दुर्घटनापछि उजाडिएकी कल्पना

माघ २४, काठमाडौं । श्रीमान जागिरे, आफू स्नातकोत्तर पढ्दै, काखमा छोरी, डडेल्धुरा जिल्लाको सदरमुकाममा बसाइ। खुशी र सुखी जीवन यति छिटो उजाडिएला भन्ने सपना पनि देखेकी थिइनन्, अमरगढी नगरपालिका–४ कि कल्पना विष्टले। तर अहिले उनीसँग त्यस्तो सुखी र खुशी परिवार छैन। सबै खोसियो। आफैँ पनि अर्काको सहाराबिना बाँच्न सक्ने अवस्थामा छैनन्। 

उनी घाइते मन र शरीर लिएर बाँचेकी छन्। भन्छिन्, ‘त्यो खुशी आज यो पीडामा बदलिएको छ। तर बाँच्नुबाहेकको अर्को विकल्प पनि छैन। विसं २०७१ असोज २० गते डोटीको जोरायल गाउँपालिका, २ (तत्कालीन छतिवन गाविस वडा ५) कट्पत्तेमा भएको बस दुर्घटनामा कल्पनाले श्रीमान् र छोरी गुमाइन् आफू पनि कहिल्यै निको नहुने गरी घाइते भइन्। 

दुर्घटना हुनुभन्दा तीन वर्षअघि मात्र सँगसँगै खुशीसाथ जीउने वाचासहित डडेल्धुराका लक्ष्मण ठकुराठीसँग विवाह गरेकी कल्पनासँग अहिलेसँगै जिउने कल्पना मात्र छ। भन्छिन्, ‘सँगै जिउनेसँगै मर्ने वाचा थियो, तर न जिउन नै पाएँ र नत सँगै मर्न नै।’ उनी अहिले काभ्रेको ‘स्पाइनल इन्जुरी पुनःस्थापना केन्द्र’ मा छिन्। 

माइतीघर जोरायल गाउँपालिकामा आमाबुबाका हातबाट दशैँको टीका थापेर सपरिवार घर फर्किरहेका बेला भएको उक्त बस दुर्घटनाले अनायास कल्पनाको जीवनमा यो विछोड ल्याइदियो। उनको जीवन क्षणभरमै उजाड बनाइदियो। 

मेरुदण्डमा चोट लागेपछि पक्षाघात भएकी २९ वर्षीया कल्पनाले श्रीमान् र छोरीको घाइते शरीर पनि हेर्न पाइनन्। दुर्घटनामा घाइते भइसकेपछि कल्पनाले जीउने आश पनि मारिसकेकि थिइन्। तर अहिले सामान्य रुपमा हिँडडुल गर्न सक्छिन्। त्यसो त चिकित्सकको आश्वासनले उनी पहिलेजस्तै हिँडडुल गर्नसक्ने आशमा थिइन्। 

‘तत्कालै सात महिनासम्म भारत लखनउको सिमरा अस्पतालमा उपचार गराएपछि डाक्टरले अब घरमा गएर थेरापी गर्नु, विस्तारै ठीक भइहाल्छ भनेर फिर्ता पठाएका थिए’, कल्पना भन्छिन्, ‘तर घरमा बस्दा कुनै सुधार नभएपछि फेरि उपचारका लागि नयाँ दिल्ली गएँ र त्यहाँ पनि एक महिना बसेँ, तर निको भएन।’ 

एक महिनासम्म विभिन्न अस्पतालमा जाँच गराउँदा मात्र कल्पनालाई थाहा भयो कि अब उनी कहिल्यै हिँड्न सक्नेछैनन्। मेरुदण्डको पक्षाघातको उपचार सम्भव नभएको कुरा उनलाई नयाँ दिल्लीमा केही समयको उपचारपछि थाहा भयो। 

भारतको नयाँ दिल्लीबाट फर्केपछि उपचारका लागि कल्पना काभ्रे गइन्। दिसा पिसाब भएको पनि जानकारी नहुने गरी तल्लो शरीर पूर्णरुपमा निस्कृय भएकी कल्पनालाई पुनःस्थापना केन्द्रमा मेरुदण्ड पक्षघात भएकाले कसरी जिउने भन्ने कला सिकाइयो। अहिले उनी त्यही पुनःस्थापना केन्द्रमा परामर्शदाताका रुपमा काम गरिरहेकि छन्। 

आफ्नो विगत सम्झिन त म लाग्दैन तर भक्कानिँदै कल्पना भन्छिन्, ‘यो अवस्था होला भन्ने सोचेकी थिइन, हासीखुशी जीवन बित्ला भन्ने कत्रो आशा थियो तर अहिले आएर यसरी अर्काको सहारामा बाच्नुपर्ने भयो।’ परिवार गुमाएकी कल्पनाले हिम्मत भने हारेकी छैनन्। भन्छिन्, ‘मानव जीवन यस्तै हो भनेर चित्त बुझाउन सक्नुपर्छ, जे भयो त्यसैलाई सधैँभरि सम्झेरमात्र के गर्नुरु’ 

कल्पनाको जस्तै कष्टप्रद जीवन जिएकी छन् ३५ वर्षीया कृष्णा शाहीले पनि। कैलालीको तेघरीमा बस्दै आएकी कृष्णाको परिवार पनि दशैँ मनाउन जिल्लाको जोरायल गाउँपालिकामा जाँदै थियो। दुई छोरा र एक छोरीलाई तेघरीमै छोडेर दशैँ मनाउन आएका उनी र श्रीमानलाई पनि यही दुर्घटनाले कहिल्यै मिलन नहुने गरी बिछोड गरायो। 

कृष्णाका श्रीमान राजेन्द्र शाहीको दुर्घटनास्थलमै मृत्यु भयो। कृष्णा पनि कल्पनाजस्तै मेरुदण्ड पक्षाघात भएर बाँचिरहेकि छन्। ‘यस्तो घटना होला भन्ने सोचेका पनि थिएनौँ’, कृष्णाका भतिज शेरबहादुर शाही भन्छन्, ‘काकाहरुको जीवन हाँसीखुशी बितेको थियो तर दैवले एका एक उजाड गरिदियो।’ 

मेरुदण्ड पक्षाघात भएर दिसा पिसाब भएकोसमेत थाह नपाउने कृष्णालाई अहिले उनका नाबालक छोराछोरी र भतिजा बुहारीले बाँच्ने सहारा दिइरहेका छन्। विसं २०७१ असोज महिनामा विजयादशमीको भोलिपल्ट ना ३ ख ५७०७ नम्बरको सुदूरपश्चिम यातायातको बस जोरायलबाट धनगढी जाने क्रममा दुर्घटना भएको थियो। उक्त दुर्घटनामा परी स्थानीय २९ ले अकालमै ज्यान गुमाएका थिए भने ६८ घाइते भएका थिए। 

बसमा १२५ भन्दा बढी यात्रु रहेको प्रहरीको भनाइ छ। यात्रुहरु बढी भएर बसको पत्ता टुटेपछि दुर्घटना भएको बताइएको थियो। त्यस दुर्घटनाग्रस्त बसका चालक विष्णु साहु अहिले कारागारमा कैद भुक्तान गरिरहेका छन्। 

जिल्लामा वर्षेनी दशैँ तथा तिहारको समयमा ठूला दुर्घटना हुने गरेका छन्। चाडबाडको समयमा बढीजसो दुर्घटना हुने भएकाले यहाँको प्रहरी प्रशासनले सवारी अनुगमनमा कडाइ गर्दै आए पनि चालकको लापर्वाही भने भइरहन्छ। 

क्षमताभन्दा बढी यात्रु बोक्ने गरेका कारण दुर्घटनाको जोखिम बढ्न थालेको दिपायलका स्थानीय समाजसेवी घनश्याम पाठकले बताए। उनले भने, ‘चाडपर्वकै बेलामा जिल्लाका ठूला सवारी दुर्घटना हुन्छन, प्रहरी पनि यसैबेला बढी सक्रिय हुन्छन् तर पनि दुर्घटना भने रोकिँदैन।’ 

चाडपर्वमा भएका सवारी दुर्घटनामा मात्र जिल्लामा १०० भन्दा बढीले अकालमै ज्यान गुमाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलको तथ्यांक छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलका प्रमुख मोहनसिंह धामी गाउँका सडकमा ट्राफिक प्रहरी नहुने तथा चालकले सवारीमा आफूखुशी क्षमताभन्दा बढी यात्रु बोक्ने गरेका कारण वर्षेनी दुर्घटना हुने गरेको बताउँछन्। 

उनले भने, ‘हाम्रो जनशक्ति ग्रामीण सडकमा छैन, चालकले मनपरि गर्ने गरेका कारण दुर्घटना बढ्ने गरेको हो।’ रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *