भुजेल चलचित्र निःप्हुगालको प्रिमियर हुने

माघ २३, धरान । भुजेल समुदायको भाषा संस्कृति संस्कारलाई प्रवर्द्धन गरी भुजेल जाती माझ पुर्याउने उद्देश्य सहित यहि माघ २५ र २७ गते सुनसरीको धरानमा भुजेल भाषाको नेपाली चलचित्र निःप्हुगाल अर्थात (हामी भुजेल) को प्रिमियर हुने भएको छ ।
भुजेल समुदायको भाषा र संस्कारलाई सँगै जोडेर जानुपर्ने भन्दै लोपोन्मुख हुन लागेको भाषा संस्कार र संस्कृतिलाई संरक्षण गर्ने उद्देश्यले चलचित्र निर्माण गरिएको भुजेल समाज १ नं. प्रदेश इन्चार्ज कैलाश कुमार भुजेलले बताए ।
आज पत्रकार सम्मेलन गरी माघ २५ गते स्थानीय जनप्रतिनिधीहरुका लागि धरान १२ स्थित होटल पुर्वी स्टारमा प्रिमियर कार्यक्रम राखिएको छ । चलचित्र माघ २७ गते गोर्खा सिने कम्प्लेक्समा बिहान ९ बजे प्रर्दशन गरिने भुजेल समाज सुनसरी जिल्ला कार्य समितीका अध्यक्ष रबि भुजेलले जानकारी दिए ।

चलचित्रमा भुजेल समुदायको संस्कार र संस्कृति तथा सामाजिक परिवेश समेटिएको छ । चलचित्रमा सुरेन्द्र भुजेल, भिम भुजेल, पुजा भुजेल, सुरज भुजेल, पार्बती भुजेल, कला भुजेल, भेषराज भुजेल लागयतको अभिनय रहेको छ ।
भकारी फिल्मसको ब्यानरमा ३५ लाख लगानीमा निर्माण भएको सो चलचित्रको लेखन कमल भुजेल (लमजुङ), निर्देशन कृष्ण गुरुङ (पोखरा) नृत्य निर्देशन पार्वती गुरुङ तथा छायाङकन प्रकाश गुरुङले गरेका छन् । चलचित्रको ५० प्रतिशत छायांङकन तनहुँको आदिमुल गाउँ र अन्य पोखराको केही गाउँहरुमा गरिएको छ ।
यसअघि पोखरा, लमजुङ, पाल्पा नवलपरासी, बनेपा, चितवनमा चलचित्रको विशेष प्रदर्शन गरिइसकिएको छ । भने, धरान पछि ईटहरी, विराटनगर लागायत एक नम्बर प्रदेशका भुजेल जातीको बाहुल्यता भएको स्थानमा पनि प्रदर्शन गरिने छ ।








