राष्ट्रिय उमा कुङफु सुरु

फागुन १६, काठमाडाैँ ।  नेपाल उमा कुङफु संघको आयोजनामा पाँचौं राष्ट्रिय उमा कुङफु प्रतियोगिता बसुन्धरास्थित ऋत एकेडेमीमा शुक्रबारदेखि सुरु भएको छ । 

प्रतियोगितामा विभिन्न १९ जिल्लाका २ सय १५ खेलाडीले विभिन्न ४५ स्पर्धामा प्रतिस्पर्धा गरिरहेका छन् । यसै प्रतियोगिताबाट नेपालमा हुने एसियाली उमा कुङफु च्याम्पियनसिप, भारतमा हुने विश्व कुङफु च्याम्पियनसिप र ग्रिसमा हुने उमा विश्व च्याम्पियनसिपका लागि खेलाडी छनोट गरिने छ ।  

तीनै च्याम्पियनसिप सन् २०२० मा हुने छ । साथै यसै प्रतियोगिताको प्रदर्शनका आधारमा उत्कृष्ट २० खेलाडीको छनोट गरी चीनमा प्रशिक्षणका लागि पठाइने आयोजक संघका अध्यक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक सिद्धार्थ लामाले जनाएका छन् । 

पहिलो दिन यु–१४ पुरुष एकल प्याटर्नको बेयर ह्यान्डमा सोलुखुम्बुका प्रतीक राई पहिलो भए । उनले ८.९० अंक जोडे । ललितपुरका रिसभदेव खड्का (८.७० अंक) दोश्रो तथा रामेछापका मिङमा तामाङ र काठमाडौंका निर्भान कार्की तेश्रो भए । सोही स्पर्धाको वेपन्समा पनि प्रतीकले स्वर्ण जिते । ९.२० अंक जोडेका प्रतीकले रामेछापका मिङमा  (९ अंक) लाई पछि पारे । 

त्यस्तै १४ वर्षमाथि पुरुष एकल बेयर ह्यान्डमा मोरङका अश्विन चौधरी ९ अंकसहित शीर्ष स्थानमा रहे । रामेछापका सिवान सुनुवार दोश्रो तथा सिन्धुपाल्चोकका सन्तोष सिग्देल र दोलखाका सुरेन्द्र थापा मगर तेश्रो बने । उक्त उमेरसमूहको वेपनमा मोरङकै अश्विन ९.१० अंकसाथ पहिलो तथा सिन्धुपाल्चोकका प्रदीप तामाङ ८.९५ अंकसाथ दोश्रो भए । 

यु–१४ ग्रुप प्याटर्नको पुरुषमा उदयपुरका युसान राई, दोलखाका सुकदेव तामाङ र उदयपुरका सनम राईको टोली ८।७० अंकसाथ पहिलो भए । 

यु–१४ प्याटर्नअन्तर्गत महिला एकल बेयर ह्यान्डमा सोलुखुम्बुकी रेखा राईले स्वर्ण, उदयपुरकी पार्वती मगरले रजत तथा ललितपुरकी रिश्मासिंह शाह र काभ्रेकी प्रज्ञाश्री शाक्य तेश्रो भए । त्यसै स्पर्धाको वेपनमा खोताङकी मनकला राई पहिलो, सोलुखुम्बुकी रेखा राई दोश्रो तथा काठमाडौंकी साइना महर्जन र ओखल्ढुंगाकी सिर्जना बोगटी तेश्रो स्थानमा रहे । 

यु–३० ताइची महिला ग्रुप स्पर्धामा तनहुँका जमुना गुरुङ, नुवाकोटका अनुष्का तिवारी र प्रेमकुमारी तामाङ तथा काठमाडौंकी निकिशा पौडेल सम्मिलित टोलीले स्वर्ण चुम्यो । 

दुईदिने प्रतियोगिता सञ्चालन गर्न उमा कुङफु संघका अध्यक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक सिद्धार्थ लामा, आईकेएफ, बेइजिङअन्तर्गत नेपालका लागि महासचिव सन्जितकुमार राई तथा उमा कुङफुका सहायक मुख्य प्रशिक्षक उद्धव थापा मगरसहितको तीन सदस्यीय जज मण्डल गठन गरिएको छ । उमा कुङफु संघका सचिव रमेश महर्जनको संयोजकत्वमा ९ सदस्यीय मुल आयोजक समिति गठन गरिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *