उपाधिका लागि प्रदेश ५ र गण्डकी प्रदेश भिड्दै

माघ २३, विराटनगर । दोस्रो गिरिजाप्रसाद कोइराला स्मृति पुरुष राष्ट्रिय हक्की प्रतियोगिताअन्तर्गत बिहीबार भएको खेलमा प्रदेश ५ र गण्डकी प्रदेश विजयी हुँदै फाइनलमा प्रवेश गरेका छन् । 

नेपाल हक्की संघले विराटनगरस्थित सहिद रंगशालामा आयोजना गरेको प्रतियोगिताअन्तर्गत बिहीबार भएको पहिलो खेलमा प्रदेश ५ ले विभागीय टोली नेपाल आर्मीलाई टाइब्रेकरमा ४–३ गोल अन्तरमा पराजित गर्दै उपाधि नजिक पुगेको हो ।   

खेलको निर्धारित समयमा दुवै टोलीबाट कुनै गोल नभएपछि खेलको निर्णय टाइब्रेकरबाट भएको थियो । खेलको निर्धारित समयमा आर्मीले केही राम्रो गोलको अवसर चुकाउँदा हार व्यहोर्नु पर्‍यो । 

null

टाइब्रेरमा प्रदेश ५ का सानु लामा, मनिष गुरुङ, रोहित लामा र शशी डरलामीले गोल गरेका थिए भने मो।सिद्धिकको बललाई गोलरक्षकले बचाउ गरे । त्यस्तै आर्मीका प्रदीप राजवंशी, देवसिंह धामी र रोशन चौधरी मात्रै गोल गर्न सफल भए भने रोमन राना र दीपेन्द्र ऐरको बल गोलरक्षकले उत्कृष्ट बचाउ गरे । खेलको म्यान अफ द म्याच प्रदेश ५ का कार्तिक गुरुङ भए । 

त्यसैगरी दोस्रो खेलमा गण्डकी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ५–० को फराकिलो गोलअन्तरमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । 

खेलको १३ औं मिनेटमा पिताम्बार थापाले गोल गरेका थिए । २२, ३१ र ५२ औं मिनेटमा सुमितकुमार कामीले गोल गरे भने ४३ औं मिनेटमा राजन नेपाली गोल गरेका थिए । म्यान अफ द म्याच गण्डकीका गणेश ठकुना भए ।   

शुक्रबार पहिलो खेल तेस्रो स्थानका लागि नेपाल आर्मी र सुदूरपश्चिम प्रदेशबीच हुनेछ भने उपाधि जितका लागि गण्डकी प्रदेश र प्रदेश ५ बीच प्रतिस्पर्धा हुनेछ । 

प्रतियोगितामा एक विभागीयसहित ६ प्रदेशको सहभागिता रहेको छ । विभागीय टोली नेपाल आर्मी, सुदूरपश्चिम प्रदेश, बाग्मती प्रदेश, प्रदेश १, गण्डकी प्रदेश, प्रदेश ५ र प्रदेश २ ले प्रतियोगितामा भाग लिएका छन् । 

प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैयाँ, उपविजेताले नगद २५ हजार रुपैयाँ र तेस्रोले नगद १५ हजार रुपैयाँका साथै ट्रफी जित्ने छन् । त्यस्तै व्यक्तिगत पुरस्कारतर्फ उदयीमान खेलाडी, सर्वाधिकगोलकर्ता, उत्कृष्ट गोलरक्षक, सर्वोत्कृष्ट खेलाडीले जनही नगद ५ हजार पाउने छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *