‘जनताको सेवामा मग्न छन् इटालीका स्वास्थ्यकर्मी, आफ्नो स्वास्थ्यको छैन पर्वाह’

चैत्र १६, काठमाडौं । सुरक्षा कवच लगाएर दिन रात खटिँदा इटलीका चिकित्सक तथा नर्सहरूलाई थकान त पक्कै भएको छ । तर उनीहरूको साहस र योग्यतामा लाखौँ नागरिकको प्राण अडेको छ । त्यसैले त उनीहरू आफ्नो स्वास्थ्यको पनि पर्वाह नगरी दिन रात अस्पताल, स्वास्थ्य चौकी र पछिल्ला केही सातादेखि त शहरका चोकचोकमा पनि पुगेर सेवा दिन तल्लिन छन् । 

घरघरमा पुगेर सङ्क्रमणको आशङ्का लागेका व्यक्तिको नमूना सङ्कलन गरिरहेका छन् । उनीहरूलाई परिवारको अवस्थाबारे ध्यान दिने समय छैन । करिब दुई महिनादेखि अनवरत सेवामा खटिएका छन् । पछिल्लो एक महिना त अस्पतालबाट घर नफर्की सेवामा खटिरहेका छन् । यतिखेर उनीहरूले राष्ट्र र जनताका लागि आफ्नो जिम्मेवारी र विशेष कर्तव्यलाई सम्झेका छन् ।  उनीहरूले सेवामा प्रवेश गर्दा खाएको सपथका शब्दहरूलाई भुलेका छैनन् ।  

लगातारको खटाइका कारण उनीहरूका आँखामा थकान देखिन्छ । सङ्क्रमणबाट जोगिनका लागि अनुहारमा लगाइएका सुरक्षा कवच (मेडिकल मास्क र चस्मा) निरन्तर लगाउँदा परेका दागका नीला डामहरूले उनीहरूका आफन्तलाई समेत आफ्ना बावुआमा वा छोराछोरी को हुन् चिन्न सहज छैन । उनीहरूमा हाँसो हराएको छ । नर्सहरूले कपाल बाँधेका हेअर नेटले उनीहरूको टाउकोमा अमित पीडा हुने गर्छ । तर उनीहरू विचलित छैनन् । साहस गुमाएका छैनन् । हतास बनेका छैनन् । 

बिरलै लिने छोटो विश्राममा पनि उनीहरूको सेवालाई जनतामाझ पुर्याउने माध्यमलाई कैँद गर्न पुगेका सञ्चारकर्मीसँग खर्चिएका दृष्य विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमबाट प्रशारण भइरहेका छन् । आँखाले देख्न नसकिने तर वातावरणमा यत्रतत्र छरिएर संसारलाई चुनौती दिइरहेका सुक्ष्म जीवाणुले ठूला ठूला हतियार र धेरै सम्पन्न बन्ने होडमा रहेको संसारलाई हल्लाएका छन् ।  

इटलीका स्वास्थ्यकर्मी शारिरीक रूपमा गलेका छन् तर उनीहरूको साहस गलेको छैन । अझै उनीहरूको भरोसामा सारा इटलीले श्वास फेरिरहेको छ ।  

आज सबैकुरा सामान्य हुन्थ्यो भने आफन्तसँग होटेल वा रेष्टुरेण्टमा रमाउँदै सेल्फी खिचिरहेका हुने थिए उनीहरू । किनकी शुक्रबार खासगरी पश्चिमी मुलुकहरूले विदाको पूर्वसन्ध्यामा परिवार वा साथीहरूसँग रमाउने दिन हो । परिस्थिति फरक छ ।  

उनीहरूको रमाइलो जनताको जीवन मरणबाट उम्किने आशामा रहेको छ । उनीहरूको छायाँमा पनि कोरोना सङ्क्रमितले दुखेको घाउमा शितल दिने अथाह शक्ति छ । शुक्रबार एकै दिन इटलीले त्यो दिनसम्मकै सबैभन्दा धेरै नागरिकलाई गुमाए ।  

९६९ व्यक्तिले जीवन र मरणको सङ्घर्षमा हार्नुप¥यो । सबैभन्दा बढी प्रभावित लोम्वार्डी क्षेत्र र त्यसभित्र पनि बेर्गामो, ब्रेस्सियाजस्ता सहरमा धेरै मानिसले देखेका सपना अधुरा बन्न पुगे । उनीहरूमध्ये कतिले त डाक्टर बन्ने र देशको सेवा गर्ने चाहना थियो होला कतिको इन्जिनियर भएर नयाँ रोमको निर्माण गर्ने सपना थियो भने कतिले आफ्ना कठीन जीवनलाई पराजीत ग¥यो अव त रमेर बाँकी दिन काटौँला भन्ने थियो होला । तर निर्दयी कालले उनीहरूका सपना पूरा हुन के दिन्थ्यो । इटलीमा यो आलेख तयार पार्दासम्म  १० हजारभन्दा बढी नागरिकले ज्यान गुमाएका छन् ।  

अझै अवस्था नियन्त्रणमा आउने सङ्केत देखिएको छैन ।  ज्यान गुमाउनेमा चिकित्सक र नर्स वा अन्य अग्रपङ्तीमा खटेर काम गरिरहेका कतिपय उनीहरूका सहकर्मी पनि रहेका छन् । तर सँगसँगै बसेर वर्षौ अनुभवहरूको आदानप्रदान गरेका उनीहरूको अन्तिम विदाईसम्म पनि गर्ने फुर्सद भएन विचरा ती इटलीका चिकित्सक र नर्सहरूलाई ।  

लोम्बर्डीमा मात्र एकै दिन ५४१ जनाले जीवन गुमाएका समाचारले सारा विश्वलाई दुःखी बनायो । चिकित्सक र नर्सले पनि युद्धभूमिमा गोली लागेको सहकर्मीको मृत्यु पछि आँशुसम्म खसाल्ने फुर्सद नभई शत्रुको आक्रमणलाई निस्तेज पार्न रणभूमिमा अघि बढेझै साहसी चिकित्सक र नर्सहरू तल्लिन छन् विरामीहरूलाई सञ्जीवनी बुटी पिलाउन । अनवरत खटिरहेका छन् र यसबाट पछि हट्ने छैनन् । निरन्तर अघि बढ्नेछन् विरामी इटालियालीहरूको यही विश्वास गरिरहेका छन् ।  

सुरूमा चीनबाट फैलिएको कोरोना भाइरसको सङ्क्रमण करीब विश्वका सबै क्षेत्रमा पुगिसकेको छ । डिसेम्बरमा सङ्क्रमण पत्ता लागेपछि नै कोभिड–१९ सङ्क्रमण खतरनाक समस्याका रूपमा देखिएको भन्दै चीनको वुहानमा लाखौँ व्यक्तिलाई घरबाहिर ननिस्कन गरिएको निर्देशनलाई असामान्य मानेका विश्वका धेरै मुलुकले सङ्क्रमण रोकथाम र नियन्त्रणको उत्तम उपायका रूपमा प्रयोगमा ल्याइरहेको देखिन्छ ।  

अहिलेको अवस्थालाई हेर्दा इटलीमा चीनको भन्दा दुरावस्था देखिइसकेको छ भने अमेरिका, स्पेन, फ्रान्समा पनि अवस्था नियन्त्रणबाहिर देखिएको छ । सङ्क्रमण दर अहिलेको अवस्थामा नै रहेमा अमेरिका र स्पेनले चीनको भन्दा अझ भयावहको स्थितिको सामना गर्नुपर्ने चेतावनीहरू विज्ञहरूले दिएका छन् ।  

कतिपय मुलुकहरूमा देशका कार्यकारी पदमा रहेका व्यक्ति ने सङ्क्रमित भएका घटना सुन्न थालिएको छ । चीनका प्रभावित शहरहरूमा पछिल्ला केही हप्तादेखि सङ्क्रमण नियन्त्रणको नजिकमा पुगेको छ अर्थात् नयाँ सङ्क्रमणका घटनाहरू निकै कम देखिएका छन् । दैनिक मृत्युदर एकल अङ्कमा झरिसकेको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले बताएको छ ।  

इटलीको ‘नेशनल इन्स्टिच्युट अफ हेल्थ’ ले भने देशैभर २१ दिन बन्द (लकडाउन) को घोषणाले सङ्क्रमण दरमा न्यूनता आएको बताएको छ । एक्काईस दिने बन्द दोस्रो सातामा चलिरहँदा इटलीमा सरकारका उच्च अधिकारी नै स्थिति नियन्त्रणबाहिर पुगेको भन्दै निराशा व्यक्त गरिरहेका छन् ।  

स्वास्थ्यकर्मी अहिलेको भयावह अवस्था आउनुमा समयमै प्रशासनले नियन्त्रण प्रयासका लागि कदम नचाल्नु र स्वास्थ्यकर्मीले दिएका सुझाब गम्भीर रूपमा नलिनु पनि एउटा आधार भएको बताउँछन् ।  

इटलीमा स्वास्थ्य सङ्कट कति लम्बिएला भन्नेमा उनीहरूसँग कुनै उत्तर छैन । यद्यपि यस भाइरससँग  निरन्तरको सङ्घर्ष जारी राख्ने र अन्ततः परास्त गर्ने विश्वासले सङ्क्रमित तथा अहिले सङ्क्रमण पुष्टि नभएका इटलीवासीलाई भरोसा मिलेको छ । 

के भन्छन् त स्वास्थ्यकर्मीहरू ? 

सुरूदेखि सङ्क्रमित विरामीको उपचारमा सम्लग्न बेगामोस्थित ह्युमानिटज गाभाजेनी अस्पतालमा कार्यरत एक इटालियाली नर्स डानियला टर्नो भन्छन्, ‘स्वास्थ्यकर्मीलाई विनासकारी स्थितिबाट बाहिर निस्कन अब धेरै कुर्नु नपर्ला । किनकी अहिले नयाँ सङ्क्रमण हुने सम्भावित अवस्थालाई लकडाउनले ढोकाभित्र थुनेको छ ।  

कसैलाई समस्या भैहाल्यो भने यसका लागि नागरिक पनि सचेत बनेका छन् । सतर्कता अपनाएर स्वास्थ्य केन्द्रसम्म विरामीलाई ल्याइन्छ । सामान्य विरामीले पनि घरमै सावधानी अपनाएका छन् । सङ्क्रमितलाई एकान्तमा राख्दा पनि सङ्क्रमण फैलिने र ठूलो सङ्ख्यामा थप विरामी पर्ने अवस्था नियन्त्रणमा आउँछ । आशा गरौँ हामीले यसलाई छिट्टै परास्त गर्नेछौँ ।’ 

उनले थपे, ‘हेर्नुस् हामी कति लागेका छौँ हाम्रो शरीरमा ट्याटुजस्तो देखिने दागहरू साक्षी छन् । यी हाम्रो अनुहारबाट कहिल्यै जाने छैनन् । किनकी यसले अनुहारको पूरै भागमा गहिरो दाग बनाइसकेको छ । कुनै दिन त आठ दश घण्टा आइसीयूभित्र विताउनु पर्छ जसका कारण पानी पनि खाने वातावरण मिल्दैन ।’ 

हामीहरूलाई थाहा छ हामीले लगाएका पोशाकको अहिले अभाव छ । वाथरूममा गयो भने फेर्नुपर्छ त्यसैले पनि लामो समय तिनीहरूलाई फालिँदैन । अर्को कुरा हामीले सङ्क्रमित विरामीबाट सुरक्षित बन्न लगाएका पहिरन, पन्जा र मास्कलाई हटाउँदा सावधानी अपनाउन कडाई गर्नुपर्छ, सानो असावधानीले सङ्क्रमण सर्न सक्छ । त्यसैले पनि आफ्नो काम पूरा नहुँदासम्म त्यसलाई चलाउनु ठिक छैन । फलतः काम सकेर आरामका लागि कोठामा फर्कँदा ती सामानले शरीरका भागमा कालो धब्वा बस्नेगरी घाउ नै बनाएका हुन्छन् । 

डा. ग्याव्रियल भन्छन्, ‘कतिपय अवस्थामा हामीले चिकित्सकीय भूमिका मात्र पूरा गरेर हुँदैन । सङ्क्रमित धेरै विरामीहरू ७० वर्षभन्दा माथिको उमेर समूहका हुन्छन् । उनीहरूलाई पारिवारिक भेटघाट गर्न दिन मिल्दैन । जसका कारण मानवीय संवेदनाका आधारमा परिवारको मायालाई विर्साउन हामीले उनीहरूसँग समय खर्चिनु भनेको अन्य बिरामीका लागि कम समय दिनुपर्ने बाध्यता हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *