दलीय विवादले ४० लाखको योजना अलपत्र

फागुन १७, कैलाली । उपभोक्ता समिति गठनमा सहमति जुट्न नसकेपछि खानेपानी योजनाको काम अलपत्र परेको छ । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर–१ मा सञ्चालित खानेपानी आयोजनाको काम आर्थिक वर्षको ८ महिना भैसक्दा पनि सुरु हुन सकेको छैन। 

यसअघि साबिकको दोदोधरा गाविसबाट सम्झौता भइ निर्माण कार्य सम्पन्न भएको योजनाको रकम खानेपानी तथा सरसफाइ समितिको नाममा डेढ लाख बेरुजु देखिएको भन्दै उपभोक्ताले विरोध जनाएका थिए। 

बेरुजुको बिल, भर्पाइ फर्छ्यौट नहुन्जेलसम्म उक्त समितिलाई काम गर्न नदिनेमा उपभोक्ताले समेत असहमति जनाएका हुन् । 

null

उपभोक्ता समिति गठन नभएपछि चालू आर्थिक वर्ष २०७६/०७७ को स्वीकृत वार्षिक कार्यक्रम अनुसारको ४० लाख योजनाको काम संचालनमा समेत ढिलासुस्ती भएको छ । चालू आर्थिक वर्षमा गाउँपालिका मार्फत संचालन हुने बृहत् खानेपानी योजनाको काम उपभोक्ता समिति गठनमा भएको विवादले प्रभावित बनेको हो । 

योजना प्रक्रियामा भएको यस्तो असहमति र किचलोका कारण उक्त निर्माण योजनालाई अब ठेक्का प्रक्रिया मार्फत सञ्चालन गर्न लागिएको गाउँपालिका अध्यक्ष बलिराम डंगौराथारुले जानकारी दिए । राजनीतिक पार्टीले दलीय स्वार्थमा आफूले चाहेको मान्छेलाई उपभोक्ता समिति ल्याउन गरेको तछाडमछाडले आफूलाई काम गर्न असहज भएको अध्यक्ष डंगौराले बताए । उनले यसअघिको समितिले बिल, भर्पाइ फर्छ्यौट नगरि बेरुजु देखिन आएकाले सोही समितिलाई दिन नसकिने बताए । 

गाउँपालिकाले खानेपानी तथा सरसफाइ उपभोक्ता समिति गठनका लागि गएको माघ २९ गते पहिलोपटक सूचना जारी गरि सबै वडामा परिपत्र गरेको थियो । 

तीनपटकसम्म उपभोक्ता समिति गठनका लागि प्रयास गरिएपनि असहमति भएको प्रमुख प्रशासकीय अधिकृत अर्जुनसिंह कार्कीले बताए । 

गाउँपालिकाले भेलाबाट समिति गठन गर्न आम उपभोक्ता, बजार समिति, सामुदायिकरसहकारी संस्था प्रतिनिधि, नागरिक समाज, राजनीतिक दल, निर्वाचित जनप्रतिनिधि लगायतलाई तीन पटकसम्म उपस्थित भइदिन पत्राचार गरेको थियो । 

तीनपटक बसेको भेलामा सर्वपक्षीय छलफल गरिएको भएपनि बिना निष्कर्ष टुंगिएको थियो । गाउँपालिकाको स्वीकृत वार्षिक कार्यक्रम अनुसार योजनाको कार्य उपभोक्ता समिति मार्फत गर्नुपर्ने कानुनी प्रावधान रहेको यसअघिको पत्रमा उल्लेख छ । 

यता, सडकपुर बौनिया खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष भोजराज भट्टले उक्त रकम त्यतिबेला काम सम्पन्न भएर कागजात, बिल, भर्पाइ पेश नहुँदा बेरुजु देखिएको भएपनि कुनै अनियमितता र भ्रष्टाचार नभएको दाबी गरे ।उनले उक्त योजनाको बिल,भर्पाइ मलेपलाई बुझाउने तयारीमा रहेको बताए। सुरुवातमा योजना सम्झौता गर्न धरौटी रकम समेत अभाव भएको बेला कठिन अवस्थामा धेरै मेहनत, संघर्षका बाबजुद काम गरेपनि अहिले आफूलाई असफल बनाउन केही पक्षले असहयोग गरेको अध्यक्ष भट्टको गुनासो छ । 

योजनाबाट करीब ३ हजार ६ सय घरधुरीमा खानेपानी सुविधा पुर्याउने लक्ष्य रहेको उनले बताए । गाउँपालिकाको वडा नम्बर-१, २ र ४ का सबै टोलमा, वडा नम्बर-६ को बाँस्कोटी र बैदीपुरसम्म खानेपानी विस्तार गर्ने योजना रहेको उनले जानकारी दिए । कुल ५६ किलोमिटर दुरीमध्ये ४७ दुरीमा पाइपलाईन विस्तार भइसकेको र १० किलोमिटर मात्रै बाँकी रहेकोे उनको भनाइ छ । आफ्नो कार्यकालमा सर्वे गरिएका सबै घरधुरीमा खानेपानी सुविधा पुर्याउने योजना भएपनि आवश्यक सहयोग नहुदा कठिनाइ भएको अध्यक्ष भट्टले बताए ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *