नै आएको छ। डा. कार्की भन्छन्, अरुअरु रोगका कारण भएको मृत्युलाई पनि कोरोनाकै कारण भन्नु भनेको हामीलाई मनको त्रास असाध्यै भएको हो।’ 

उनकाअनुसार कोरोना संक्रमण भइसकेपछि पनि ८० प्रतिशत मानिस सामान्य रुघाखोकी लागेको समयमा भन्दा पनि कम विरामी हुन्छन्। १५ प्रतिशतलाई अस्पताल भर्ना गर्नुनपर्ने तर औषधी खानुपर्ने हुने र बाँकी ५ प्रतिशतलाई मात्र अस्पताल भर्ना गर्नुपर्ने भन्दै उनले भने, ‘कोरोनाको संक्रमणको दर बढी छ तर कम मृत्यु हुने खालको रोग हो । साथै हामी कहाँ गाउँगाउँमा फैलिएको छैन र यहाँ एक व्यक्तिबाट अर्कोमा फैलिएको पनि छैन।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *